सोमवार, भाद्र ८ २०८३
काठमाडौँ, ८ भदौ । विद्यालयस्तरमा खेलकुद प्रतिभाको पहिचान तथा विकास गर्ने उद्देश्यले डाइनामिक एजुकेसनल एसोसिएसन नेपाल (डिन/DEAN) को आयोजनामा सञ्चालन गरिएको अन्तरविद्यालय ब्याडमिन्टन, चेस तथा टेबल टेनिस प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।

शनिवार काठमाडौँको नेरेफाटस्थित लालिगुराँस वाटिका स्कुलमा कक्षा १० सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले ब्याडमिन्टन, चेस र टेबल टेनिसमा प्रतिस्पर्धा गरेका थिए। छात्र तथा छात्रातर्फ भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रथम, द्वितीय र तृतीय स्थान प्रदान गरिएको थियो।

टेबल टेनिसतर्फ छात्रमा लालीगुराँस बाटिका माध्यमिक विद्यालयका कृषज श्रेष्ठ प्रथम, विन्सम इङ्गलिस बोर्डिङ स्कुलका प्रभाकर दाहाल द्वितीय र नवज्योति माध्यमिक विद्यालयका सिवान्स शर्मा तृतीय भए। छात्रातर्फ क्रियसन एकेडेमीकी समीक्षा ठकुरी प्रथम, नवज्योति माध्यमिक विद्यालयकी सिखा खत्री द्वितीय र हिमशिला बोर्डिङ स्कुलकी सिम्लार थापामगर तृतीय भए।
ब्याडमिन्टनतर्फ छात्रमा सुवास गुरुकुलका आदित्य कुमार प्रथम, माउन्ट सेबका रिजन बुढा द्वितीय र नवज्योति माध्यमिक विद्यालयका प्रभव केसी तृतीय भए। छात्रातर्फ लालीगुराँस बाटिका माध्यमिक विद्यालयकी आश्रुती कार्की प्रथम, क्रियसन एकेडेमीकी कृषा बोहोरा द्वितीय र हिमशिला बोर्डिङ स्कुलकी रोजिना खड्का तृतीय बने।
त्यस्तै चेसतर्फ छात्रमा लालीगुराँस बाटिका माध्यमिक विद्यालयका प्रयास अधिकारी प्रथम, जाग्रति एकेडेमीका मन्दिप मानन्धर द्वितीय र विन्सम इङ्गलिस बोर्डिङ स्कुलका आयुष श्रेष्ठ तृतीय भए। छात्रातर्फ नवज्योति माध्यमिक विद्यालयकी स्वेच्छा मल्ल प्रथम, हेब्रोन पब्लिक स्कुलकी कृषा श्रेष्ठ द्वितीय र हिमशिला बोर्डिङ स्कुलकी रिया राई तृतीय स्थान हासिल गर्न सफल भए।

समापन समारोह डिनका अध्यक्ष अनिलकुमार सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा प्याब्सन काठमाडौँका प्रमुख सल्लाहकार प्रेमकुमार राई रहेका थिए। विशेष अतिथिका रूपमा प्याब्सन काठमाडौँ तथा डिनका सल्लाहकार गोविन्द फ्याक लिम्बूको उपस्थिति थियो।

कार्यक्रममा प्याब्सन काठमाडौँका जिल्ला उपाध्यक्ष धनबहादुर पुन, जिल्ला उपाध्यक्ष तथा डिनका सल्लाहकार सूर्यबहादुर भण्डारी, राष्ट्रिय ब्याडमिन्टन खेलाडी पूर्णबहादुर थापा, लालीगुराँस बाटिका स्कुलका अध्यक्ष रामेश्वर कलवार, एभरेस्ट स्कुलका अध्यक्ष विष्णुप्रसाद पनेरु, डिन कार्यसमितिका पदाधिकारी, शिक्षक तथा विभिन्न विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
समापन समारोहमा विजेता तथा उपविजेता खेलाडीलाई प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गरिएको थियो।

उक्त प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमना बोल्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा प्याब्सन काठमाडौँका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार प्रेमकुमार राईले खेलकुद विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता अभिवृद्धिको महत्वपूर्ण माध्यम भएको बताउँदै विद्यालय तहदेखि नै खेलकुद प्रतिभाको पहिचान र प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। उनले पढाइसँगै खेलकुदलाई पनि शिक्षाको अभिन्न अंगका रूपमा अघि बढाउन सके विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्दै प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई शुभकामना दिए।

कार्यक्रममा डिनका अध्यक्ष तथा कार्यक्रमका सभापति अनिल कुमार सुब्बाले विद्यालय तहदेखि नै खेलकुदलाई शिक्षाको अभिन्न अंगका रूपमा विकास गर्नुपर्ने बताए। उनले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

उनले प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई बधाई दिँदै विजेता हुनु मात्र सफलता नभई अनुशासित भएर प्रतिस्पर्धामा सहभागी हुनु पनि महत्वपूर्ण उपलब्धि भएको बताए। विद्यालयबीचको सम्बन्ध विस्तारसँगै विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनमा अन्तरविद्यालय प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
आयोजकले आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक विकाससँगै खेलकुद प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रतियोगिता सञ्चालन गर्दै जाने जनाएको छ।

