बिहिवार, जेठ २८ २०८३
काठमाडौँ । विद्यार्थी ओसारपसारका लागि विद्यालयबाट खटिएका सवारी चालकहरूमा मादक पदार्थ सेवन (मापसे) गर्ने प्रवृत्ति देखिएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोल सँग सहरको ट्राफिक व्यवस्थापन र सडक सुरक्षासम्बन्धी अभ्यासबारे भएको छलफलका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो।
उक्त छलफलपश्चात् काठमाडौँ महानगरपालिकाले तत्काल निगरानी र नियन्त्रणका लागि शिक्षा विभागलाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्ले का अनुसार पछिल्ला चार दिन बिहान गरिएको मापसे परीक्षणका क्रममा विद्यालयका सवारी चालकहरूमध्ये १६ जनाले मादक पदार्थ सेवन गरेको भेटिएको छ। विद्यार्थी लिन तथा विद्यालय सञ्चालनको समयमा गरिएको जाँचमा यस्तो अवस्था देखिनु गम्भीर विषय भएको ट्राफिक प्रहरीको भनाइ छ।
छलफलमा विद्यार्थीहरूको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यसलाई अत्यन्त संवेदनशील रूपमा लिनुपर्ने भन्दै कार्यवाहक प्रमुख डंगोलले महानगरको शिक्षा विभागलाई आवश्यक अनुगमन तथा नियन्त्रणका उपाय तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभयो।
महानगरले विद्यालय प्रशासन, यातायात व्यवसायी तथा चालकहरूलाई विद्यार्थी सुरक्षाप्रति जिम्मेवार बन्न आग्रह गर्दै विद्यालय सवारी साधनमा नियमित स्वास्थ्य तथा मापसे परीक्षणको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
विद्यालय बस चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा विद्यार्थीको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्बन्धित निकायहरूले थप कडाइका साथ अनुगमन गर्ने जनाइएको छ।