बिहिवार, भाद्र २५ २०८३
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) नागार्जुन नगर समितिको चौथो अधिवेशनबाट चन्द्र क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

अधिवेशनबाट उपाध्यक्षमा अर्जुन पाठक, सचिवमा निर्मला श्रेष्ठ र कोषाध्यक्षमा दिलीप बरसिंह थापा चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा होमनाथ अधिकारी, पल्पषा महर्जन, सीताराम भुजेल, जीवन पौडेल, अम्बिका भण्डारी, एकराज कुँवर, घनश्याम बलामी, मीना कार्की र आरती चित्रकार चयन हुनुभएको छ।
अधिवेशनका प्रमुख अतिथि नेसनल प्याब्सनका सचिव वेद पन्तले संस्थागत विद्यालयको समस्या समाधानका लागि संगठनलाई थप सशक्त र एकताबद्ध बनाउनुपर्ने बताउनुभयो। उहाँले विद्यालयको हकहितसँगै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

नेसनल प्याब्सन नागार्जुनका सचिव मनोज श्रेष्ठले संस्थागत विद्यालयबीच सहकार्य र समन्वय बढाउँदै शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि स्थानीय तहसँग प्रभावकारी संवाद आवश्यक रहेको बताउनुभयो। उहाँले नयाँ कार्यसमितिले विद्यालय र विद्यार्थीको हितमा परिणाममुखी काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेसनल प्याब्सन बागमती प्रदेश अध्यक्ष डीएन महतोले बदलिँदो शैक्षिक परिवेशअनुसार संस्थागत विद्यालयले आफ्नो शैक्षिक गुणस्तर र व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। उहाँले विद्यालयका साझा समस्या समाधानका लागि संगठनात्मक एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष अमृत खड्काले नागार्जुन नगर समितिको नयाँ नेतृत्वले संस्थागत विद्यालयको हकहित संरक्षणसँगै विद्यार्थीको सर्वाङ्गीण विकास र गुणस्तरीय शिक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय तह, विद्यालय र अभिभावकबीचको समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो।
नवनिर्वाचित अध्यक्ष चन्द्र क्षेत्रीको नेतृत्वमा रहेको नयाँ कार्यसमितिले नागार्जुन नगर क्षेत्रमा संस्थागत विद्यालयको हकहित संरक्षण, शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयबीच सहकार्य तथा विद्यार्थीको सर्वाङ्गीण विकासका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

