शनिवार, भाद्र ७ २०८२
झुपा धामी - भदौ ७ गते। महिला भन्ने शब्द सुन्नासाथ हाम्रो मनमा एउटा संवेदनशील, भावुक, तर त्यति नै बलियो स्वरूपको छवि उभिन्छ। उनीहरू समाजका प्रत्येक तहमा उपस्थित छन्—आमा, छोरी, दिदी, बहिनी, जीवनसाथी, साथी वा मार्गदर्शकको रूपमा। तर यो यथार्थको अर्को पाटो पनि छ, जुन पीडादायी छ। समाजले महिलालाई अझै पनि बराबरी दृष्टिले हेर्न सकेको छैन। उनको जीवनमा अनगिन्ती पीडाका कथा लुकेका छन्, जसलाई समाजले प्रायः बेवास्ता गरेको हुन्छ। महिलाको मुस्कानभित्र लुकेका अश्रु र संघर्षको इतिहास अझै पनि पूर्ण रूपमा सुन्न र बुझ्न सकिएको छैन।
महिलाको पीडा केवल व्यक्तिगत अनुभवको कुरा होइन, यो सामाजिक संरचना, संस्कार र मानसिकतासँग जोडिएको गहिरो सन्देश हो, जसको आलोचनात्मक मूल्यांकन गर्न सकिएन भने लैंगिक असमानता र अन्याय निरन्तर रहनेछ।
छोरीको जन्मलाई अझै पनि कतिपय ठाउँमा वरदानको रूपमा होइन, दुर्भाग्यको रूपमा लिइन्छ। जब एक छोरी जन्मिन्छ, धेरै परिवारमा खुसीको घण्टी बजायैन, बरु निराशाको छायाँ मात्र फैलिन्छ। यो मानसिकता हाम्रो संस्कृतिमा गहिरो गरी रोपिएको छ, जसलाई परिवर्तन गर्न आज पनि चुनौतीपूर्ण मानिन्छ। महिलाको पीडा जन्मसँगै सुरु हुन्छ। छोरी हुनु पाप जस्तो लाग्ने सोच, छोरीलाई आर्थिक बोझको रूपमा हेर्ने दृष्टि र छोरीलाई ‘पराई घरको’ भनेर संबोधन गर्ने परिपाटीले महिलाको आत्मसम्मानलाई पहिलो दिनदेखि नै चोट पुर्याउँछ।
महिलाको बाल्यकाल पनि प्रायः असमानताको प्रतिरूप हुन्छ। छोरा र छोरीबीचको विभेद हाम्रो घरपरिवारमै सुरु हुन्छ। बालिका हुँदा नै उनीहरूको हातमा किताब र कलमको सट्टा झाडू र भाँडा थमाइन्छ। विद्यालय जाने उमेरमा दाइजोको बोझको कुरा सुन्नुपर्ने अवस्था आउँछ। कतिपय समाजमा बालविवाह अझै पनि प्रचलित छ, जसले बालिकाको बालापन र सपनालाई अकालमै चटक्कै काटिदिन्छ। यसरी उनीहरूलाई सानै उमेरमा जिम्मेवारीको भारी थोपारिन्छ, जसले मानसिक, सामाजिक र भावनात्मक रूपमा गहिरो असर पार्छ।
महिलाको योगदान घरपरिवारमा मात्र सीमित छैन। उनीहरू खेतबारीमा पसिना बगाउँछन्, परिवारलाई पालनपोषण गर्छन्, बच्चा हुर्काउँछन्, वृद्धको हेरचाह गर्छन्, तर यो सबै श्रमलाई ‘कर्तव्य’ भनेर सामान्य पारिन्छ, ‘काम’ भनेर मूल्याङ्कन गरिँदैन। यो दृष्टिकोणले महिलाको आर्थिक योगदानलाई नदेखिने बनाइदिएको छ। महिलाको श्रम आर्थिक मूल्यमा अनुवाद हुन नसक्दा उनीहरू आर्थिक रूपमा निर्भर रहन बाध्य छन्, जसले उनीहरूको सामाजिक र पारिवारिक निर्णय लिने शक्ति कमजोर बनाउँछ। आर्थिक स्वतन्त्रता बिना महिलालाई सधैं अर्काको दया र स्वीकृतिमा निर्भर रहनुपर्छ। यो वास्तविकता हाम्रो आर्थिक संरचनाको गहिरो अन्यायपूर्ण स्वरूपलाई देखाउँछ।
