मंगलवार, श्रावण १९ २०८३
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक प्रभावकारिता र अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. किसनदत्त भट्टको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा वार्षिक प्रगति समीक्षा बैठक (Progress Review Meeting) सम्पन्न भएको हो।
बैठकमा विश्वविद्यालयको अनुसन्धान, नवप्रवर्तन तथा विकास केन्द्रका निर्देशक, परीक्षा नियन्त्रक, १६ वटा आङ्गिक क्याम्पसका क्याम्पस प्रमुख, चार वटा स्कुलका प्रमुख तथा छ वटा विभागका विभाग प्रमुखहरूको सहभागिता रहेको थियो।
बैठकमा सहभागी प्रमुखहरूले आ–आफ्नो निकायले आर्थिक वर्ष २०८२/०८३ मा गरेका कार्यसम्पादन, हालको अवस्था, हासिल भएका उपलब्धि, देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए।

प्रस्तुतीकरणका क्रममा विश्वविद्यालयका विभिन्न निकायको शैक्षिक तथा प्रशासनिक गतिविधिको समीक्षा गर्नुका साथै आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्र र प्राथमिकताबारे छलफल गरिएको थियो। बैठकमा शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक प्रभावकारिता, अनुसन्धान तथा नवप्रवर्तनको प्रवर्द्धन, पूर्वाधार विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।
विश्वविद्यालयले बदलिँदो शैक्षिक परिवेशअनुसार गुणस्तरीय शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ। साथै, विश्वविद्यालयका विभिन्न निकायबीच प्रभावकारी समन्वय गर्दै निर्धारित लक्ष्य हासिल गर्ने विषयमा समेत छलफल भएको थियो। बैठकलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा. भट्टले
प्रस्तुत भएका सुझाव तथा कार्ययोजनालाई विश्वविद्यालयको संस्थागत सुधार र समग्र विकासका लागि प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए। उनले विश्वविद्यालयका सबै निकायलाई निर्धारित लक्ष्य हासिल गर्न परिणाममुखी ढंगले कार्यसम्पादन गर्न निर्देशन दिँदै शैक्षिक तथा प्रशासनिक क्षेत्रमा देखिएका चुनौती समाधान गर्दै विश्वविद्यालयलाई थप प्रभावकारी र गुणस्तरीय संस्थाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
वार्षिक प्रगति समीक्षा बैठकले विश्वविद्यालयका विभिन्न निकायको कार्यसम्पादनको वस्तुगत समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण आधार तयार गरेको विश्वविद्यालयको विश्वास छ।