बिहिवार, भाद्र १८ २०८३
काठमाडौं — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) काठमाडौं महानगर समितिको तेस्रो अधिवेशनले नवराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा टंक गैरे, सचिवमा सुनिल केसी र कोषाध्यक्षमा रनिश भट्टराई चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा प्रकाश श्रेष्ठ, मनिस श्रेष्ठ र चपला ढकाल चयन भएका छन्। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।

अधिवेशनका प्रमुख अतिथि तथा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले संस्थागत विद्यालयको गुणस्तर अभिवृद्धि र विद्यालय सञ्चालकका साझा समस्या समाधानका लागि संगठनात्मक एकता आवश्यक रहेको बताए। उनले काठमाडौं महानगरभित्रका संस्थागत विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई थप प्रभावकारी बनाउन नेशनल प्याब्सनले सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश खड्काले संस्थागत विद्यालयका समस्या समाधानका लागि संगठनले स्पष्ट नीति र साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताए। उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै शिक्षक, कर्मचारी, विद्यार्थी तथा विद्यालय सञ्चालकका विषयलाई समेत प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखे।

नेशनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष अमृतकुमार खड्काले महानगर समितिको नयाँ नेतृत्वले काठमाडौंका संस्थागत विद्यालयबीच थप समन्वय र सहकार्यको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे। उनले विद्यालयका व्यावहारिक समस्या पहिचान गरी सम्बन्धित स्थानीय तथा सरकारी निकायसँग समन्वय गरेर समाधानका लागि पहल गर्नुपर्ने बताए।

नवनिर्वाचित अध्यक्ष नवराज पाण्डेले आफूलाई सर्वसम्मत रूपमा नेतृत्वको जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गर्दै संस्थागत विद्यालयको हकहित संरक्षण, शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यालयका साझा समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष पाण्डेले महानगर क्षेत्रभित्रका विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी तथा अभिभावकका सरोकारलाई समेट्दै संगठनलाई थप प्रभावकारी र एकताबद्ध बनाउने बताए। उनले काठमाडौं महानगरपालिका तथा अन्य सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय र सहकार्य गरी संस्थागत विद्यालयले भोगिरहेका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
उनले भने, “संस्थागत विद्यालयको हकहितसँगै गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर काम गर्नेछौँ। सबै विद्यालयलाई समेटेर साझा समस्या पहिचान गर्ने र त्यसको समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी संवाद तथा सहकार्य गर्ने हाम्रो प्राथमिकता हुनेछ।”

अधिवेशनमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने, उपाध्यक्ष बिष्णु पराजुली, महासचिव प्रकाश खड्कालगायत केन्द्रीय पदाधिकारी, केन्द्रिय सचीव मनोज श्रेष्ठ, बेद प्रसाद पन्त, कोषाध्यक्ष खडक बहादुर बस्नेत, प्रदेश अध्यक्ष डिएन महतो, काठमाडौं जिल्ला अध्यक्ष अमृतकुमार खड्का तथा वरिष्ठ उपाध्यक्ष प्रेम कुमार भुजेल, विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नवनिर्वाचित कार्यसमितिले काठमाडौं महानगर क्षेत्रभित्रका संस्थागत विद्यालयका साझा समस्या समाधान, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालयको हकहित संरक्षणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। साथै, विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै अघि बढ्ने जनाएको छ।