आइतवार, बैशाख २० २०८३
काठमाडौँ । होल्डिङ सेन्टरमा आश्रय लिएका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा उपलब्ध गराउने विषयमा निजी तथा संस्थागत विद्यालयहरू सकारात्मक देखिएका छन्।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल ले निजी विद्यालयका छाता संगठनहरूसँग गरेको छलफलपछि यस्तो संकेत देखिएको हो। कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकालाई नियमित शिक्षामा जोड्न महानगरले पहल अघि बढाएको छ।
राष्ट्रिय सभा गृहमा आयोजित छलफलमा प्याब्सन र एनप्याब्सन का केन्द्रीय, जिल्ला तथा महानगरस्तरीय पदाधिकारीहरूको सहभागिता रहेको थियो।
छलफलमा कार्यवाहक प्रमुख डंगोलले अव्यवस्थित बस्ती हटाउने क्रममा प्रभावित बालबालिकालाई शिक्षा दिन सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो। “यी बालबालिकाको भविष्य सुरक्षित गर्न निजी विद्यालयहरूको सहयोग अपरिहार्य छ,” उहाँले भन्नुभयो, “मानवताका आधारमा अघि बढेर उनीहरूलाई विद्यालयको पहुँचमा ल्याउनुपर्छ।” छलफलमा कृष्णप्रसाद अधिकारी, सुवास न्यौपाने, आ.वि. कटुवाल र प्रकाश खड्का लगायतले महानगरपालिकाको पहलप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै सहकार्यका लागि आफूहरू तयार रहेको बताएका छन्।
उनीहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाको शिक्षामा सहयोग गर्न सकिने धारणा राखेका छन्। साथै, प्रस्तावबारे आन्तरिक छलफल गरी कार्यान्वयनका सम्भावनाबारे महानगरलाई जानकारी गराइने जनाइएको छ।
महानगरपालिकाले होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई नियमित विद्यालय शिक्षामा जोड्ने र उनीहरूको भविष्य सुरक्षित गर्ने उद्देश्यसहित यो पहल अघि बढाएको हो।