बुधवार, जेठ ६ २०८३
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका विद्यालयमा कक्षा ११ को पठनपाठन वि.सं. २०८३ असार १ गतेदेखि सुरु गर्न निर्देशन दिएको छ।
केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले मिति २०८३ जेठ ६ गते जारी गरेको पत्रमार्फत शिक्षा विकास तथा समन्वय इकाइहरूलाई उक्त जानकारी गराएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०८३/०२/०४ को पत्रअनुसार शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक भइसकेको सन्दर्भमा कक्षा ११ को नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सञ्चालन गर्न भनिएको हो।
केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई सम्बन्धित विद्यालयसम्म सूचना प्रवाह तथा आवश्यक पत्राचार गर्न निर्देशन दिएको छ। साथै स्थानीय तहलाई आवश्यक समन्वय तथा सहजीकरण गर्न र विद्यालयहरूलाई सोहीअनुसार कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
केन्द्रका शाखा अधिकृत शान्ती बिष्टद्वारा हस्ताक्षरित पत्रमा कक्षा ११ को शैक्षिक गतिविधि समयमै सञ्चालन गरी नयाँ भर्ना प्रक्रिया तथा पठनपाठन व्यवस्थापन प्रभावकारी बनाउन जोड दिइएको छ।
