आइतवार, बैशाख २७ २०८३
काठमाडौं, वैशाख २६ । स्कुल एसोसिएसन अफ नेपाल (सान)ले आफ्ना सदस्य विद्यालयमा कार्यरत पूर्वप्राथमिक तह (ECD) का शिक्षक–शिक्षिकाहरूका लागि वृहत कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार आयोजित Learnmore Publication को आयोजनामा तथा स्कुल्स एसोसिएसन अफ नेपाल (SAN)को समन्वयमा एकदिने इसिडि शिक्षक प्रशिक्षण तथा कार्यशाला कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रम सानका अध्यक्ष दिलिप रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा सानका सचिव तथा द सनसाईन स्कुल तथा कलेजका प्राचार्य बाबुराम गौतमले कार्यक्रम सञ्चालन गर्दै शिक्षक–शिक्षिकाको पेशागत क्षमता अभिवृद्धिका लागि सानले यस्ता विशेष कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो।

दिलिप रेग्मीले प्रारम्भिक बालशिक्षा गुणस्तरीय बनाउन शिक्षकहरूको क्षमता विकास अपरिहार्य रहेको बताउँदै यस्ता तालिम तथा कार्यशालाले शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने धारणा व्यक्त गर्नुभयो। उहाँले सानले आगामी दिनमा पनि शिक्षक लक्षित व्यवहारिक, सिर्जनशील तथा समयसापेक्ष कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

कार्यशालामा इसिडि एक्सपर्ट तथा कन्सल्टेन्ट सिर्जना महर्जन र तीर्थ महर्जनले सहजकर्ताको भूमिका निर्वाह गर्दै प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा सानसँग आबद्ध करिब १५ विद्यालयका झण्डै १५० शिक्षक–शिक्षिकाको सहभागिता रहेको जनाइएको छ।

Lanmore Publicationको प्राविधिक सहयोगमा ढुङ्गेधारास्थित छो रोल्पा ब्याङ्क्वेटमा सम्पन्न कार्यक्रममा सानका सहसचिव रोशन घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गर्दै आगामी दिनमा पनि सानले सृजनशील र व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

कार्यक्रममा सानका कोषाध्यक्ष नवराज पाण्डे, सदस्यहरू चन्द्रकुमार वाग्ले, अजितराज पाण्डे, तेजप्रसाद भण्डारीलगायत विभिन्न विद्यालयका प्राचार्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी फ्युचर स्टार स्कुलका डाइरेक्टर तथा गीतामाता कलेजका प्राचार्य मनोज श्रेष्ठको पनि कार्यक्रममा सहभागिता रहेको थियो। Lanmore Publicationका सीईओ सागर गौतमले कार्यक्रम सफल र व्यवस्थित रूपमा सम्पन्न भएकोमा सान परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो।


