Jul 27 2026 | २०८३, श्रावण ११ गते

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ३१४ विद्यार्थीलाई प्याब्सन काठमाडौंद्वारा सम्मान

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ३१४ विद्यार्थीलाई प्याब्सन काठमाडौंद्वारा सम्मान

  • 166
    SHARES

  • एसईईमा उत्कृष्ट नतिजा ल्याउने ३१४ विद्यार्थीलाई प्याब्सन काठमाडौंद्वारा सम्मान

    काठमाडौं, असार २१। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ।

    IMG-20260705-WA0131.jpg

    काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आइतबार आयोजित ‘एसईई २०८२ सम्मान कार्यक्रम–२०८३’ मा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

    कार्यक्रममा प्याब्सन केन्द्रीय वरिष्ठ सल्लाहकार तथा पूर्व अध्यक्षहरू भोजबहादुर शाह, सहअध्यक्ष गोपालप्रसाद आचार्य, प्याब्सन बागमती प्रदेशका अध्यक्ष मुरारी प्रकाश संजेल लगाएत प्रदेशका पदाधिकारी  तथा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    IMG-20260705-WA0208.jpg

    सम्मान कार्यक्रममा काठमाडौं जिल्ला अन्तर्गतका प्याब्सन आबद्ध विद्यालयबाट ४.०० जीपीए प्राप्त गरेका ३१४ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। त्यस्तै, विद्यार्थी सहभागिताका आधारमा वर्गीकरण गरिएका समूहबाट औसत उच्चतम जीपीए हासिल गर्ने विद्यालय, उत्कृष्ट विषयगत शिक्षक तथा एसईईमा सहभागी सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयहरूलाई समेत सम्मान प्रदान गरिएको थियो।

    यस अवसरमा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष भोजबहादुर शाह तथा काठमाडौं जिल्ला प्याब्सनको परीक्षा विभागमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई ‘प्याब्सन विशेष सम्मान’ प्रदान गरिएको थियो।

    IMG-20260705-WA0316.jpg

    कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले सम्मान कार्यक्रमले विद्यार्थी, शिक्षक र विद्यालयलाई थप उत्कृष्ट कार्य गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले सम्मानले विद्यार्थीमा अध्ययनप्रतिको उत्साह बढाउने, शिक्षकमा पेशाप्रतिको समर्पणलाई अझ बलियो बनाउने तथा विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्ने बताउनुभयो।

    IMG-20260705-WA0231.jpg

    उहाँले प्याब्सनले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षाको प्रवर्द्धन, शिक्षक तालिम, आधुनिक शिक्षण पद्धतिको विकास, प्रविधिमैत्री शिक्षण, अतिरिक्त क्रियाकलाप सञ्चालन तथा शिक्षा नीतिमा रचनात्मक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। काठमाडौं जिल्लामा मात्रै प्याब्सनका करिब ६५० सदस्य विद्यालय रहेको जानकारी दिँदै उहाँले यस वर्ष पनि वार्षिक कार्ययोजनाअनुसार विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन भइरहेको बताउनुभयो।

    IMG-20260705-WA0362.jpg

    अध्यक्ष भट्टले हाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्ताव गरेको ३ प्रतिशत शिक्षा समता कर प्रति असन्तुष्टि जनाउँदै यसले निजी विद्यालयमाथि थप आर्थिक भार सिर्जना गर्ने धारणा राख्नुभयो। निजी विद्यालयहरूले देशको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै उहाँले यस्तो व्यवस्था पुनर्विचार गर्न सरकारसँग आग्रह गर्नुभयो।

    उहाँका अनुसार आर्थिक सर्वेक्षण २०८२/८३ ले विद्यालय शिक्षामा निजी क्षेत्रको महत्वपूर्ण योगदान देखाएको छ। निजी विद्यालयहरूले लाखौं विद्यार्थीलाई शिक्षा प्रदान गर्नुका साथै ठूलो लगानी, रोजगारी सिर्जना र राज्यको आर्थिक भार कम गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै शिक्षा क्षेत्रप्रति नकारात्मक दृष्टिकोण राख्नु उपयुक्त नहुने उहाँको भनाइ थियो।

    IMG-20260705-WA0379.jpg

    भट्टले निर्माणाधीन शिक्षा ऐन राज्य, विद्यार्थी र अभिभावकमैत्री हुनुपर्नेमा जोड दिँदै निजी क्षेत्रको लगानी, नवप्रवर्तन र प्रतिस्पर्धात्मक वातावरणलाई प्रोत्साहन गर्ने कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो। गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनमा निजी विद्यालयको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो।

    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सम्मानित विद्यार्थी, शिक्षक तथा विद्यालयलाई बधाई दिँदै शिक्षा क्षेत्रमा निजी क्षेत्रले पुर्‍याएको योगदानलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

    IMG-20260705-WA0514.jpg

    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निजि क्षेत्रले उठाईरहेको ३ प्रतिशत शिक्षा समता कर बारे आफ्नो ध्यानाकर्षण भएको र त्यो  गलत भएको भन्दै त्यदको देशव्यापी बिरोध भईरहेको साथै आफुले समेत राष्ट्रिय सभामा जवाफ दिन आदेश दिइसकेको बताउनुभयो।  अध्यक्ष दाहलले निजी क्षेत्रले विद्यालय शिक्षाको विस्तार, गुणस्तर अभिवृद्धि, रोजगारी सिर्जना तथा राज्यको शैक्षिक दायित्व कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै त्यस्ता संस्थालाई निरुत्साहित गर्नेभन्दा थप प्रोत्साहन गर्ने नीति आवश्यक रहेको धारणा राख्नुभयो।

    उहाँले शिक्षा क्षेत्रमा लगानी गर्ने संस्थालाई करको थप भार थोपर्नुभन्दा उनीहरूको योगदानलाई सम्मान गर्दै शिक्षा प्रणालीलाई थप सुदृढ बनाउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो। निजी र सामुदायिक दुवै क्षेत्रको सहकार्यबाट मात्रै मुलुकको शिक्षा प्रणालीलाई गुणस्तरीय, प्रतिस्पर्धी र विश्वस्तरीय बनाउन सकिने उहाँको भनाइ थियो।

    उहाँले शिक्षा क्षेत्रसँग सम्बन्धित नीति तथा कानुन निर्माण गर्दा सबै सरोकारवालासँग पर्याप्त परामर्श गरी विद्यार्थी, अभिभावक, शिक्षक र शैक्षिक संस्थाको हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्नेमा जोड दिनुभयो। साथै, शिक्षा क्षेत्रमा देखिएका समस्याको समाधान संवाद र सहकार्यबाट खोजिनुपर्ने उल्लेख गर्दै गुणस्तरीय शिक्षा विस्तारमा निजी क्षेत्रको भूमिकालाई राज्यले सकारात्मक रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

    IMG-20260705-WA0251.jpg

    अध्यक्ष दाहलले उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरू राष्ट्रका भविष्य भएकाले उनीहरूको प्रतिभालाई थप प्रोत्साहन गर्नुपर्ने बताउनुभयो।

    कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष तथा प्रमुख सल्लाहकारका रूपमा सम्मानित भोजबहादुर शाहले सम्मानप्रति आभार व्यक्त गर्दै निजी विद्यालयहरूले नेपालको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानलाई राज्यले अझ सकारात्मक रूपमा मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो।

    IMG-20260705-WA0180.jpg

    उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न निजी विद्यालयहरूले गरेको लगानी, समर्पण र निरन्तरको प्रयासका कारण लाखौं विद्यार्थीले अवसर प्राप्त गरेको उल्लेख गर्दै शिक्षा क्षेत्रको विकासका लागि निजी र सार्वजनिक दुवै क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

    IMG-20260705-WA0220.jpg

    पञ्चेबाजासहित सांस्कृतिक प्रस्तुति, स्वागत नृत्य तथा सम्मान वितरण गरिएको कार्यक्रममा काठमाडौं जिल्लाका सदस्य विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो।

    IMG-20260705-WA0168.jpg

    images
    सोमवार, आषाढ २२ २०८३०९:४५:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार