बुधवार, भाद्र १० २०८३
काठमाडौं, भदौ १० । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोसी नदीमा आएको अकस्मात् विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
प्याब्सन केन्द्रीय कार्यसमितिले विज्ञप्ति जारी गर्दै बाढीमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको हो। साथै बेपत्ता नागरिकको तत्काल खोज तथा उद्धार, घाइतेको प्रभावकारी उपचार तथा प्रभावित परिवारको राहत, सुरक्षित बसोबास र पुनःस्थापनाका लागि सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
बाढीका कारण विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारसमेत प्रभावित भएको र कतिपय विद्यालय तथा शैक्षिक संरचनामा क्षति पुगेकोप्रति प्याब्सनले विशेष चिन्ता व्यक्त गरेको छ। विद्यालय भौतिक संरचना मात्र नभई बालबालिकाको भविष्य निर्माण गर्ने सुरक्षित र संवेदनशील थलो भएकाले प्रभावित विद्यालयको शैक्षिक गतिविधि पुनः सञ्चालन गर्न विशेष प्राथमिकताका साथ आवश्यक समन्वय गर्नुपर्नेमा प्याब्सनले जोड दिएको छ।
प्रभावित विद्यालय तथा विद्यालय परिवारलाई आवश्यक सहयोगका लागि सम्बन्धित प्रदेश तथा जिल्ला प्याब्सनसँग समन्वय गरी सक्दो पहल गर्ने प्रतिबद्धता पनि प्याब्सनले जनाएको छ।
त्यस्तै, देशका विभिन्न स्थानबाट भ्रमणका लागि पुगेका नेपाली तथा विदेशी पर्यटकसमेत विपद्मा प्रभावित भएको घटनाप्रति प्याब्सनले दुःख व्यक्त गरेको छ। नेपाल भ्रमणका क्रममा ज्यान गुमाएका तथा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्बन्धित परिवार तथा समुदायमा समवेदना प्रकट गरेको छ।
विपद्को समयमा मानवीय संवेदना, उद्धार, राहत र पुनःस्थापनालाई पहिलो प्राथमिकता दिन सरकार, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघ–संस्था, विद्यालय समुदाय तथा नागरिक समाजलाई एकताबद्ध भएर परिचालित हुन प्याब्सनले आह्वान गरेको छ।
“सतर्क रहौँ, सुरक्षित रहौँ र विपद्मा परेकालाई सहयोग गर्न हातेमालो गरौँ” भन्दै प्याब्सनले विपद्को यस कठिन घडीमा प्रभावित परिवार, विद्यार्थी, शिक्षक, विद्यालय समुदाय, स्थानीय बासिन्दा तथा स्वदेशी–विदेशी नागरिकप्रति ऐक्यबद्धता जनाएको छ।
