Jul 27 2026 | २०८३, श्रावण ११ गते

सफल विद्यार्थीका तीन आधारस्तम्भ: ज्ञान, व्यवहार र इमान्दारिता

सफल विद्यार्थीका तीन आधारस्तम्भ: ज्ञान, व्यवहार र इमान्दारिता

  • 626
    SHARES

  • सफल विद्यार्थीका तीन आधारस्तम्भ: ज्ञान, व्यवहार र इमान्दारिता

    २६, कार्तिक/ काठमाडौँ । विद्यार्थी जीवनलाई सफल बनाउने तीन विशेष आधारस्तम्भ—किताबी ज्ञान, व्यवहारिक ज्ञान, र इमान्दारिता—एकअर्कासँग घनिष्ठ रूपमा गाँसिएका तत्व हुन्। आज धेरै विद्यार्थीहरू अंक, प्रमाणपत्र वा परीक्षा पास गर्ने लक्ष्यमा केन्द्रित हुन्छन्, तर वास्तविक जीवनमा सफलता प्राप्त गर्न यति मात्र पर्याप्त हुँदैन। पुस्तकमाथि निर्भर भएर मात्र विद्यार्थीले आफ्नो बुद्धि र सोचको विकास गर्न सक्छ, तर जीवनका चुनौतीहरू सामना गर्न, समाजमा टेकेर अघि बढ्न, र सही निर्णय लिन आवश्यक शक्ति व्यवहारिक अनुभव र इमान्दारिताबाटमै पैदा हुन्छ। त्यसैले विद्यार्थीको भविष्य केवल किताबले होइन, विचार, व्यवहार र चरित्रले निर्माण गर्छ।

    किताबी ज्ञान विद्यार्थीको बौद्धिक विकासको आधार हो। गणितले तर्क सिकाउँछ, विज्ञानले विश्लेषणात्मक क्षमता बढाउँछ, इतिहासले समाज बुझ्न मद्दत गर्छ, र भाषा तथा साहित्यले अभिव्यक्ति र संवेदनशीलता विकास गर्छन्। यी विषयहरूले विद्यार्थीलाई सोच्ने, बुझ्ने र प्रश्न गर्ने क्षमतासहित सजग बनाउँछन्। तर पाठ्यपुस्तकमा लेखिएको कुरा बुझ्नु मात्र जीवनको सम्पूर्ण तयारी होइन। पुस्तकले बाटो देखाउँछ, तर यात्रा विद्यार्थीले आफैँँ पूरा गर्नुपर्छ। किताबले इमानदार हुन सिकाउँछ, परिश्रमको मूल्य बताउँछ, तर व्यवहारमा लागू गर्ने साहस र क्षमता विद्यार्थीको नैतिक धरातलबाट आउँछ। त्यसैले सैद्धान्तिक ज्ञान भविष्य निर्माणको जग त हो, तर त्यसलाई मजबुत बनाउने जिम्मा व्यवहार र अनुशासनमा पर्छ।

    यति हुँदाहुँदै पनि व्यवहारिक ज्ञान नभए विद्यार्थी अपूर्ण रहन्छ। पुस्तकमा लेखिएको सिद्धान्त केवल अक्षरका रूपमा सीमित हुन्छ यदि विद्यार्थीले त्यसलाई वास्तविक जीवनमा परीक्षण गर्न सकेन भने। विज्ञान पढ्नेले प्रयोगशालामा वास्तविक प्रयोग नगरी ज्ञान पक्का गर्न सक्दैन। व्यवसाय पढ्नेले व्यवहारमा कारोबार, व्यवस्थापन, जोखिम र निर्णयको प्रक्रिया सिकेन भने पढाइ अधूरो रहन्छ। शिक्षक बन्नेले विद्यार्थीसँग सहानुभूति, संवाद र मार्गदर्शन गर्ने कला नजानेसम्म केवल किताबकै अडानले प्रभावकारी शिक्षक बन्न सक्दैन। व्यवहारिक ज्ञानले विद्यार्थीलाई आत्मनिर्भर, व्यावहारिक र सामाजिक बन्न मद्दत गर्छ। मानिससँग कसरी बोल्ने, कसरी समस्या समाधान गर्ने, कसरी संयम र धैर्य राख्ने, कसरी सहकार्य गर्ने जस्ता गुणहरू जीवनका महत्त्वपूर्ण सीप हुन्, जुन किताबले मात्र दिन सक्दैन। यसैले व्यवहारिक ज्ञान जीवनको पाठशालाले सिकाउने अमूल्य शिक्षा हो।

    ज्ञान र व्यवहार दुवै भए पनि यदि विद्यार्थीमा इमान्दारिता र अनुशासनको कमी छ भने त्यो सफलता अस्थायी र खोक्रो हुन जान्छ। इमान्दारिता मानिसको चरित्रको मेरुदण्ड हो। अध्ययनमा ईमान्दार विद्यार्थी न त छोटो बाटो खोज्ने प्रलोभनमा पर्छ, न त अरूको मेहनत चोरेर आफ्नो भविष्य बनाउने भ्रम पाल्छ। इमान्दार विद्यार्थी मेहनत गर्छ, असफलतालाई सिकाइको अवसर मान्छ, र सुधारका लागि निरन्तर प्रयास गर्छ। आजको प्रतिस्पर्धी संसारमा धेरै विद्यार्थीहरू नकल, धोका, देखावटीपन वा झूटो उपलब्धिको सहाराले अघि बढ्ने सोच राख्छन्। तर यस्ता अभ्यासले अस्थायी सुविधा त दिन सक्छ, तर दीर्घकालीन सफलता र सम्मान कहिल्यै दिलाउन सक्दैन। चरित्र बलियो नभएसम्म शिक्षा अपूर्ण रहन्छ, र विद्यार्थीको व्यक्तित्व कमजोर बनिरहेको हुन्छ।

    यी तीनै पक्षहरू—ज्ञान, व्यवहारिकता र इमान्दारिता—जोडेर मात्र विद्यार्थी साँचो अर्थमा परिपक्व र सफल बन्न सक्छ। केवल किताबको ज्ञानले विद्यार्थीलाई बौद्धिक रूपमा सक्षम बनाउँछ, तर व्यवहारिक अनुभव नहुँदा समस्या समाधान गर्न असहज हुन्छ। व्यवहारिक ज्ञान भए पनि इमान्दारिता नभए उपलब्धि क्षणिक र अविश्वसनीय हुन्छ। इमान्दारिता भए पनि पढाइमा गम्भीरता र अनुशासन नहुँदा लक्ष्य अधूरै रहन्छ। यिनै तीन तत्वको सन्तुलित संयोजनले विद्यार्थीलाई केवल सफल मात्र होइन, जिम्मेवार र नैतिक नागरिक बनाउँछ।

    यस प्रक्रियामा शिक्षक र अभिभावकको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। शिक्षक केवल किताब पढाउनेमा सीमित नबसी विद्यार्थीको सोच, व्यवहार, आत्मविश्वास र नैतिकता विकास गर्ने मार्गदर्शक हुनुपर्छ। ज्ञानसँगै जीवन मूल्य, व्यवहारकला, जिम्मेवारी र सहकार्य सिकाउने वातावरण कक्षाभित्र सिर्जना गर्नुपर्ने हुन्छ। अभिभावकहरूले पनि घरमा इमान्दारिता, अनुशासन, सदाचार र सकारात्मक वातावरण दिनुपर्छ। बच्चाले घरमा चरित्र देख्छ, विद्यालयमा ज्ञान सिक्छ, र समाजमा व्यवहार बुझ्छ; यी तीनै वातावरणले उसको भविष्य निर्माण गर्छन्।

    आजको प्रविधियुक्त युगमा विद्यार्थीहरूका लागि ज्ञान उपलब्धतासँगै चुनौती पनि बढेको छ। सूचना सजिलै पाइन्छ, तर त्यसलाई विश्लेषण गर्ने क्षमता र संयम आवश्यक हुन्छ। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालले ध्यान भङ्ग गर्ने वातावरण सिर्जना गर्छन्। जानकारी धेरै भए पनि बुझाइको गहिराइ घटिरहेको छ। त्यस्तै, तत्काल परिणाम चाहने प्रवृत्तिले धैर्य र मेहनत कमजोर बनाइरहेका छन्। यस्ता चुनौतीका बीचमा विद्यार्थीले आफ्नो अध्ययनमा निरन्तरता, व्यवहारमा विवेक, र निर्णयमा इमान्दारिता कायम राख्न सके मात्र भविष्यमा सफल, जिम्मेवार र सम्मानित नागरिक बन्न सक्छ।

    यसरी हेर्दा विद्यार्थीको सफलता कुनै एक पक्षले होइन, समग्र विकासले निर्धारण गर्छ। ज्ञानले दिशा दिन्छ, व्यवहारिकताले मार्ग प्रशस्त गर्छ, र इमान्दारिताले चरित्र निर्माण गर्छ। यी तीन कुरा आत्मसात् गरेर अघि बढ्ने विद्यार्थीले मात्र जीवनका वास्तविक चुनौतिहरू सामना गर्न सक्षम हुन्छ र समाजलाई सकारात्मक योगदान दिनसक्ने व्यक्तित्वका रूपमा विकसित हुन्छ। यही सन्तुलन र यही संयोजन विद्यार्थी जीवनको असली शक्ति हो।

    ✍️ लेखक कोपिला धामी सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।

    images
    बुधवार, कार्तिक २७ २०८२०८:३७:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार