शनिवार, फाल्गुण १६ २०८२
काठमाडौं, फागुन १६ । काठमाडौंको छाउनीस्थित फ्युचर स्टार इङ्लिस सेकेण्डरी स्कुलले सातौँ विज्ञान, चित्रकला तथा हस्तलेखन प्रदर्शनी भव्य तथा आकर्षक रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित प्रदर्शनीमा आधारभूत तहदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले अध्ययनसँगै तयार पारेका विज्ञान, प्रविधि, स्टोन आर्ट्स, बोटल आर्ट्स र अन्य चित्रकला, उत्कृष्ट हस्तलेखन तथा सिर्जनात्मक परियोजनाहरू प्रस्तुत गरेका थिए।

विद्यालयका संस्थापक प्राचार्य मनोज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौँ जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख समन्तमणि आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने काठमाडौँ महानगरपालिका वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल विशेष अतिथि रहनुभएको थियो।

उद्घाटन समारोहलाई विशेष आकर्षक बनाउँदै ड्रोनमार्फत पुष्प वर्षा गरिएको थियो। त्यसपछि प्रमुख अतिथि आचार्यले रिवन काटेर विज्ञान प्रदर्शनीको औपचारिक उद्घाटन गर्नुभएको थियो।

उद्घाटनपछि बोल्दै प्रमुख अतिथि आचार्यले विद्यालय तहबाटै विज्ञान, प्रविधि र नवप्रवर्तनमुखी शिक्षामा जोड दिनु समयको आवश्यकता भएको बताउनुभयो। उहाँले पाठ्यपुस्तकमात्र सीमित शिक्षाले विद्यार्थीको पूर्ण क्षमता विकास नहुने उल्लेख गर्दै यस्ता प्रयोगात्मक तथा अनुसन्धानमूलक गतिविधिले विद्यार्थीमा खोज, अनुसन्धान र सिर्जनशील सोचको विकास गर्ने धारणा राख्नुभयो। विज्ञान प्रदर्शनीले विद्यार्थीलाई भविष्यका वैज्ञानिक, अनुसन्धानकर्ता तथा जिम्मेवार नागरिक बन्न प्रेरणा दिने उहाँको भनाइ थियो।

कार्यक्रममा ईआईसी कलेजका प्रशासनिक प्रमुख रामप्रसाद पौडेल, नेसनल प्याब्सन टोखा नगरपालिकाका प्रमुख बलराम भट्ट, भविष्य दिशाबोध फाउन्डेसन नेपालका डा. ओम सिटौला, नेसनल प्याब्सन काठमाडौं जिल्ला सह–सचिव प्राप्ती मल्ल ठकुरी, नेसनल प्याब्सनका केन्द्रीय सदस्य तथा एडिन प्रमुख हिक्मत दाहाल, रुक्मिणी मार्ग टोल सुधार समितिका अध्यक्ष शिशिर प्रधान तथा समाजसेवी गोविन्द भुसाललगायतको उपस्थिति रहेको थियो।

विद्यालयका ईसीए प्रमुख ईश्वरी श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमको सहसंयोजन प्रिन्सिपल प्रोशन राजभण्डारी र विज्ञान शिक्षक रोबिन चौधरीले गर्नुभएको थियो। प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका रोबोटिक्स नमुना, विज्ञान परियोजना, हस्तलेखन, चित्रकला, आर्ट तथा क्राफ्ट, शैक्षिक सामग्री, पेन्टिङ तथा डकुमेन्ट्रीहरू आकर्षणका केन्द्र बनेका थिए।

संस्थापक प्राचार्य मनोज श्रेष्ठले यस्ता प्रदर्शनीले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्नुका साथै व्यवहारिक सिकाइमार्फत सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताउनुभयो। प्रदर्शनीले अभिभावकलाई आफ्ना बालबालिकाको सिर्जनात्मक क्षमता प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गरेको उहाँको भनाइ थियो।

प्रदर्शनी अवलोकनका क्रममा विद्यार्थीहरूले आफ्ना परियोजनाबारे अतिथि तथा अभिभावकलाई आत्मविश्वासपूर्वक जानकारी गराउँदै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए। विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको विज्ञान प्रदर्शनी विद्यार्थीका लागि ज्ञान, सीप र नवप्रवर्तन प्रदर्शन गर्ने प्रभावकारी मञ्चका रूपमा स्थापित हुँदै गएको छ।





