मंगलवार, भाद्र २ २०८३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयका रिक्त प्रधानाध्यापक पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
महानगरपालिकाको शिक्षा विभागले मंगलबार प्रकाशित गरेको सूचनाअनुसार महानगरअन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र १४ वटा आधारभूत सामुदायिक विद्यालयमा रिक्त रहेका तथा प्रधानाध्यापकको पदावधि सकिन एक महिनाभन्दा कम अवधि बाँकी रहेका विद्यालयका लागि दरखास्त आह्वान गरिएको हो।
प्रधानाध्यापक पदका लागि तोकिएको योग्यता पुगेका स्थायी शिक्षकहरूले आवेदन दिन सक्नेछन्। इच्छुक योग्य उम्मेदवारले २०८३ भदौ १६ गतेभित्र आवश्यक कागजात तथा विद्यालय विकास प्रस्तावसहित सम्बन्धित विद्यालयमा रीतपूर्वक दरखास्त पेस गर्नुपर्नेछ।
महानगरपालिकाले शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ को उपनियम (२) तथा महानगरपालिकाको निर्णयअनुसार प्रधानाध्यापक पदपूर्तिको प्रक्रिया अघि बढाएको जनाएको छ। विज्ञापन गरिएका विद्यालयको नामावली, उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता, उम्मेदवारीको प्राथमिकता, छनोट प्रक्रिया तथा अन्य विस्तृत विवरण र दरखास्त फारामको ढाँचा काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइट तथा शिक्षा विभागबाट प्राप्त गर्न सकिनेछ।
महानगरपालिकाले तोकिएको समयभित्र योग्य उम्मेदवारलाई आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ।
