शनिवार, श्रावण २ २०८३
काठमाडौं। एभरेस्ट इनोभेटिभ स्कुल/कलेजले शैक्षिक सत्र २०८३ का कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बिदाइ गर्दै शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा भव्य समारोह आयोजना गरेको छ। कार्यक्रममा राष्ट्रिय परीक्षामा ३.९६ जीपीए प्राप्त गरी नेपाल टप गर्ने विद्यार्थीसहित ए–प्लस नतिजा हासिल गरेका विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो भने कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई ‘टोकन अफ लभ’ प्रदान गर्दै भावपूर्ण बिदाइ गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान युग ज्ञान, सीप र नवप्रवर्तनको युग भएकाले विद्यार्थीले ठूलो सपना देख्दै मेहनत र अनुशासनलाई जीवनको आधार बनाउनुपर्ने बताए। उनले नेपालको समृद्ध भविष्य दक्ष, नैतिक र उद्यमशील युवाको हातमा रहेको उल्लेख गर्दै शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई राष्ट्र निर्माणको आधार बन्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमको सुरुवातमा एभरेस्ट सेकेन्डरी स्कुलका अध्यक्ष गोपाल प्रसाद दुलालले स्वागत मन्तव्य राख्दै कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई एभरेस्ट इनोभेटीभ स्कुल तथा कलेजमा न्यानो स्वागत गरे।

प्रशासन प्रमुख रामप्रसाद पौडेलले विद्यालयको सफलताको आधार अनुशासित प्रशासन, समर्पित शिक्षक, अभिभावकको विश्वास र विद्यार्थीको मेहनत रहेको उल्लेख गरे। उनले पारदर्शी व्यवस्थापन र विद्यार्थीमैत्री वातावरणमार्फत उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न संस्था निरन्तर प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा सिइओ हरि प्रसाद काफ्लेले शिक्षा अब केवल परीक्षामा सीमित नरहेको भन्दै विद्यार्थीमा नेतृत्व क्षमता, प्रविधिमैत्री सोच, नवप्रवर्तन र उद्यमशीलता विकास गर्नु आजको आवश्यकता भएको बताए। उनले एभरेस्ट इनोभेटिभ स्कुल/कलेजले विद्यार्थीलाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि तयार गर्ने उद्देश्यका साथ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे।

एभरेस्ट इनोभेटिभ एजुकेशन नेटवर्कका अध्यक्ष शंकर प्रसाद दुलालले संस्थाले गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र दक्ष जनशक्तिमा निरन्तर लगानी गर्दै आएको बताए। उनले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकास, नेतृत्व क्षमता र उद्यमशील सोचलाई संस्थाको मुख्य प्राथमिकतामा राखिएको स्पष्ट पारे।

समारोहमा नेपालका विभिन्न जातीय तथा सांस्कृतिक पहिचान झल्काउने आकर्षक नृत्य, गीत तथा प्रहसन प्रस्तुत गरिएको थियो। विद्यार्थीका सांस्कृतिक प्रस्तुतीले कार्यक्रममा उत्साह थपेको थियो। साथै उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता प्रिन्सिपल दीपक कुमार झाले गरेका थिए। समापन मन्तव्यमा उनले विद्यालयको सफलतामा योगदान पुर्याउने विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै उत्कृष्ट शैक्षिक संस्कार र गुणस्तरलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

उक्त कार्यक्रमको औपचारिक सत्र क्याम्पस प्रमुख किशोर काफ्लेले सञ्चालन गरे । भने कार्यक्रममा फाइनान्स डाइरेक्टर लक्ष्मणकृष्ण राजभण्डारी, बोर्ड अफ डाइरेक्टरहरू मनोजकुमार श्रेष्ठ र दीपक अधिकारी, इन्चार्ज दिपेन्द्र शाह, प्रिन्सिपल प्रिन्सिपल के.बी. चित्रकार लगायत विद्यालयका विभागीय प्रमुख, शिक्षक–शिक्षिका, अभिभावक र ठूलो संख्यामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्वागत, सम्मान, प्रेरणादायी सन्देश र सांस्कृतिक विविधताले भरिएको उक्त समारोह एभरेस्ट इनोभेटिभको शैक्षिक उत्कृष्टता र विद्यार्थीमैत्री वातावरणको सशक्त उदाहरणका रूपमा सम्पन्न भएको थियो।




