Jul 27 2026 | २०८३, श्रावण ११ गते

सफलताको मार्ग: दृढ इच्छाशक्ति र निरन्तर कर्मको महायात्रा

सफलताको मार्ग: दृढ इच्छाशक्ति र निरन्तर कर्मको महायात्रा

  • 287
    SHARES

  • सफलताको मार्ग: दृढ इच्छाशक्ति र निरन्तर कर्मको महायात्रा

    काठमाडौँ । गरे असम्भव यस धरतीमा जन्म दिने आमा र बाबु बाहेक अरु सबैको प्राप्त हुन्छ नै। तर पनि विद्यालयमा गए शिक्षकले काम नलाग्ने विद्यार्थी पढ्न सक्दैन,लेख्न जाँदैन भन्दिने घरमा बाबुआमाले पनि त्यसरी गलत धारणा राखिदिने हो भने त्यस्ता बालबालिकाका निरासाको कारण उनीहरुको जीवन अन्योलमा हुनेछ।  

    तर तीनै बालबालिकालाई तिमीले नगरे कस्ले गर्छ, तिमीले नसके कस्ले सक्छ भन्दै उत्प्रेरणा दिन थाल्ने हो र उनीहरुमा आशाको दियो सल्काइदिन सक्ने हो भने उनीहरु अब्दुल कलामले भने झै महान सपना बुन्ने छन्। त्यो सपना उनीहरुको आत्मबलले त्यो प्राप्त गर्न सकिन्छ। त्यसैले सबैले बुझ्नुपर्छ: हरेक मानिस भित्र एउटा अद्भूत र असीमित क्षमता लुकेको हुन्छ। तर, कहिलेकाहीँ विद्यालयको परीक्षामा आउने कम अङ्क,वरपरको वातावरण वा असफलताको डरले विद्यार्थीहरूमा आत्मविश्वास कमजोर बनाइदिन्छ। "म त कमजोर छु, मैले केही गर्न सक्दिनँ" भन्ने हिनताबोधले कतिपयको प्रतिभालाई भित्रभित्रै अन्त गरिरहेका हुन्छन्। तर इतिहास साक्षी छ—संसारमा जन्मदै कोही पनि महान् वा सफल भएको हुँदैन। आज संसारले आदर गर्ने र प्रेरणाको स्रोत मान्ने विश्वका महान् व्यक्तिहरू कुनै समय परिस्थितिको चरम अभाव, असफलता र गरिबीको भुमरीमा जकडिएका थिए। तिनीहरूको जीवन कथाले के प्रमाणित गर्छ भने, वर्तमानको कमजोरी वा असफलता स्थायी होइन; केवल आत्मविश्वास, दृढ इच्छाशक्ति र निरन्तरको कर्मले जोकोहीले पनि आफ्नो भाग्य आफैं कोर्न सक्छ भन्ने दृष्णान्त पौराणिक देखि वर्तमानमा पनि देख्न सकिन्छ। 

    त्यस्तै पात्रहरु मध्येको एक पात्र झमक घिमिरे हुन । जसले विद्यालय देख्न पाइनन्, न शारीरिक रुपमा नै पूर्ण थिइन आफ्नै प्रयासले अक्षर चिन्न सकिन र आजको दिनसम्म आइपुग्दा मदन पुरस्कार विजेताको नाममा परिचित भैसकेकी छन्। त्यस्तै गरी मानसिक अपाङ्गता भनिएको क्रिस्टी ब्राउन ले पनि आमाको आत्मबल र सहायताको कारण विश्वविख्यात साहित्यकारमा नाम लेखाउन सफल भएको दृष्टान्त छ।अभावबाट शिखरको यात्रा: केही उत्प्रेरक दृष्टान्तहरू जब हामी इतिहास पल्टाएर हेर्छौं, संसारलाई बदल्ने मानिसहरूले भोगेका चुनौतीहरू सुन्दा आज हाम्रा साना-तिना समस्याहरू फिका हुन थाल्छन्।  

    अब्राहम लिङ्कन: अमेरिकाका यी महान् राष्ट्रपति कुनै समय वनमा दाउरा चिर्ने र ज्यालादारी मजदुरी गर्ने सामान्य युवक थिए, जसले जीवनमा अनगिन्ती चुनावहरू हारे, व्यवसायमा असफल भए, तर उनले कहिल्यै हिम्मत हारेनन् । उनको दृढताले उनलाई विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्रको सर्वोच्च पदमा पुर्‍यायो। 

    अल्बर्ट आइन्स्टाइन: बाल्यकालमा ढिलो बोल्ने र विद्यालयमा 'मन्दबुद्धि' भनी शिक्षकहरूद्वारा उपेक्षित गरिएका आइन्स्टाइन पछि एक साधारण पेटेन्ट कार्यालयको क्लर्क (कर्मचारी) अनि उनको उनको निरन्तरको जिज्ञासा र सोचले उनलाई संसारकै सबैभन्दा महान् वैज्ञानिक बनायो।  

    थॉमस एल्भा एडिसन: प्राथमिक विद्यालयबाट "पढ्न नसक्ने" भन्दै निकालिएका र सडकमा पत्रिका बेचेर हिँड्ने केटाले आफ्नो जीवनकालमा हजारौं आविष्कार गरे। अनि बिजुलीको चिम बनाउने क्रममा हजार पटक असफल हुँदा पनि उनले हार मानेनन्। उनको भनाइ थियो—"म असफल भएको होइन, मैले त बिजुली नबन्ने १०,००० तरिकाहरू पत्ता लगाएँ।"  

    नेल्सन मन्डेला: आफ्नो देश र जनताको स्वतन्त्रताका लागि जीवनको अमूल्य २७ वर्ष जेलको चिसो कोठामा कैदीका रूपमा बिताएका मन्डेला पछि दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति बनेका थिए। उनको धैर्य र निष्ठाले उनलाई विश्वकै पूजनीय नेतामा स्थापित भएका छन्। यी प्रतिनिधि पात्रहरू मात्र हुन्। चाहे ग्यारेजबाट एप्पल कम्पनी सुरु गर्ने स्टिभ जब्स हुन्, दर्जनौं जागिरमा अस्वीकृत भएर पनि हार नमानी अलिबाबा जस्तो साम्राज्य खडा गर्ने ज्याक मा हुन्, वा रेडियोले आवाज राम्रो भएन भनेर जागिर नदिएका तर पछि शताब्दीकै महानायक बनेका अमिताभ बच्चन हुन्—सबैको पृष्ठभूमि साधारण वा कमजोर नै थिए तर उनीहरुको निरन्तर प्रयासले सफलताको शिखर चुम्न सफल बने। कमजोरी: सफलताको बाधक होइन, सुरुवात हो 

    कुनै विषयमा कमजोर हुनु, परीक्षामा कम अङ्क आउनु वा कुराहरू ढिलो बुझ्नु कुनै अपराध वा स्थायी कमजोरी होइन। विद्यालयको परीक्षाको पानामा कोरिने अङ्कले कसैको पनि सिङ्गो जीवन र भविष्यको फैसला गरेको हुन सक्दैन।  

    "सफलता भनेको कहिल्यै नलड्नु होइन, बरु प्रत्येक पटक लडेपछि पुनः उठेर अगाडि बढ्नु हो।" कमजोर विद्यार्थी भनिनेहरूमा प्रायः एउटा विशेष क्षमता लुकेको हुन्छ, जसलाई चिन्न र उजागर गर्न मात्र बाँकी हुन्छ। जब एक विद्यार्थीले अरूको कुरा सुनेर आफूलाई कमजोर मान्न छोड्छ र "मैले पनि सक्छु" भन्ने आत्मविश्वास जागृत गर्छ, तब उसको वास्तविक सिकाइ सुरु हुन्छ। गल्ती र असफलता त सिकाइका अभिन्न पाटा बनिसकेका हुन्न् । जसले गल्ती नै गर्दैन, उसले नयाँ कुरा सिक्नै सक्दैन।  

    असल, कर्मशील र सफल नागरिक बन्ने आधारहरू विद्यार्थी जीवन भनेको भविष्यको सुन्दर जग बसाल्ने समय नै हो। एक सफल र असल नागरिक बन्नका लागि केही महत्त्वपूर्ण कुराहरूमा ध्यान दिनु आवश्यक छ:  

    १. आत्मविश्वास र सकारात्मक सोच: सबैभन्दा पहिले आफूमाथि विश्वास गर्न सिक्नुपर्छ। अरूसँग आफ्नो तुलना गर्न बन्द गर्नुपर्छ। हरेक मानिस अद्वितीय छ र।आफैमा लुप्त रुपमा रहेको दैवीय शक्ति उजागर गर्दै अगाडि बढ्नुपर्छ।  

    २. निरन्तर अभ्यास र लगनशीलता: प्रतिभाभन्दा ठूलो कुरा परिश्रम हो। अल्बर्ट आइन्स्टाइनले भनेका थिए, "म अरूभन्दा धेरै प्रतिभाशाली होइन, म त समस्याहरूसँग अरूभन्दा धेरै समयसम्म जुधिरहन्छु।" निरन्तरको अभ्यासले कठिनभन्दा कठिन विषयलाई पनि सहज बनाउँछ भन्ने सन्देश गोरखाका राजा पृथ्वीनारायण शाहले गुह्य किराले बारम्बार तल खसेको गोबरको डल्लो अन्तिममा गन्तव्यमा पुर्याएकोले उनले पनि नेपाल एकिकरण गरेरै छाडे। 

    ३. श्रम र कर्मप्रति सम्मान: सानो काम वा ठूलो काम भन्ने हुँदैन। स्टिभ जब्सले ग्यारेजमा र निकोलो टेस्लाले मजदुरी गरेरै आफ्नो यात्रा सुरु गरेका थिए। आफ्नो कर्तव्यप्रति बफादार हुनु र मेहेनत गर्न नडराउनु नै कर्मशीलता हो भन्ने सन्देश उनी मानव सभ्यताको उच्च शिखरमा नाम टिपाउन सफल बने। 

    ४. चरित्र र नैतिकता: केवल आर्थिक रूपमा धनी हुनु वा ठूलो पद पाउनु मात्र सफलता होइन। समाज र राष्ट्रप्रति जिम्मेवार हुनु, अरूलाई आदर गर्नु र नैतिक मूल्य मान्यतामा अडिग रहनु नै असल नागरिकको पहिचान हो। 

    दृढ सङ्कल्पको शक्ति  

    प्रत्येक नागरिकले बुझ्नुपर्छ : आज उ कहाँ छ, त्यसले कुनै फरक पार्दैन; भोलि उ कहाँ पुग्न चाहन्छ र त्यसका लागि आज कति मेहेनत गरिरहेको छ, त्यसले मात्र फरक पार्छ। कमजोर आर्थिक अवस्था, शारीरिक वा मानसिक चुनौती, अथवा पढाइमा ढिलासुस्ती जस्ता कुराहरू अस्थायी अवरोध मात्र हुन्। 

    ह्यारी पोर्टरकी लेखिका जे.के. रोलिङ एक समय चरम गरिबी र मानसिक तनावमा थिइन्, तर उनको लेखनप्रतिको भोकले उनलाई विश्वकै चर्चित लेखिका बनायो भने बिल गेट्स ले कलेज छोडे तर आफ्नो लक्ष्यप्रतिको स्पष्टताका कारण माइक्रोसफ्ट जस्तो क्रान्तिकारी प्रविधि संस्था स्थापना गरे। यी सबै उदाहरणले एउटै कुरा सिकाउँछन्—परिस्थिति जस्तोसुकै होस्, यदि मनमा दृढ सङ्कल्प छ भने सफलता निश्चित छ।  

    निष्कर्ष  

    त्यसैले कुनै पनि विद्यार्थीले आफ्नो क्षमतालाई पहिचान गरी विगतमा भए गरेका कमजोरीलाई सच्चाइ अगाडि बढेमा सफलताले उसलाई पछ्याउने छ। आजैबाट एउटा नयाँ सङ्कल्पका साथ जो अगाडि बढ्छ प्राप्ति पनि उसैले गर्छ। प्रत्येक विद्यार्थीले आफ्नो क्षमताको पहिचान गरी निरन्तर रुपमा कर्मको मार्गमा अल्छीपनलाई त्यागेर कर्मशील बन्दै अगाडि बढ्दै गएमा जे सोचे त्यही प्राप्ति हुने छ। 

    चन्द्रकान्त पण्डित 

    सिद्धिगणेश मावि पकनाजोल काठमाडौं नेपाल

    images
    बिहिवार, आषाढ ४ २०८३०६:०९:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार