बुधवार, श्रावण ६ २०७८
काठमाडौं/ ६ साउन- काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को शुल्क निर्धारण गर्ने भएको छ । राज्यले माध्यमिक तह सम्मको शिक्षाको जिम्मेवारी स्थानिय तहलाई दिइएको कारण महानगरपालिकाले शुल्क निर्धारण गर्ने भएको हो ।
कक्षा ११ र १२ अध्यायनका लागि निजि विद्यालयहरुले विभिन्न वाहानामा निकै चर्को शुल्क असुल्ने गरेको र आफ्नै तरीकाले सञ्चालन गरेको कारण यसलाई व्यावस्थापन गर्नका लगि शुल्क सिमा तोक्न अनिवार्य भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
आगामि शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना गर्दाको समयमा नै कक्षा ११ र १२ मा विद्यार्थीसँग लिइने कुल रकम तोक्न सबै विद्यालयलाई निर्देशन दिएको छ । साथै माध्यामिक विद्यालय तथा कलेजहरुले कक्षा ११ र १२ मा विद्यार्थीहरुलाई दिइने सेवा र विद्यार्थीहरुबाट लिइने शुल्क के कति हो खुलाएर साउन १५ भित्र महानगरपालिकाको शिक्षा विभागमा पेश गर्न निर्देशन दिएको छ।
विद्यार्थीसँग रजिष्ट्रेशन दस्तुर, परिक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्रै लिनुपर्ने , विद्यार्थीलाई किताब डेस्क र अन्य शैक्षिक सामाग्री विद्यालयले भनेकै स्थानमा खरिद गर्न बाध्य नगर्ने सूचनामा उल्लेख छ ।
केहि माध्यामिक विद्यालय तथा कलेजहरुले एसईईको नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना लिन थालेको गुनासो आए पछि नतिजा प्रकाशन नहुँदै भर्ना नलिन,विद्यार्थीबाट रकम नउठाउन र शुल्क प्रस्ताव खुलाएर पठाउन सबै माध्यामिक विद्यालय,कलेजलाई भनिएको महानगरपालिका शिक्षा प्रमुख रामप्रसाद सुवेदीले बताउनु भयो ।
कक्षा ११ मा विद्यार्थी भर्नाकालागि सस्तो शुल्क देखाउने र कक्षा १२ मा गएपछि चार्को शुल्क असुल्ने ,पहिलै शुल्क तय नगर्ने, विभिन्न बाहानामा बढी शुल्क लिने जस्ता विकृति रहेकोले यसलाई नियमन गर्ने प्रकृयामा जानुपरेको सुवेदीले बताउनु भयो । अब विद्यालयहरुले कक्षा ११ मा भर्ना गर्दाको समयमा नै कक्षा ११ र १२ मा विद्यार्थीसँग लिइने कुल रकम तोक्नु पर्ने छ ।
सुवेदिका अनुसार साउन १५ भित्र विद्यालयले शुल्क प्रस्ताव पठाएपछि विद्यालय अनुगमन गरिने,विद्यालयले लिएको शुल्क बराबर विद्यार्थीले के कति सुविधा प्राप्त गरेका छन् हेरिने, त्यो शुल्क लिन आवश्यक छ कि छैन वा सेवा सुविधा अनावश्यक दिएर चर्को शुल्क असुलेको हो कि होइन जस्ता कुराको अनुगमन गरीने बताउनु भयो ।