बिहिवार, जेठ २१ २०८३
काठमाडौं । नेसनल प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको संयोजन तथा काठमाडौं महानगर समितिको आयोजनामा पाँचौं अन्तरविद्यालय हाजिरिजवाफ प्रतियोगिता सञ्चालन हुने भएको छ। जेठ २३ र २४ गते सञ्चालन हुने प्रतियोगितामा काठमाडौं जिल्लाभरका ६० वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगितासम्बन्धी जानकारी दिन चावहिलस्थित विनायक सिद्ध कलेजमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधिहरूलाई टाइ–सिट वितरण समेत गरिएको थियो।

हाजिरिजवाफ प्रतियोगिता विद्यार्थीहरूमा ज्ञान, तर्कशक्ति, विश्लेषण क्षमता तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको काठमाडौं महानगर समितिका अध्यक्ष नवराज पाण्डेले बताउनुभयो। उहाँले विद्यालय तहमा अतिरिक्त क्रियाकलापको महत्व बढ्दै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो।
“विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुनुहुँदैन। विद्यार्थीको प्रतिभा पहिचान र नेतृत्व क्षमता विकासका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्छन्,” अध्यक्ष पाण्डेले भन्नुभयो।
कार्यक्रम संयोजक प्रकाश श्रेष्ठले प्रतियोगिता जेठ २३ र २४ गते दुई दिनसम्म सञ्चालन हुने जानकारी दिनुभयो। उहाँले काठमाडौं जिल्लाका निजी विद्यालयहरूबीच शैक्षिक तथा बौद्धिक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। “हामीले हरेक वर्ष प्रतियोगितालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै आएका छौं। यसपटक ६० विद्यालयको सहभागिताले कार्यक्रमप्रति विद्यालयहरूको उत्साह देखाएको छ,” संयोजक श्रेष्ठले बताउनुभयो।
प्रतियोगितामा सहभागी हुन प्रति विद्यालय २ हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। प्रतियोगिताका विजेता टोलीलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै उत्कृष्ट टोलीहरूलाई मेडल, शिल्ड र ट्रफी समेत प्रदान गरिने आयोजकले जनाएको छ।
पत्रकार भेटघाट कार्यक्रममा काठमाडौ जिल्ला अध्यक्ष अमृत खड्का, वरिष्ठ उपाध्यक्ष प्रेम भुजेल लगाएतको उपस्थिति रहेको थियो।
नेसनल प्याब्सनले यस्ता शैक्षिक कार्यक्रममार्फत विद्यार्थीहरूमा सिर्जनात्मक सोच, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने लक्ष्य लिएको जनाएको छ।