मंगलवार, माघ १४ २०८२
काठमाडौँ, माघ १३ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (PABSON) जिल्ला कार्यसमिति काठमाडौँको आयोजनामा सञ्चालन हुन लागेको "यू- १५ प्याब्सन क्रिकेट लिग (PCL) ” माघ २८ देखि हुने भएको छ। मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (NSJF), त्रिपुरेश्वरमा सम्पन्न पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिइएको हो।
प्याब्सन क्रिकेट लिग (PCL) यू–१५ राष्ट्रियस्तरको अन्तर–प्रदेशीय विद्यालय क्रिकेट प्रतियोगिता हो, जसमा ७ प्रदेशीय प्याब्सन टोली र आयोजक काठमाडौँ जिल्ला गरी जम्मा ८ टोलीको सहभागिता रहनेछन!। प्रतियोगिता लिगकम नकआउट ढाँचामा माघ २८ देखि फागुन ६ गतेसम्म तल्लो मूलपानी क्रिकेट मैदान, काठमाडौँमा सञ्चालन हुनेछन्।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ जिल्ला प्याब्सन अध्यक्ष नवराज भट्टले गुणस्तरीय शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगिता लिगकम नकआउट ढाँचामा माघ २८ देखि फागुन ६ गतेसम्म तल्लो मूलपानी क्रिकेट मैदान, काठमाडौँमा सञ्चालन हुनेछन्। खेल T20 (२० ओभर प्रति पारी) फर्म्याटमा खेलाइने छन्। उक्त प्रतियोगितामा एक टोलीमा १४ खेलाडी, १ प्रशिक्षक र १ म्यानेजर गरी अधिकतम १६ जना रहनेछन्। प्रतियोगितामा सहभागिताका लागि इन्ट्री शुल्क निःशुल्क रहनेछ। उमेर समूह यू–१५ (२०६७/१०/१५ पछि जन्मेका) का विद्यार्थी खेलाडीहरू सहभागी हुन सक्नेछन्। अन्तिम टिम सूची माघ २० गतेसम्म बुझाउनुपर्नेछ।
उक्त प्रतियोगितामा बिजेता टिमले विजेता टोलीले रु. १ लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। व्यक्तिगततर्फ म्यान अफ द म्याचलाई रु. २,५००, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई रु. ५,०००–५,००० तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु. ५०,००० प्रदान गरिनेछ।
उक्त प्रतियोगिताम सहभागी सबै खेलाडीको शिखर इन्स्योरेन्समार्फत बीमा गरिने अध्यक्ष भट्टले जानकारी दिनुभयो। प्रतियोगिताको प्राविधिक सहयोग क्यान काठमाडौँ जिल्ला क्रिकेट संघले गर्ने छ।
क्रीकेट लिग सम्पन्न गर्न अनुमानित कुल बजेट करिब ८० लाख रुपैयाँ रहने छ। प्याब्सनले PCL लाई वार्षिक राष्ट्रिय विद्यालयस्तरीय क्रिकेट लिगका रूपमा विकास गर्दै भविष्यमा CAN को वार्षिक क्यालेन्डरमा समावेश गराउने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ।
पत्रकार सम्मेलनमा प्याब्सन केन्द्रिय तथा काठमाडौँ जिल्लाका पदाधिकारी, सदस्य तथा विभिन्न विद्यालयका प्रिन्सिपल, नगर अध्यक्ष तथा नेपाल खेलकुद पत्रकार मञ्चका पदाधिकारी, क्रिकेट संघ नेपाल (CAN) तथा प्रदेश/जिल्ला क्रिकेट संघका प्रतिनिधि, विद्यालय खेलकुद क्षेत्रका सरोकारवाला तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजन प्याब्सन काठमाडौँका उपाध्यक्ष धन पुनले गर्नुभएको थियो भने सञ्चालन सचिव कृष्ण भण्डारीले गर्नुभएको थियो। स्वागत मन्तव्य राख्दै उपाध्यक्ष पुनले विद्यालय तहबाटै क्रिकेटलाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउँदै देशभरका प्रतिभावान् खेलाडीलाई राष्ट्रिय तहसम्म पुर्याउने उद्देश्यले PCL यू–१५ आयोजना गरिएको बताउनुभयो।