मंगलवार, भाद्र ३० २०८३
काठमाडौँ — डाइनमिक एजुकेशनल एसोसिएसन नेपाल (DEAN) को आयोजनामा सदस्य विद्यालयहरूबीच DEAN CUP अन्तर–विद्यालय फुटसल प्रतियोगिता असोज २ देखि ४ गतेसम्म हुने भएको छ। उक्त प्रतियोगिता टेक्सास इन्टरनेसनल कलेज, मित्रपार्कमा आयोजना हुनेछ।
मंगलबार टेक्सास कलेजमा एक पत्रकार सम्मेलन मार्फत विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकाससँगै विद्यालयबीचको शैक्षिक तथा सहकार्यात्मक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको DEAN ले जनाएको छ।
प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीबीच छात्र र छात्रा दुवै विधामा प्रतिस्पर्धा हुनेछ। हालसम्म १६ सदस्य विद्यालयका २६ टोलीले सहभागिताका लागि दर्ता गराइसकेका छन्। जसमा छात्रतर्फ १६ र छात्रातर्फ १० टोली रहेका छन्।
फुटसलमार्फत विद्यार्थीमा अनुशासन, टिम भावना, नेतृत्व क्षमता, सहकार्य तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउने आयोजकको लक्ष्य छ। प्रतियोगिताका क्रममा मैदान व्यवस्थापन, रेफ्री, प्राविधिक टोली, प्राथमिक उपचार तथा सुरक्षालगायतका आवश्यक व्यवस्था मिलाइने DEAN ले जनाएको छ।
प्रतियोगिताको छात्र र छात्रा दुवै विधाका उत्कृष्ट चार–चार टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै, दुवै विधातर्फ बेस्ट प्लेयर र हाइएस्ट स्कोरर समेत छनोट गरी पुरस्कृत गरिनेछ।
प्रतियोगिताको कुल अनुमानित बजेट १ लाख ६० हजार रुपैयाँ रहेको छ। सहभागी विद्यालयले छात्र र छात्रा दुवै विधाका लागि ६ हजार रुपैयाँ सहभागिता शुल्क बुझाउने व्यवस्था गरिएको छ। प्रतियोगिताको व्यवस्थापकीय तथा आर्थिक पक्ष पारदर्शी र मितव्ययी ढङ्गले सञ्चालन गरिने DEAN कार्यसमितिले जनाएको छ।
DEAN द्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख सल्लाहकार तथा प्याब्सन काठमाडौँ जिल्ला उपाध्यक्ष सूर्यबहादुर भण्डारी र मेट्रो प्याब्सनका ईसीए कोर्डिनेटर राजकुमार बोगटिलगायतको उपस्थिति रहेको थियो।