Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपालमा इन्जिनियरिङ शिक्षाको भविष्य सुन्दर छ : देशमै गुणस्तरीय अध्ययन र आकर्षक करिअरका प्रशस्त अवसर

नेपालमा इन्जिनियरिङ शिक्षाको भविष्य सुन्दर छ : देशमै गुणस्तरीय अध्ययन र आकर्षक करिअरका प्रशस्त अवसर

  • 408
    SHARES

  • नेपालमा इन्जिनियरिङ शिक्षाको भविष्य सुन्दर छ : देशमै गुणस्तरीय अध्ययन र आकर्षक करिअरका प्रशस्त अवसर

    काठमाडौं । पछिल्ला वर्षहरूमा उच्च शिक्षाका लागि ठूलो संख्यामा नेपाली विद्यार्थी विदेशिने क्रम बढ्दो छ। विशेषगरी इन्जिनियरिङ अध्ययनका लागि विकसित मुलुक रोज्ने प्रवृत्ति बढे पनि नेपालमै गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र आकर्षक करिअरका अवसर विस्तार हुँदै गएका छन्।

    शिक्षा तथा प्राविधिक क्षेत्रका विज्ञहरूका अनुसार पूर्वाधार विकास, सूचना प्रविधि, ऊर्जा, जलविद्युत् र औद्योगिक विस्तारसँगै नेपालमा दक्ष इन्जिनियरको माग निरन्तर बढिरहेको छ। नेपाल इन्जिनियर परिषद्का अनुसार हाल नेपालभर विभिन्न विश्वविद्यालयअन्तर्गत सञ्चालनमा रहेका ६० भन्दा बढी इन्जिनियरिङ क्याम्पस तथा कलेज परिषद्मा दर्ता छन्। ती संस्थाहरूबाट हरेक वर्ष हजारौं दक्ष इन्जिनियर उत्पादन भइरहेका छन्, जसले नेपालसहित अन्तर्राष्ट्रिय श्रम बजारमा समेत आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन्।

    देशकै सबैभन्दा ठूलो इन्जिनियरिङ शिक्षा प्रणाली त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) अन्तर्गत सञ्चालनमा छ। चालु शैक्षिक सत्रका लागि आंगिक र सम्बन्धनप्राप्त क्याम्पस गरी ४ हजार ३४४ विद्यार्थी भर्ना क्षमता निर्धारण गरिएको छ। यसबाहेक काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय तथा अन्य विश्वविद्यालयहरूले पनि स्नातक तहमा विभिन्न इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरिरहेका छन्।

    नेपालका विश्वविद्यालयहरूमा सिभिल, कम्प्युटर, सफ्टवेयर, सूचना प्रविधि, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन, मेकानिकल, आर्किटेक्चर, जियोमेटिक्स, एग्रिकल्चरललगायतका विषयमा अध्ययनको अवसर उपलब्ध छ। पछिल्ला वर्षहरूमा प्रयोगशाला, अनुसन्धान, उद्योगसँगको सहकार्य र परियोजनामा आधारित सिकाइमा समेत उल्लेखनीय सुधार भएको छ।

    नेपालमा जलविद्युत् आयोजना, सडक, सुरुङमार्ग, पुल, विमानस्थल, स्मार्ट सिटी, नवीकरणीय ऊर्जा, सूचना प्रविधि र डिजिटल पूर्वाधार विस्तार भइरहेका कारण दक्ष इन्जिनियरको आवश्यकता तीव्र रूपमा बढेको छ।

    विशेषगरी कम्प्युटर, सफ्टवेयर र सूचना प्रविधि अध्ययन गरेका नेपाली युवाले नेपालमै बसेर अन्तर्राष्ट्रिय कम्पनीका लागि सेवा दिँदै आकर्षक आम्दानी गरिरहेका छन्। स्टार्टअप र नवप्रवर्तनमा आधारित उद्यम सञ्चालन गर्ने युवाको संख्या पनि बढ्दो छ। शिक्षाविद्हरूका अनुसार इन्जिनियरिङ अध्ययनका लागि विदेश जानु नै सफलताको एकमात्र बाटो होइन।

    नेपालका विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाठ्यक्रम परिमार्जन, आधुनिक प्रयोगशाला, अनुसन्धान र उद्योग–विश्वविद्यालय सहकार्यलाई प्राथमिकता दिइरहेका छन्। यसले देशमै अध्ययन गरेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने आधार थप बलियो बनाएको छ। विदेश अध्ययनका नाममा ठूलो आर्थिक भार, ऋण र अनिश्चित भविष्यको जोखिम मोल्नुभन्दा नेपालमै उपलब्ध गुणस्तरीय शिक्षा, तुलनात्मक रूपमा कम लागत र बढ्दो रोजगारीका अवसरलाई विद्यार्थी तथा अभिभावकले गम्भीरतापूर्वक मूल्याङ्कन गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

    नेपालको आर्थिक विकास, पूर्वाधार विस्तार, डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (AI), रोबोटिक्स, हरित ऊर्जा र औद्योगिक विकासका लक्ष्यलाई हेर्दा आगामी वर्षहरूमा दक्ष इन्जिनियरको आवश्यकता अझ बढ्ने निश्चित देखिन्छ। त्यसैले इन्जिनियर बन्ने सपना देख्ने विद्यार्थीका लागि नेपालमै अध्ययन गरेर अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र अनुभव हासिल गर्दै देश निर्माणमा योगदान गर्ने अवसर प्रशस्त रहेको शिक्षा क्षेत्रका जानकारहरूको निष्कर्ष छ।

    images
    शनिवार, श्रावण १६ २०८३०९:२२:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार