Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपालको पुनर्जागरण : पौराणिक आदर्श र आधुनिक राजनीतिको संगम

नेपालको पुनर्जागरण : पौराणिक आदर्श र आधुनिक राजनीतिको संगम

  • 274
    SHARES

  • नेपालको पुनर्जागरण : पौराणिक आदर्श र आधुनिक राजनीतिको संगम

    काठमाडौँ । नेपाल एकातिर प्रकृतिले सिंगारिएको राष्ट्र हो भने अकीतर्फ अथाह प्राकृतिक स्रोत, जलस्रोत र ऊर्जावान् जनशक्ति हुँदाहुँदै पनि समृद्धिको मार्गमा सधैं ओझेलमा परेको देश बनेको छ। इतिहासलाई फर्किएर हेर्दा, नेपाल पछाडि पर्नुको मूल कारण स्रोतको अभाव नभई नेतृत्वभित्रको चरम अहङ्कार र सत्तास्वार्थ नै देखिन्छ । राष्ट्रवादी भनिएका राजा महेन्द्र हुन् वा विपी कोइरालाको १५ वर्षभित्र नेपाली समाजलाई मध्यमवगीय स्तरमा र्पुयाउने त्यो दूरगामी सोचलाई कुल्चिने पञ्चायती महत्त्वाकाङ्क्षा-नेपालको इतिहासले सधैं 'व्यक्ति' लाई 'राष्ट्र' भन्दा माथि राखेको छ ।

    २०४६ सालको प्रजातन्त्र पुनर्वहालीपश्चात पनि सुधारका अनेक अवसर नआएका होइनन् । तर, राजनीतिक अन्तर्घात र २०५६ को बहुमतलाई सत्ताकै लागि भत्काउने खेलले देशलाई अस्थिरताको चक्रव्यूहमा फसायो । २०६३ को परिवर्तनपछि पनि पात्रहरू फेरिए तर प्रवृत्ति उस्तै रह्यो । व्यक्तिगत स्वार्थका लागि के महेन्द्र, के गिरिजा, के प्रचण्ड वा ओली सत्ताको सहयात्रा गरुन्जेल सबै महान् र स्वार्थ बाझिएपछि 'विदेशी दलाल' देख्ने उही पुरानो खेल दोहोरिरह्यो । भ्रष्टाचार र कुशासन यति संस्थागत भयो कि, गत भाद्र २३ र २४ गतेको विद्रोहले त्यसकै विकृत रूप प्रस्तुत गंयो। ती घटनाले केवल भ्रष्टाचारको विरोध गरेनन्, बरु राष्ट्रको जगमै प्रहार गरे, जसले नेपाललाई विकासको दौडमा फेरि दशकौं पछाडि धकेलिदिएको छ ।

    पौराणिक न्याय र समर्पणको आधार

    भारतको पौराणिक इतिहासमा हस्तिनापुरका राजा भरत न्यायका पर्याय मानिन्छन् । उनले राजा हुनुको अर्थ दरबारको सुख भोग मात्र होइन, बरु नागरिकको घरदैलोमा पुगेर उनीहरूको रक्षा गर्नु हो भन्ने मान्यता राखे । उनले आफ्‌ना नौ जना छोराहरूलाई उत्तराधिकारी बनाउनुको साटो राष्ट्रहितका लागि 'भुमन्यू' लाई राजकुमार घोषणा गरेर योग्यताको कदर गर्ने प्रणालीको सुरुवात गरेका थिए। त्यसैले वर्तमान दृष्टिले नियाल्दा उनीभन्दा माथिका प्रजातान्त्रान्त्रीक व्यक्ति कोहुन सक्ला र ? नेपालको वर्तमान राजनीतिमा जबसम्म नेतृत्वले आफूलाई 'शासक' होइन, नागरिकको 'रक्षक' वा 'सेवक' महसुस गर्दैन र परिवारवादको मोह त्याग गर्दैन, तबसम्म वास्तविक परिवर्तन असम्भव छ ।

    विश्व राजनीति र समाजमा सुदामाको भक्ति र उनकी पत्नी वसुन्धराको विचार लागू हुने हो भने मानव समाज नै द्वन्द्वमुक्त हुने देखिन्छ । अभावमा पनि सत्य नछोड्ने र लोभमा नफस्ने सुदामाको व्यक्तित्वले इमानदारीको कसी प्रस्तुत गर्छ। आजको भ्रष्टाचारग्रस्त राजनीतिमा सुदामाको जस्तो सन्तोष र सत्यवादिता भएको पात्रले मात्र देशको ढुकुटी जोगाउन सक्छ। आफ्‌नो कुटिया दरबारमा परिणत हुँदा स्वयं दण्ड दिने राजा प्रस्तुत हुँदै श्रीपेच लगाइदिदा त्यसको मोहमा नपरी राजालाई नै पहिराइदिनाले पनि विचलित नहुने सुदामाको चरित्र आजका विलासी नेताहरूका लागि ठूलो पाठ हुन सक्छ ।

    राष्ट्रियता र आर्थिक स्वावलम्बनको जग

    नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहको सामरिक सोचको जगमा बिसे नगची जस्ता सामान्य नागरिकको आर्थिक योगदान र सल्लाहको ठूलो हात थियो। बिसे नगचीले दिएको 'एक रुपैयाँ' केवल एउटा सिक्का थिएन, त्यो राष्ट्र निर्माणमा नागरिकको सानो सहयोगले पनि ठूलो कार्य गर्न सकिन्छ भन्ने प्रमाण थियो। यसले नागरिकमा राष्ट्रप्रतिको लगानी र जिम्मेवारीको बोध गराउँछ । तर, आज बन्द कोठामा बसेर सेना र प्रहरीको घेराभित्र रम्नेहरू न राष्ट्रवादी हुन सक्छन् न नागरिकका प्रिय । सत्ताको प्यान्डोरा बक्स खुल्दा निस्कने मानसिक र भौतिक ग्लानिबाट बच्न नेतृत्वले बिसे नगचीको त्यो 'अहिंसावादी आन्दोलन'को मर्म बुझ्‌नुपर्छ र कार्यान्वयन गनएसक्नुपर्छ ।

    महात्मा गान्धीको अहिंसा र त्यागको सन्देश बुझ्न नसक्दा नेपालले दशकौंसम्म हत्या र हिंसाको व्यर्थ मार खेप्नुर्पयो । काल्पनिक साम्यवादको सपना देखाएर गरिएको हिंसाले नेपालको समृद्धिलाई तीन दशक पछाडि धकेलिदियो। बुद्धको देशमा भएका नरसंहारहरूले नेपाली सभ्यताकै उपहास गरे। २१औं शताब्दीको सचेत युवा आन्दोलन किन हिंसामा परिणत हुन्छ ? यसको पछाडि को थियो ? विशुद्ध नेपालीले खरानीका लागि सिंहदरबार जलाउने साहस गर्दैनथ्यो। राज्य र आन्दोलनकारी दुवै पक्षबाट भएका दमन र दहन क्षम्य हुन सक्दैनन् । एकलाई मारे अपराधी, सयौं मारे नेता भन्ने भाष्य निर्माण हुनु सुशासनका लागि घातक छ ।

    त्याग, शान्ति र मोहको अन्त्य

    मानव जातिका सबैभन्दा ठूला सतकर्म काम, क्रोध, लोभ, मोह, अहङ्कार र ईष्याबाट टाढा हुनु हो । यिनैलाई त्यागेर सिद्धार्थ गौतम 'बुद्ध' बन्न सफल भएका थिए। नेपालको राजनीतिमा 'विधिको शासन' स्थापना गर्न नेताहरूले यो बुद्धत्व प्राप्त सोच अपनाउनु जरुरी छ। अरूले दिएको दान वा विदेशी सहायतामा मात्र भर पर्ने प्रवृत्तिभन्दा दिएर जिउनु उत्तम भन्ने आत्मनिर्भर सोचले मात्र देश बनाउन सक्छ ।

    राजनीतिमा त्यागको कुरा गर्दा कृष्णप्रसाद भट्टराई (किसुनजी) र गणेशमान सिंहको नाम श्रद्धाका साथ लिइन्छ । सत्ताको सवीच्च कुसीमा पुगेर पनि रित्तो हात फर्किन सक्ने र सम्पन्न हुँदाहुँदै पनि नेपाली जनाताको लड्ने गणेशमान जस्ता त्यागी नेता नै आजको आवश्यकता हो। उनीहरूले राजनीतिलाई सेवा ठाने, पेशा होइन । त्यस्तै जङ्गबहादुर राणाको समाज व्यवस्थित गर्ने प्रयास होस वा विपी कोइरालाको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति होस वा छरिएको गलत विचारलाई अन्त गर्न पुरस्कार स्वरुप वृध्द भत्ताको सुरुवात गर्ने मनमोहन अधिकारी किन नहुन राजनीतिमा यीनीहरुको पस्काइले कसरी नेपालको भू-राजनीतिक संवेदनशीलता र गलत विचार कसरी हटाउने भन्ने सन्देश उजागार गर्छन् । त्यस्तै, नेल्सन मन्डेलाको क्षमाशीलता र अब्राहम लिंकनको लोकतान्त्रिक संस्कारले हाम्रा नेताहरूलाई उदार बन्न प्रेरित गर्नुपर्छ ।

    बौद्धिक चिन्तन र प्रशासनिक सुधार

    नेतृत्वले केवल भाषण गर्ने होइन, भविष्यको पुस्तालाई कस्तो संस्कार दिने भन्नेमा चिन्तित हुनुपर्छ । सुकरातले जस्तै सत्यको लागि आफ्‌नो जीवन आहुति दिन तयार हुने सोचको बीजारोपण आजको शैक्षिक र राजनीतिक प्रणालीमा आवश्यक छ। ज्ञान प्राप्त गर्नु मात्र ठूलो होइन, त्यसको सही सदुपयोग गर्नु महत्त्वपूर्ण हो। रावण जस्तो ज्ञानी र शक्तिशाली पुरुषको पतन उसको अहङ्कारले भएको थियो भन्ने तथ्य वर्तमान नेतृत्वले समयमै बुझ्‌नुपर्छ। हनुमानको जस्तो 'अष्टसिद्धि' प्राप्त सेवाभाव र निस्वार्थ शक्तिले मात्र असम्भव कार्यलाई सम्भव तुल्याउन सक्छ ।

    निष्कर्ष

    नेपालको विकास कुनै जादुको छडीले हुने होइन। यसका लागि भरतको जस्तो न्याय, सुदामाको जस्तो सत्य, पृथ्वीनारायणको सामरिक एकता, बुद्धको त्याग, विपी र किसुनजीको निष्ठा, मनमोहन अधिकारीको सादगी, मदन भण्डारीको वाक्पटुता अनि हनुमानको जस्तो निस्वार्थ सेवाभाव आवश्यक छ ।नेपाललाई विश्व मानचित्रमा गौरवशाली राष्ट्रका रूपमा उभ्याउन अब पात्र होइन, प्रवृत्ति बदल्नुपर्छ । वाद होइन सोच बदल्नुपर्छ । हाम्रै इतिहास र पौराणिक आदर्शहरूलाई आधुनिक विकासको खाकामा ढाल्न सक्ने 'महामानव' को खोजी आजको समयको माग हो। जबसम्म हाम्रा नेताहरूमा उल्लेखित गुणहरूको अंश देखिँदैन, तबसम्म भौतिक विकासले मात्र नागरिकको आत्मा सन्तुष्ट हुने छैन । नेपालको संविधान गणतन्त्रीय भनिएता पनि देख्दा गणतन्त्रीय चरित्र दरवारकै हुनु एक राष्ट्रपति पदबाट बाहिर निस्कदा नेपाली नागरिक सरह जिउन नसक्नु नै हो। संविधानमा लेखिएको निशुल्क शिक्षा संविधान जारी भएके एक दशक पार गर्दा नागरिकले त्यसको उपयोग गर्न नपाउनु राजनैतिक पराकाष्ठको उदाहरण हो। त्यसैले यी महान् व्यक्तित्वहरूको सोच कार्यान्वयनले नै नेपाल समृद्ध, सभ्य र अटल रहिरहनेछ ।

    चन्द्रकान्त पण्डित

    मावि शिक्षक तथा कक्षा १० को अंग्रजी पुस्तक पूर्व लेखक पाठ्यक्रम तथा पाठ्यविकास केन्द्र

    सिद्धिगणेश मावि, पकनाजोल, काठमाडौँ।

    images
    मंगलवार, आषाढ २ २०८३०९:३३:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार