बिहिवार, श्रावण ३० २०८२
साउन, २९ गते/ काठमाडौँ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले एसईई २०८१ मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी तथा शिक्षकलाई सम्मान गरेको छ। बुधवार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टको सभापतित्व तथा माननीय शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम गरेको हो।

कार्यक्रममा काठमाडौ जिल्ला भरिबाट २२७ जना ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ। साथै सत् प्रतिशत ग्रेडेड हुने विद्यालयहरुलाई सम्मान सहित प्रमाणपत्र वितरण गारिएको छ। उक्त समारोहमा सबैभन्दा बढी ४ जिपिए ल्याउने शिक्षकहरुलाई बिशेष सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारी, प्याब्सनका अध्यक्ष कृष्ण अधिकारी, पुर्व अध्यक्ष तथा सल्लाहकार टिकाराम पुरी, प्याब्सन सहअध्यक्ष गोपाल प्रसाद आचार्य, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख समन्तमणी आचार्य, प्याब्सन केन्द्रीय उपाध्यक्ष दिपिका थापा, किशोर गौतम, प्रदेश अध्यक्ष मुरारी प्रकाश संजेल, पुर्व सचिव पुरुषोत्तम अधिकारी, प्राज्ञिक सल्लाहकार सुरेन्द्र सिटौला, लगाएत प्याब्सन केन्द्रिय सदस्य, प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी तथा नगरप्रमुखहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै प्याब्सन काठमाडौँ अध्यक्ष नवराज भट्टले निजी सम्पति शिक्षामा लगानी गरेर देशका लागि खास योगदान पुर्याउनेहरुलाई राज्यले विभेदको आँखाले हेरेको बताउनुभयो । हामीले राज्यले जे भन्यो त्यही मान्यौँ । कम्पनीमा जानुपर्छ भन्यो, गयौँ । फेरि आज अनेक कुरा झिकेर हामीमाथि अन्याय गर्न खोजेको छ , यो कुरा सह्य हुँदैन अध्यक्ष भट्टले भन्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले प्याव्सन काठमाडौले गरेको बधाई कार्यक्रमले विद्यार्थीहरुका लागि थप हौसला प्रदान गरेको बताउनुभयो ।

मन्त्री पन्तले कक्षा ११ र १२ मा अध्यायन गर्दै जाँदा विद्यार्थीहरुले विश्वविद्यालयको यात्रा समेत नेपालमै पढ्नुपर्ने बताउनुभयो। उहाँले कलिलै उमेरमा हाम्रो युवाहरुलाई विदेश पठाउन नहुने धारणा ब्यक्त गर्नुभयो। माता पिताले माया गरेर हुर्काएका हाम्रा युवाहरु अर्काको देशमा गएर तेस्रो दर्जाको नागरिक हुनेगरेको भन्दै मन्त्री पन्तले कक्षा १२ सक्ने बित्तिकै बिदेश पठाउन नहुने धारणा ब्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा बोल्दै बिशेष अतिथी तथा प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिनुभयो । उहाँले आगामी भविस्यमा अझै धेरै मेहनत गरेर पढ्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो।

साथै अध्यक्ष अधिकारिले राज्यले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याउने निजि विद्यालयहरुलाई नजरअन्दाज गर्न नमिल्ने बताउनुभयो। नेपालको समग्र शिक्षामा २४ प्रतिशत ओगटेको निजि शिक्षालाई दुरुत्साहित गर्ने गरि ऐन आएमा अस्विकार गर्ने चेतावनी दिनुभयो।

उक्त कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, परीक्षा नियन्त्रक टुकराज अधिकारी, प्याब्सनका पुर्व अध्यक्ष टिकाराम पुरी लगाएतले मन्तव्य दिनुभएको थियो।


