मंगलवार, आषाढ ३० २०८३
काठमाडौं । काठमाडौंको बौद्धस्थित खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीमाथि कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले औपचारिक चासो जनाएको छ।
विद्यालयकी शिक्षिका सोना रानाले कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग मन्त्रालयमा छलफल गरेका हुन्। मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टै भेटघाट गरी घटनाबारे जानकारी लिएका थिए।
भेटका क्रममा मन्त्री पोखरेलले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदमा निरन्तर अघि बढ्न प्रोत्साहन गरेका थिए। उनले आवश्यक परे घटनामा कानुनी प्रक्रिया अघि बढाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वाससमेत दिलाए।
मन्त्री पोखरेलले विद्यार्थीको मनोवैज्ञानिक अवस्थालाई ध्यानमा राख्दै विद्यालयले घटनामा संलग्न शिक्षिकाप्रति आवश्यक कारबाही र सचेतना अपनाउनुपर्नेमा जोड दिए। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन शिक्षकहरूलाई बालमैत्री शिक्षण, बालअधिकार र सकारात्मक अनुशासनसम्बन्धी आवश्यक तालिमको व्यवस्था गर्न विद्यालयलाई आग्रह गरे।
मन्त्रालयका अनुसार घटना करिब एक वर्षअघिको भए पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यस्ता विकृति दोहोरिन नदिन आवश्यक पहलस्वरूप विद्यालय र पीडित पक्षसँग समन्वय गरिएको हो। खावालिङ विद्यालयका प्रधानाध्यापक सुनिल रानाका अनुसार घटनामा संलग्न शिक्षिका सोना रानालाई गत जेठमै विद्यालयबाट निस्कासन गरिसकिएको छ।
शिक्षा मन्त्रालयले विद्यालयहरूमा विद्यार्थीमाथि हुने कुनै पनि प्रकारका शारीरिक वा मानसिक दुर्व्यवहार अस्वीकार्य रहेको स्पष्ट गर्दै बालमैत्री र सुरक्षित सिकाइ वातावरण सुनिश्चित गर्न सबै शैक्षिक संस्थालाई सचेत रहन आग्रह गरेको छ।