Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यालयको कक्षाकोठासम्म एआई पुर्‍याउने प्याब्सनको देशव्यापी अभियान

विद्यालयको कक्षाकोठासम्म एआई पुर्‍याउने प्याब्सनको देशव्यापी अभियान

  • 251
    SHARES

  • विद्यालयको कक्षाकोठासम्म एआई पुर्‍याउने प्याब्सनको देशव्यापी अभियान

    काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिलाई विद्यालयको शिक्षण–सिकाइ प्रक्रियासँग जोड्ने उद्देश्यले देशव्यापी प्रशिक्षण अभियान सञ्चालन गर्ने भएको छ।

    प्रविधिको तीव्र विकाससँगै शिक्षण पद्धतिमा आएको परिवर्तनलाई आत्मसात् गर्दै प्याब्सनले आफ्ना सदस्य विद्यालयका शिक्षक तथा शैक्षिक नेतृत्वलाई एआई र डिजिटल प्रविधिको प्रयोगमा सक्षम बनाउने अभियान अघि बढाएको हो।

    अभियानको सुरुवात केन्द्रीय तहबाट हुनेछ। त्यसपछि प्रदेश, जिल्ला र पालिका तहसम्म प्रशिक्षण विस्तार गरी देशभरका सदस्य विद्यालय, प्रधानाध्यापक तथा शिक्षकलाई अभियानमा जोडिने प्याब्सनले जनाएको छ।

    वर्षभरि सञ्चालन हुने अभियानमार्फत केन्द्रमा प्राप्त ज्ञान, सीप तथा अनुभवलाई क्रमशः प्रदेश, जिल्ला र पालिका तह हुँदै विद्यालय तथा कक्षाकोठासम्म पुर्‍याउने योजना रहेको छ। यसबाट शिक्षकलाई आधुनिक प्रविधि तथा एआईको प्रभावकारी प्रयोगका लागि आवश्यक सीप प्रदान गर्ने प्याब्सनको लक्ष्य छ।

    अभियानअन्तर्गत एआईको प्रयोगसँगै डिजिटल शिक्षण विधि, प्रविधिमा आधारित सिकाइ प्रणाली र शिक्षण–सिकाइमा नवीन प्रविधिको प्रयोगबारे प्रशिक्षण दिइनेछ। शिक्षकको डिजिटल क्षमता अभिवृद्धि गर्दै प्रविधिलाई विद्यार्थीको सिकाइ सुधारसँग जोड्ने प्याब्सनको तयारी छ।

    प्याब्सनले एआई तथा डिजिटल रूपान्तरणलाई केवल प्रविधिको प्रयोगमा सीमित नराखी विद्यालयको समग्र शैक्षिक प्रणालीसँग जोड्ने जनाएको छ। नेतृत्व तहबाट सुरु हुने डिजिटल रूपान्तरणलाई क्रमशः शिक्षक र विद्यार्थीको दैनिक सिकाइ प्रक्रियासम्म पुर्‍याउने लक्ष्य लिइएको छ।

    प्याब्सनका अनुसार एआई र डिजिटल प्रविधिको उचित प्रयोगले विद्यालय शिक्षालाई थप सिर्जनात्मक, प्रविधिमैत्री, नवप्रवर्तनमुखी तथा भविष्यका आवश्यकतासँग अनुकूल बनाउन सहयोग पुग्नेछ। राष्ट्रिय अभियानलाई प्रभावकारी बनाउन प्याब्सनले देशभरका पदाधिकारी, सदस्य विद्यालय, प्रधानाध्यापक तथा शिक्षकलाई सक्रिय सहभागिता, सहकार्य र सहयोगका लागि आग्रह गरेको छ।

    “अबको शिक्षा प्रविधिसँगै, अबको प्याब्सन डिजिटल र एआई मैत्री” भन्ने अवधारणासहित अभियानलाई देशभर विस्तार गरिने प्याब्सनले जनाएको छ।

    images
    मंगलवार, भाद्र ९ २०८३०७:५३:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार