बिहिवार, माघ ३० २०८२
काठमाडौँ — नेपालमै पहिलोपटक विद्यालयस्तरमा राष्ट्रिय ढाँचामा आयोजना गरिएको ‘प्याब्सन क्रिकेट लिग (PCL) यू–१५’ प्रतियोगिता तल्लो मूलपानी क्रिकेट मैदानमा भव्य रूपमा सुरु भएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ जिल्लाको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताले विद्यालय तहको क्रिकेट विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा खेलकुद क्षेत्रका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, प्रशिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले विद्यालयस्तरबाटै खेल प्रतिभा पहिचान र उत्पादन गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।

‘प्याब्सन क्रिकेट लिग (PCL) यू–१५’ राष्ट्रियस्तरको अन्तर–प्रदेशीय विद्यालय क्रिकेट प्रतियोगिता हो। प्रतियोगितामा सातै प्रदेशका प्याब्सन टोली र आयोजक काठमाडौँ जिल्ला गरी जम्मा ८ छात्र टोलीको सहभागिता रहेको छ। प्रतियोगिता फागुन ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

उद्घाटन खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा बागमती प्रदेशले सुदूरपश्चिमलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। खेल अवधिभर दुवै टोलीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।

त्यसैगरी दोस्रो खेल काठमाडौँ जिल्ला र गण्डकी प्रदेशबीच सम्पन्न भएको थियो। उक्त खेलमा काठमाडौँ जिल्ला टोलीले सशक्त खेल प्रदर्शन गर्दै जित हात पार्न सफल भयो। प्रारम्भिक खेलहरूबाटै प्रतियोगितामा उच्च प्रतिस्पर्धा देखिएको छ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान र बलरलाई समान ५–५ हजार रुपैयाँ तथा प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ लाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै विद्यालय तहबाटै क्रिकेटको आधार सुदृढ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ। निर्धारित तालिका अनुसार सम्पूर्ण खेलहरू मूलपानी क्रिकेट मैदानमै सञ्चालन हुनेछन्। विद्यालयस्तरको क्रिकेटलाई संस्थागत र प्रतिस्पर्धात्मक बनाउने दिशामा ‘PCL यू–१५’ को सुरुवातलाई ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

