शुक्रवार, पौष १८ २०८२
काठमाडौँ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौं जिल्लाको आयोजनामा तथा प्याब्सन कीर्तिपुर नगर कार्यसमितिको संयोजनमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि प्याब्सन जिल्ला स्तरीय PABSON GRAND QUIZ CHAMPIONSHIP–2082 आयोजना हुने भएको छ।
प्रतियोगिता आगामि २०८२ माघ १६ र १७ गते (शुक्रबार र शनिबार) बिहान ९:३० बजेदेखि पुष्प सदन स्कुल, कीर्तिपुर मा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
जिल्लाभरका निजी विद्यालयका विद्यार्थीहरूको ज्ञान, बौद्धिक क्षमता र प्रतिस्पर्धात्मक सीप विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न नगरपालिकाबाट तोकिएको संख्यामा विद्यार्थी टिमहरू सहभागी हुनेछन्।
प्रतियोगिताअन्तर्गत कीर्तिपुरबाट २, बुढानिलकण्ठ, चन्द्रागिरि, नागार्जुन र टोखाबाट ३–३, कागेश्वरी मनोहरा र तारकेश्वरबाट ४–४, गोकर्णेश्वरबाट ६, शङ्खरापुरबाट १ तथा काठमाडौं महानगरपालिकाबाट १६ टिम सहभागी हुने गरी जम्मा ४५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन प्रत्येक विद्यालयबाट कम्तीमा एक छात्रासहित तीन जना विद्यार्थीको एक टिम अनिवार्य गरिएको छ। सहभागी टिमले रु. ३,००० दर्ता शुल्क बुझाउनुपर्नेछ भने सहभागिताको फारम २०८२ माघ ११ गतेसम्म प्याब्सन जिल्ला कार्यालय, गोंगबुमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः रु. २०,०००, १५,००० र १०,००० नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै सान्त्वना स्थान प्राप्त गर्ने तीन टिमलाई रु. ५,००० नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सहभागी शिक्षक तथा विद्यार्थीहरूका लागि खाजाको समेत व्यवस्था गरिएको छ।
हाजिरीजवाफ प्रतियोगिता कक्षा ९ सम्मका विभिन्न विषयका पाठ्यपुस्तकमा आधारित ३० प्रतिशत तथा सामान्य ज्ञान र बौद्धिक परीक्षण (IQ) मा आधारित ७० प्रतिशत प्रश्न समेटेर सञ्चालन हुनेछ। नेपाली, अङ्ग्रेजी, सामाजिक, गणित, विज्ञान तथा प्रविधि र कम्प्युटर विषयका प्रश्नहरू समावेश गरिने छन्।
पहिलो चरणमा सहभागी टिमहरूलाई ६ समूहमा विभाजन गरी प्रत्येक समूहबाट उत्कृष्ट तीन टिमलाई दोस्रो चरणमा प्रवेश गराइनेछ। दोस्रो चरणपछि उत्कृष्ट ६ टिम फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्। कुनै चरणमा अंक बराबरी भएमा अतिरिक्त प्रश्न तथा बजर राउन्डमार्फत विजेता छनोट गरिने व्यवस्था गरिएको छ।
