आइतवार, श्रावण १७ २०८३
काठमाडौं/सुर्खेत, साउन १५ – मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको ग्र्याजुएट स्कुल अफ एजुकेशन, डिनको कार्यालयले आयोजना गरेको एकवर्षे बी.एड. पाठ्यक्रम विकास सम्बन्धी तीनदिने कार्यशालाको उद्घाटन सम्पन्न भएको छ।
साउन १५ गते आयोजित उद्घाटन कार्यक्रममा विश्वविद्यालयका उपकुलपति सह-प्रा. ई. डा. राजन सुवाल प्रमुख अतिथि तथा ग्र्याजुएट स्कुल अफ एजुकेशनका डिन सह-प्रा. डा. आनन्द प्रसाद सुवेदी अध्यक्ष रहनुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपकुलपति डा. सुवालले प्रस्तावित एकवर्षे बी.एड. कार्यक्रम र यसको पाठ्यक्रम समयसापेक्ष, गुणस्तरीय तथा प्रभावकारी बनाउन कार्यशालाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले बदलिँदो शैक्षिक आवश्यकता अनुरूप शिक्षक शिक्षालाई अझ व्यावहारिक र प्रतिस्पर्धी बनाउने दिशामा नयाँ पाठ्यक्रम विकास आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, पूर्व पदाधिकारी, प्राध्यापक, विषयविज्ञ तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
उक्त तीनदिने कार्यशाला नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत विद्यालय शिक्षाका लागि प्राविधिक सहयोग (टेक्सेस) नेपाल को सहयोगमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ। कार्यशालाबाट एकवर्षे बी.एड. कार्यक्रमका लागि आधुनिक, व्यवहारमुखी र गुणस्तरीय पाठ्यक्रम तयार हुने अपेक्षा गरिएको छ।