शनिवार, फाल्गुण ३० २०८२
काठमाडौं — काठमाडौँको शंखमूलस्थित नेरीक एकेडेमीमा विज्ञान तथा रोबोटिक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूको सिकाइलाई अझ प्रभावकारी, व्यवहारिक र सिर्जनात्मक बनाउने उद्देश्यले विद्यालय परिसरमा “साइन्स एण्ड रोबोटिक एक्जिबिशन–२०८२” आयोजना गरिएको हो।

विद्यालयका अनुसार प्रदर्शनीमा कक्षा २ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न वैज्ञानिक तथा प्राविधिक विषयसँग सम्बन्धित परियोजनाहरू प्रस्तुत गर्दै प्रयोगात्मक सिकाइको उत्कृष्ट नमुना प्रस्तुत गरेका थिए।
प्रदर्शनीमा घर स्वचालन प्रणाली, ब्रह्माण्ड सम्बन्धी परियोजना, प्रकाश संश्लेषण (वनस्पति विज्ञान), बगैंचा रोबोट, ट्राफिक सिग्नल प्रणाली, स्वचालित माछालाई खाना दिने उपकरण, माटोको आर्द्रता मापन सेन्सर, भ्याकुम क्लिनर, पानीको सतह सूचक, गति नियन्त्रण पंखा तथा हाम्रो पारिस्थितिकी प्रणालीसम्बन्धी परियोजनाहरू प्रदर्शन गरिएका थिए। ती परियोजनाले अभिभावक तथा दर्शकहरूको विशेष ध्यान आकर्षित गरेका थिए।

कार्यक्रममार्फत विद्यार्थीहरूले आफ्नै सिर्जनशीलता, अनुसन्धान क्षमता तथा प्रयोगात्मक सिकाइ प्रस्तुत गर्दै विज्ञानप्रति रुचि र जिज्ञासा बढाउने अवसर पाएका थिए। विद्यालयका अनुसार यस्ता प्रदर्शनीहरूले विद्यार्थीहरूमा नवप्रवर्तन, समस्या समाधान गर्ने क्षमता तथा वैज्ञानिक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रदर्शनी अवलोकन गर्न पुगेका अभिभावक अनुजमान बज्राचार्यले विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको सर्वांगीण विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनका अनुसार यस्ता गतिविधिले विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन तथा व्यवहारिक सीप विकासमा सकारात्मक प्रभाव पार्दछ।

कार्यक्रममा विद्यार्थीहरूको रोबोटिक शिक्षाका लागि टेक्नोबोट एजुकेशन एण्ड रिसर्च सेन्टरले सहयोग गरेको थियो। संस्थाका निर्देशक प्रशान्त ठाकुरले भविष्यको प्रविधिमुखी संसारमा रोबोटिक तथा विज्ञान शिक्षाको महत्व अझ बढ्दै जाने उल्लेख गर्दै विद्यार्थीहरूको सिकाइलाई व्यवहारिक र प्रविधिमैत्री बनाउँदै लैजान सके सक्षम जनशक्ति उत्पादन गर्न सकिने विश्वास व्यक्त गरे।

विद्यालयका प्रिन्सिपल मिलन केसीका अनुसार प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका करिब २० वटा स्टल राखिएका थिए। उनले यस्ता कार्यक्रमले पाठ्यपुस्तकमा आधारित ज्ञानलाई प्रयोगात्मक सिकाइसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै यसले विद्यार्थीहरूको सिर्जनशीलता विकास गर्ने, अरूको कामबाट प्रेरणा लिन सहयोग गर्ने तथा कक्षामा सिकेका विषयलाई अझ सहज रूपमा बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

विद्यालय परिवारले भविष्यमा पनि यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गर्दै विज्ञान तथा प्रविधिमुखी शिक्षालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
