शुक्रवार, आषाढ १९ २०८३
काठमाडौं, १९ असार। सरकारले देशका सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ। कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले सिफारिस समितिको सुझावका आधारमा शुक्रबार उपकुलपतिहरू नियुक्त गरेका हुन्।
नियुक्त भएका उपकुलपतिहरूमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा रहेका छन्।
सरकारले यसपटक उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धामार्फत गरेको जनाएको छ। उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले योग्य उम्मेदवारहरूको नाम सिफारिस गरेको थियो। उक्त समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले सातै विश्वविद्यालयका उपकुलपतिहरूलाई नियुक्त गरेका हुन्।
नयाँ नेतृत्वसँगै विश्वविद्यालयहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि, सुशासन, अनुसन्धान तथा परीक्षा प्रणाली सुधारमा थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ।