आइतवार, मंसिर २९ २०८२
लक्ष्मण दियाल, मंसिर २८ गते। गाउँघर या भनौँ समग्रमा हाम्रो जस्तो देशहरुमा स्कूलमा पढाई पढाई पढाई को रटान लगाएर विद्यार्थीहरुलाई खोरमा कुखुरा राखे झै गरेर पढाउने, घोकाउने निकै बढी गरिन्छ(बर्षमा २०० दिनहरु भन्दा बढी दिन)तर, समग्रमा हेर्दा, यसो गर्दा पनि देशको शिक्षाको गुणस्तर निकै दयनीय छ। अझ, परिक्षाहरुलाई निकै व्यवस्थित र कडा बनाउने हो भने त शिक्षा क्षेत्र पनि अत्यन्तै नाजुग स्थितिमा छ; यो देश नबन्नको सबै भन्दा ठूलो कारण यो पनि हो। संसार कै उत्कृष्ट शिक्षा प्रणाली र नतिजाहरु भएका दर्जनौं देशहरूमा भन्दा बढी दिनहरु पढाई हुन्छ नेपालमा (२०० दिनहरु भन्दा बढी)। यती दिन स्कूलमा पढाई हुन्छ भने एक छिन, सोचौँ त, विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि चाहिने अतिरिक्त क्रियाकलापहरुका लागि व्यवस्थित तरिकाले हप्तामा कति घण्टा या बर्षमा कति दिन छुट्याइएको छ!? Credit Hour को पढाई गराउने चक्करमा अतिरिक्त क्रियाकलापहरु (खेलकुद,संगीत, साहित्य, नाँच, गान, कला, योग, आदि आदि) अन्य मूल्य, मान्यता, नैतिकता, राष्ट्रियता, समाजसेवा,धर्म, संस्कृती,मानवताका लागि कति समय छुट्याइएको छ र? हो, माथी उल्लेखित केही कुराहरू हाम्रा केही पाठ्यक्रमका किताबहरूमा त छन् तर, त्यो कत्ति पनि पर्याप्त छैन। र, के यी पर्याप्त जीवन उपयोगी थप कुरा बिना मान्छे मान्छे बन्न सक्छन र!??? के बालबालिकाहरुलाई पैसा कमाउने मसिन बनाउन खोजिएको हो राज्य या हाम्रा घरपरिवार र स्कुलहरुद्वारा? यो निकै ठूलो चर्चा र समाधान गरिनु पर्ने विषय हो।
के हाम्रा बालबालिका/विध्यार्थीहरु हामीले चाहेको जति आज्ञाकारी, मेहनती, क्षमतावान बन्दै या बनाइँदै छन त, हाम्रो यस शिक्षण विधि प्रविधि र मानसिकताले? र, अझ उल्टै के छ भने, थप मेहनत गरिरहेका शिक्षकहरु, स्कूलहरुलाई अनावश्यक खाले दवाव सृजना गरिएको स्थिति पनि देखिन्छ। "पढाईसँग सँगै सान्दर्भिक, समयानुकूल अतिरिक्त क्रियाकलापहरुमा पनि उत्कृष्ट गरिरहेका स्कूलहरुलाई बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलापहरुमा पनि उत्कृष्ट बनाई दिनु भो, धन्यबाद" भन्नु पर्ने, अझ बढी सहयोग र लगानी गर्नु पर्ने ठाउँमा, उल्टै अतिरिक्त क्रियाकलाप गरियो, पढाई बिग्रिन्छ भन्ने सोच अधिकाँश अभिभावक ज्यू हरुमा छ। तर, सबैले बुझौँ, अतिरिक्त क्रियाकलाप गर्ने स्कूलहरु र विद्यार्थीहरु नै पढाईमा पनि र समग्रमा जीवनको लामो दूरीमा बढी सफल भएको देखिन्छ; आफ्नै या आफ्नै छरछिमेकका दर्जनौं उदहारणहरु हेर्न/देख्न सक्नु हुन्छ।
उसो त हरेक शुक्रबार र अन्य विभिन्न अवसरहरुमा पनि हाम्रो स्कूलमा विभिन्न अतिरिक्त गतिविधिहरु गरिन्छ तर, हरेक महिनाको अन्तिम दिन भने हाम्रो स्कूलमा Bagless, Dressfree Day अर्थात् स्कूल ब्याग/किताब नल्याउने र स्कूल ड्रेस लाएर आउनु नपर्ने(स्कूल ड्रेस या घरको कपड़ा लाएर नी आऊन पाउने दिन) हुन्छ। तर, यस दिन पनि अन्य महत्वपूर्ण अतिरिक्त क्रियाकलाप सम्बन्धी विभिन्न गतिविधिहरु भने गरिन्छ। तर, मोटा किताबहरू, Credit Hour को चटारोका बीचमा निकै गार्हो भने छ, सही तरिकाले सबथोक व्यवस्थित गर्न।
आदरणीय अभिभावक ज्यू, शुक्रबारे कार्यक्रम हुने दिन,महिनाको अन्तिम दिन या अन्य कुनै पनि कार्यक्रम हुने दिने पढाई हुँदैन या पढाई गरिँदैन भनेर बालबालिकाहरुलाई स्कूल नपठाउने नगरी दिनु होला। पढाई जत्ति कै महत्वपूर्ण छन्, अन्य अतिरिक्त गतिविधिहरु, र, हरेक दिनको पढाइ पढाइको थकाई मेटाउने तरिका पनि हो अतिरिक्त क्रियाकलाप र विविध कार्यक्रमहरु। पढाई सम्बन्धी कै विभिन्न व्यवहारीक पूरक प्रयोगहरू हुन स्कूलमा हुने अतिरिक्त क्रियाकलाप या कार्यक्रमहरु भनेर पनि बुझौँ।
हाम्रा ससाना ठाउँमा या समाग्रमा हाम्रो देशमा नै पनि पढाई बाहेकका अन्य गतिविधिहरु(खेलकुद, संगीत, साहित्य, नाँच, गान, विज्ञान, प्रयोगात्मक कार्यहरू आदि आदि) लाई पढाई जति महत्वपूर्ण मानिंदैन, तर, सफल र समृद्ध देश/समाजहरुद्वारा यही कुरा बुझेर पढाईसाथ यसलाई पनि महत्व दिएर बालबालिकाहरुलाई सानै उमेरदेखि उनीहरूको रुचि (Hobby), क्षमता, र लक्ष्य अनुसारको वातावरण दिइन्छ, घरपरिवारमा, स्कूलमा या योजनाबद्ध तरिकाले राज्यद्वारा नै र पो ती देशहरू अझ राम्रा बन्दै गइरहेका छन। हाम्रो नयाँ पिँढीलाई हामी जती Smart, Skilled (क्षमतावान), खुशी, स्वस्थ र संस्कारी बनाउने छौँ, हाम्रा परिवारहरु,समाज/राष्ट्रको बर्तमान र भबिस्य त्यति सुन्दर, सुरक्षित र खुशहाल बन्ने निश्चित छ; दोष र समस्या अरुमा बढी देख्न छाडौँ। बालबालिकाहरु, युवाहरु (विद्यार्थीहरु) मा बढी योजनाबद्ध लगाव र लगानी गरौँ।
साथै सबैले बुझौँ, सबै विद्यार्थी एकै थरीका हुँदैनन, विभिन्न विद्यार्थीहरुमा विभिन्न थरी रुचि, कला, क्षमता हुन्छन्, तसर्थ, यस्ता अतिरिक्त क्रियाकलापहरु , कार्यक्रमहरु, अवसरहरुले उनीहरुलाई अगाडि आउन, क्षमता र हौसला बढाउन निकै सहयोग पुग्छ। के थाहा, आज हामीलाई सामान्य लागेका बालबालिकाहरुमा भोलि कुन कुन ठूलो राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पुग्ने क्षमता लुकेका छन होला। तर, यदि त्यति ठूलो उपलब्धि चाहिएको छ भने, त्यति ठूलो विश्वास, मेहनत र वातावरण हाम्रा घरपरिवारले र स्कूल समाजले आजै दिनु पर्छ; राज्यले विशेष योजनाबद्ध वातावरण तयार गर्नु पर्छ; आफै चमत्कार भने कहीँ हुँदैन।
लक्ष्मण दियाल, प्रधानाध्यापक वात्सल्य विद्या निकेतन बेलौरी, कञ्चनपुर