महिलाको पीडा केवल आर्थिक वा सामाजिक मात्र होइन, शारीरिक र मानसिक रूपमा पनि गहिरो छ। घरेलु हिंसा आज पनि हाम्रो समाजको एक गम्भीर समस्या हो। महिलामाथि हुने हिंसालाई ‘घरेलु मामिला’ भनेर सामान्य पार्ने प्रवृत्तिले अपराधीलाई संरक्षण दिएको छ। धेरै महिलाहरू आफ्नै परिवार र समाजबाट पीडित हुन्छन्। यौन शोषण, बलात्कार, मानसिक उत्पीडन, छोरी भएकै कारण दोषी ठहरिने अवस्था—यी सबै घटनाहरूले महिलालाई अझै पनि असुरक्षित बनाइरहेका छन्। पीडित महिला अझै पीडामाथि पीडित हुने अवस्था भोग्छिन्। न्याय पाउने बाटो जटिल र महँगो छ, जसले गरीब महिलालाई थप अन्यायमा धकेल्छ।
अर्को तितो सत्य यो पनि हो कि महिलाविरुद्धका अपराधका घटनाहरू दिनदिनै बढिरहेका छन्। आजको प्रविधिको युगमा पनि पाँच वर्षकी बालिका, पन्ध्र महिनाकी शिशु वा वृद्ध महिलासम्म बलात्कारको शिकार बन्नु कुनै असामान्य खबरजस्तो लाग्दैन। ७० वर्षीया वृद्धा यौन हिंसाको शिकार हुन्छिन् भने समाजको नैतिक मूल्य कता हरायो भन्ने प्रश्न उठ्छ। यस्तो अपराध गर्ने मानिसको मानसिकता मात्र दोषी होइन, यो कानुनी संरचनाको असफलता र समाजको मौनताले पनि यस्ता अपराधलाई प्रश्रय दिएको हो। अपराधी सजायको डरबिना घुमिरहेकाछन्, पीडित महिला न्यायको खोजीमा थकित छिन्। कानून आएको छ भनिन्छ, नयाँ–नयाँ नियम बनेका छन् भनिन्छ, तर ती नियम र कानून कस्को लागि बनेका हुन् भन्ने प्रश्न अझै अनुत्तरित छ। न्याय कमजोर र गरीब महिलाको हातमा पुग्दैन, बरु शक्तिशालीको संरक्षणमा मात्र सीमित हुन्छ।
महिलाको पीडा हाम्रो सामाजिक संरचना र मानसिकताको दर्पण हो। महिला असहाय पीडित होइनन्, तर उनीहरूलाई समाजले बनाएको अवस्था असमान र कठोर छ। उनीहरूको आँसुमा पीडा मात्र होइन, आशा र साहस पनि लुकेको छ। महिला शक्ति र संघर्षको प्रतीक हुन्। उनीहरूको मातृत्व दिव्यता हो, उनीहरूको शिक्षा आत्मसम्मान हो, र उनीहरूको संघर्ष जीवनको परिचय हो। इतिहासभर महिलाले समाजमा असाधारण योगदान गरेका छन्। आज धेरै महिला शिक्षित भएका छन्, आफ्नो पहिचान बोकेर समाजमा अगाडि बढेका छन्। उनीहरूले प्रमाणित गरिदिएका छन् कि महिलाको आँसु मात्र होइन, उनका सपना पनि उतिकै गहिरा र महत्वपूर्ण छन्।
तर प्रश्न यो हो कि किन अझै पनि महिलामाथि अन्याय भइरहेको छ? किन बलात्कार, यौन शोषण र घरेलु हिंसा रोकिएको छैन? किन पीडितलाई न्याय दिलाउने प्रणाली अझै कमजोर छ? यो प्रश्न हाम्रो समाजको नैतिक मूल्य र कानुनी संरचनामाथि गम्भीर प्रश्न हो। यस्ता घटनाहरूलाई रोक्न कानून मात्र होइन, सामाजिक चेतना पनि आवश्यक छ। जबसम्म महिलालाई दोस्रो श्रेणीको नागरिकको रूपमा हेर्ने दृष्टिकोण समाप्त हुँदैन, तबसम्म यस्ता अपराधहरू रोकिन्नन्।
महिलालाई सम्मान र समान अवसर दिने वातावरण बनाउन समाजका सबै क्षेत्रको सहभागिता आवश्यक छ। महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र निर्णय प्रक्रियामा समान पहुँच दिनुपर्छ। महिलालाई घरभित्रको मात्र होइन, बाहिरको समाजमा पनि आफ्नो आवाज बुलन्द गर्ने मौका दिनुपर्छ। कानुनी संरचना कडाइका साथ कार्यान्वयन हुनुपर्छ, ताकि अपराधी सजायको डरले थरथराऊन् र पीडित महिला आत्मसम्मानसहित बाँच्न सकून्।
समाजलाई न्यायपूर्ण र उज्ज्वल बनाउन महिला र पुरुषबीचको बराबरी सुनिश्चित गर्नुपर्छ। महिलाको पीडा केवल महिलाको मात्र पीडा होइन, यो समाजकै पीडा हो। यदि महिलालाई सम्मान गरियो भने मात्र समाज न्यायपूर्ण र प्रगतिशील बन्न सक्छ। महिला कुनै असहाय प्राणी होइनन्, उनीहरू भविष्य निर्माण गर्ने अदृश्य आधारस्तम्भ हुन्। तर यो सत्य बुझ्न समाज अझै ढिलो गरिरहेको छ।
आजको युग प्रविधिको युग हो भनिन्छ, तर प्रविधि र विकासको आडमा महिला अझै पनि हिंसाको शिकार भइरहेकी छन् भने त्यो विकासको अर्थ के हो भन्ने प्रश्न उठ्छ। जब महिलाको आँसु र पीडालाई हामीले महसुस गर्न सक्दैनौं, तब हाम्रो विकासको परिभाषा अधूरो हुन्छ। महिलाको पीडा बुझेर मात्र हामीले न्याय र समानताको समाज निर्माण गर्न सक्छौं।
समग्रमा भन्नुपर्दा महिला मात्र संवेदनशील भावुक स्वरूपको प्रतिमूर्ति होइनन्, उनीहरू शक्तिको प्रतीक हुन्। उनीहरूको संघर्ष, आँसु र साहस समाजलाई बलियो बनाउने ऊर्जा हो। महिलालाई सम्मान गर्नु भनेको समाजलाई सम्मान गर्नु हो। उनीहरूलाई अवसर र समानताको वातावरण दिनु भनेको न्याय र विकासको बाटो खोल्नु हो। महिला र पुरुषबीचको समानता कुनै उपहार होइन, यो मानवअधिकार हो। यस अधिकारको सुनिश्चितता बिना हाम्रो समाज कहिल्यै पूर्ण प्रगतिशील र सभ्य बन्न सक्दैन। त्यसैले महिला विरुद्ध हुने अन्याय, हिंसा र विभेदविरुद्ध आवाज उठाउनु हाम्रो सामूहिक जिम्मेवारी हो। महिलाको पीडा बुझेर मात्र हामीले यो समाजलाई परिवर्तन गर्न सक्छौं। महिलाको आँसु सुख्खा पार्न सक्ने समाज नै सभ्य समाज हो।
लेखक: झुपा धामी कैलाली बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।