मंगलवार, माघ १४ २०८२
काठमाडौं । त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाको आयोजनामा वाग्मती र गण्डकी प्रदेशभित्रका आंगिक क्याम्पसका क्याम्पस प्रमुख, प्रशासन प्रमुख तथा लेखाप्रमुखहरूको सहभागितामा तीनदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कार्यशालाको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक अर्यालले क्याम्पस नेतृत्वमा रहेका व्यक्तित्वहरूलाई विश्वविद्यालयका महत्वपूर्ण शैक्षिक तथा प्रशासनिक पक्षबारे अवगत गराउँदै हाल विद्यमान चुनौती समाधान गर्न कार्यशालाले महत्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो। आंगिक क्याम्पसहरू विश्वविद्यालयका मुख्य शैक्षिक निकाय भएकाले तिनको नेतृत्व थप सवल र सुदृढ बनाउन यस्ता कार्यक्रम उपयोगी हुने उहाँको भनाइ थियो।

शिक्षाध्यक्ष प्रा.डा. खड्ग के.सीले कार्यशालाको औचित्य प्रष्ट पार्दै शैक्षिक नेतृत्वमा प्राज्ञिक दृष्टिकोण, अनुसन्धान क्षमता र इमानदारिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले वाग्मती र मधेस प्रदेशका आंगिक क्याम्पसहरूको भौतिक पूर्वाधार कमजोर रहेको जनाउँदै गण्डकी प्रदेशका क्याम्पस तथा डोटी क्याम्पसको पूर्वाधार विकासबाट प्रेरणा लिन आग्रह गर्नुभयो। योग्यताप्रणालीलाई थप व्यवस्थित गर्दै सक्षम र प्रभावकारी नेतृत्व विकास गर्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो।
रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले मानवस्रोत व्यवस्थापन, प्रशासनिक कार्यप्रणालीमा एकरूपता, स्रोत–साधनको समुचित उपयोग र शैक्षिक क्यालेण्डरको प्रभावकारी कार्यान्वयनमार्फत त्रिविको वर्तमान अवस्थामा थप सुधार गरिने जानकारी दिनुभयो। उहाँले सौहार्दपूर्ण वातावरणमा क्याम्पस सञ्चालन गर्न सबैलाई अनुरोध गर्नुभयो।

समन्वय महाशाखा प्रमुख दिपक तिवारीका अनुसार १०४ जना सहभागी रहेको कार्यशालामा त्रिविको रणनीतिक योजना कार्यान्वयन, उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक क्यालेण्डर, सार्वजनिक खरिद, आर्थिक स्रोत परिचालन, प्रशासनिक तथा आर्थिक अनुशासन, योजना, बजेट र लेखापरीक्षणलगायत विषयमा विज्ञहरूसँग अन्तरक्रिया गरिएको थियो।
कार्यशालामा शिक्षाध्यक्ष प्रा.डा. खड्ग के.सी, रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल, सेवा आयोगका पूर्वअध्यक्ष प्रा.डा. लालुप्रसाद पौडेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, सहसचिव सुवास सिवाकोटी, डोटी क्याम्पस प्रमुख दिलानन्द जोशी, प्रा.डा. कृष्णचन्द्र शर्मा, आर्थिक प्रशासन महाशाखा प्रमुख राजेशसिंह देवकोटा, लेखापरीक्षण महाशाखा प्रमुख पुष्पनारायण श्रेष्ठ तथा पूर्वसचिव महेश काफ्ले स्रोत व्यक्तिका रूपमा सहभागी थिए। सोही अवसरमा सहभागीहरूले शिवपुरीस्थित नेपाली सेनाद्वारा सञ्चालित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी नेतृत्व विकाससम्बन्धी अनुभव आदानप्रदान गरेका थिए।