आइतवार, जेठ २४ २०८३
काठमाडौँ, २३ जेठ २०८३। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँ महानगर समितिले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले "स्कुल लेभल टिचिङ पेडागोजी" विषयक एकदिने कार्यशाला सम्पन्न गरेको छ।
कमलपोखरीस्थित इस्लिङ्टन कलेजमा आयोजित कार्यशालामा काठमाडौँ महानगरभित्रका विभिन्न विद्यालयका सयौँ शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यशालामार्फत शिक्षकहरूलाई आधुनिक शिक्षण विधि, प्रभावकारी कक्षाकोठा व्यवस्थापन, विद्यार्थी केन्द्रित सिकाइ र मूल्याङ्कन प्रणालीबारे व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि तथा प्याब्सन मेट्रो अध्यक्ष गगन सिंह ऐरले गुणस्तरीय शिक्षाको आधार सक्षम शिक्षक भएको बताउँदै बदलिँदो शैक्षिक परिवेशअनुसार शिक्षकलाई नवीन सीप, प्रविधि र शिक्षण पद्धतिसँग अद्यावधिक गराउनु आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले शिक्षक क्षमता विकासलाई आफ्नो कार्यकालको प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यशालामा प्रा. डा. गणेश सिंह ठाकुर, डा. टीकाराम पोखरेल, परमेश्वर रिजाल तथा लक्ष्मण सिटौलाले शिक्षण सिकाइका आधुनिक अवधारणा, प्रभावकारी मूल्याङ्कन, अवधारणामूलक सिकाइ तथा कक्षाकोठामा प्रयोग गर्न सकिने व्यावहारिक रणनीतिबारे सहजीकरण गर्नुभएको थियो।

सहजीकरणका क्रममा वक्ताहरूले २१औँ शताब्दीको शिक्षाले केवल पाठ्यपुस्तकको ज्ञानभन्दा पनि आलोचनात्मक सोच, समस्या समाधान क्षमता, सिर्जनशीलता र नेतृत्व विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो। उहाँहरूले शिक्षकहरूको निरन्तर व्यावसायिक विकासबाट मात्रै विद्यालय शिक्षाको गुणस्तरमा अपेक्षित सुधार सम्भव हुने बताउनुभयो।
प्याब्सन काठमाडौँ महानगरका वरिष्ठ उपाध्यक्ष राजन आचार्यको सभापतित्व तथा बागमती प्रदेशका सहसचिव श्रीराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्नभयो। कार्यक्रममा काठमाडौँ जिल्ला प्याब्सन उपाध्यक्ष आर बि अधिकारी, प्याब्सन काठमाडौ महानगर अध्यक्ष गगन सिंह ऐर, उपाध्यक्ष देबु फुयाल, सचीव आरसी भट्ट, सहसचिव बाबुराम गौतम, कोषाध्यक्ष राजेन्द्र थपलिया लगाएत बिशिस्ट ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले गुणस्तरीय शिक्षाको आधार सक्षम, दक्ष र प्रतिबद्ध शिक्षक भएको भन्दै विद्यालय शिक्षामा देखिएका चुनौतीहरूको सामना गर्न शिक्षकहरूलाई समयअनुकूल शिक्षण सीप, प्रविधि तथा नवीन पेडागोजिकल अभ्याससँग निरन्तर अद्यावधिक गराउन आवश्यक रहेको धारणा राख्नुभयो।

२१औँ शताब्दीको शिक्षाले केवल ज्ञान हस्तान्तरण मात्र नभई आलोचनात्मक सोच, सिर्जनशीलता, समस्या समाधान क्षमता र नेतृत्व विकासलाई प्राथमिकता दिने भएकाले शिक्षकहरूले पनि आफ्नो शिक्षण शैलीलाई समयको मागअनुसार रूपान्तरण गर्न शिक्षक प्रशिक्षण तथा कार्यशाला आयोजना गरिएको महानगर अध्यक्ष गगन सिंह ऐरले बताउनुभयो। उहाँले शिक्षकहरूलाई व्यवहारिक ज्ञान, नवीन शिक्षण प्रविधि र विद्यार्थी केन्द्रित सिकाइ पद्धति अवलम्बन गर्न थप प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
आयोजकका अनुसार यस्ता प्रशिक्षण तथा कार्यशालाले शिक्षकहरूलाई समयसापेक्ष ज्ञान र सीप प्रदान गर्दै विद्यालय शिक्षालाई थप प्रभावकारी, सिर्जनशील र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।