आइतवार, जेठ १७ २०८३
काठमाडौं । बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले माइल स्टोन युथ इङ्लिस स्कुलले अभिभावकहरूका लागि सचेत अभिभावकत्व सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

“Art of Conscious Parenting” शीर्षकमा आयोजित उक्त कार्यक्रममा मोटिभेशनल स्पिकर तथा प्रशिक्षक इश्वर श्रेष्ठले करिब चार घण्टासम्म प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा बालबालिकाको मनोविज्ञान, सकारात्मक अभिभावकत्व, प्रभावकारी संवाद, भावनात्मक सम्बन्ध तथा प्रेमपूर्ण अनुशासनका विषयमा विस्तृत जानकारी दिइएको थियो।
प्रशिक्षक श्रेष्ठले बालबालिकालाई केवल शैक्षिक उपलब्धिमा केन्द्रित गराउनु मात्र पर्याप्त नहुने बताउँदै उनीहरूको भावना, आवश्यकता र व्यक्तित्वलाई बुझ्दै मार्गदर्शन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सचेत अभिभावकत्वले बालबालिकामा आत्मविश्वास, जिम्मेवारीबोध र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

कार्यक्रममा सहभागी अभिभावकहरूले प्रशिक्षण अत्यन्त उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले बालबालिकासँगको सम्बन्धलाई अझ सुमधुर बनाउन तथा घरमा सकारात्मक वातावरण निर्माण गर्न कार्यक्रमबाट महत्वपूर्ण सिकाइ प्राप्त भएको बताएका छन्।
विद्यालयका प्रधानाध्यापक शिवराम गिरिले कार्यक्रम उपलब्धिमूलक भएको बताउँदै विद्यालयले शैक्षिक गुणस्तरका साथै अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो। उहाँले विद्यालयको उद्देश्य विद्यार्थीलाई केवल शैक्षिक रूपमा सक्षम बनाउनु मात्र नभई असल संस्कार, नैतिक मूल्य र सकारात्मक चरित्रसहितको जिम्मेवार नागरिकका रूपमा विकास गर्नु रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा आजको सचेत अभिभावकत्वले भोलिको जिम्मेवार, आत्मनिर्भर र सफल पुस्ता निर्माण गर्ने सन्देश प्रवाह गरिएको थियो। साथै अभिभावक र बालबालिकाबीच विश्वास, सम्मान र समझदारीमा आधारित सम्बन्ध निर्माण गर्न सचेत अभिभावकत्वको अभ्यास आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
“Happy Family, Happy Life – Conscious Parenting Today Creates a Better Tomorrow” भन्ने मूल सन्देशसहित सम्पन्न कार्यक्रमले सहभागी अभिभावकहरूलाई आफ्ना बालबालिकाको भावनात्मक तथा नैतिक विकासमा थप जिम्मेवार र सचेत बन्न प्रेरित गरेको विद्यालयले जनाएको छ।
