बुधवार, माघ १५ २०८२
काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) काठमाडौँको आयोजनामा तथा नगर प्याब्सन कीर्तिपुरको संयोजनमा काठमाडौँ जिल्लाव्यापी “PABSON Grand Quiz Championship–2082” माघ १६ र १७ गते कीर्तिपुरस्थित पुष्पसदन सेकेन्डरी स्कुलमा आयोजना हुने भएको छ।
बुधबार प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिएको हो। पत्रकार सम्मेलन प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टको अध्यक्षतामा सम्पन्न भएको हो।
पत्रकार सम्मेलनमा अतिरिक्त क्रियाकलाप विभाग संयोजक धन बहादुर पुनले नगर तथा महानगरस्तरबाट छनोट भई आएका जम्मा ४५ विद्यालयका टिमहरू प्रतियोगितामा सहभागी हुने जानकारी दिनुभयो। उहाँले प्रत्येक टिममा कक्षा ९ सम्म अध्ययनरत तीन जना विद्यार्थी (कम्तिमा एक जना छात्रा अनिवार्य) रहने बताउनुभयो ।
पत्रकार सम्मेलन कार्यक्रम प्याब्सन काठमाडौँ जिल्ला सह-सचिव शिव अर्याले सञ्चालन गर्नुभयो भने कीर्तिपुर नगरपालिका प्याब्सन अध्यक्ष रवि भण्डारीले प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो।
क्विज च्याम्पियनसीपको उद्देश्यबारे बोल्दै प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष नवराज भट्टले पछिल्लो समय विद्यार्थीहरूमा बौद्धिक क्षमता र सामान्य ज्ञानप्रतिको रुचि घट्दै गएको सन्दर्भमा समसामयिक विषय, इतिहास, भूगोल, विज्ञानलगायतका विषयमा रुचि अभिवृद्धि गराउने, पठन संस्कृतिको विकास गर्ने तथा प्रतिस्पर्धात्मक आत्मविश्वास बढाउने लक्ष्य रहेको बताउनुभयो । साथै लोकसेवा आयोगलगायत सरकारी सेवामा प्रवेशका लागि समेत यस्ता बौद्धिक गतिविधि अत्यन्तै उपयोगी हुने भट्टको भनाइ थियो।
प्याब्सनको शैक्षिक क्यालेन्डर अन्तर्गत समावेश यस प्रतियोगितामा प्रारम्भिक चरण विभिन्न नगर/महानगरमा सम्पन्न भई उत्कृष्ट टिमहरू मात्र अन्तिम चरणका लागि छनोट भएका छन्। प्रतियोगितालाई निष्पक्ष र पारदर्शी बनाउन सहभागी विद्यालयहरूको टाइ–सिट सार्वजनिक गरिसकिएको आयोजकले जनाएको छ।
कार्यक्रमको पहिलो दिन माघ १६ गते बिहान ९:३० बजे उद्घाटन सत्र हुनेछ, जसमा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। दोस्रो दिन माघ १७ गते समापन समारोहमा प्याब्सन केन्द्रका पूर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार उमेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुनेछ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको अन्तिम दिन उत्कृष्ट ६ टिमलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्याब्सनले यस किसिमका शैक्षिक तथा बौद्धिक गतिविधिमार्फत विद्यार्थीहरूमा नेतृत्व क्षमता, टोली भावना, आत्मविश्वास र अध्ययनप्रतिको रुचि अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।