बिहिवार, आश्विन १ २०८३
मिति २०८३ साल भाद्र ३० गते विश्वविद्यालय अनुदान आयोग, नेपालको सहजीकरणमा नेपालका विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबीच शैक्षिक विद्युतीय स्रोत साझेदारी तथा प्रयोगसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। उक्त समझदारीपत्रको उद्देश्य त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय (TUCL) मार्फत अन्तर्राष्ट्रिय जर्नललगायत विभिन्न शैक्षिक तथा अनुसन्धानमूलक ई–स्रोतहरूमा साझा पहुँच र प्रयोगलाई सहज बनाउनु हो।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. खड्गबहादुर के.सी., सदस्य–सचिव प्रा. डा. रोजी श्रेष्ठ, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. किशन दत्त भट्ट लगायत विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू तथा विश्वविद्यालय अनुदान आयोग र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
उक्त समझदारीपत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. किशन दत्त भट्ट तथा विश्वविद्यालय अनुदान आयोगका सदस्य–सचिव प्रा. डा. रोजी श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो।
समझदारीअनुसार सहभागी विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान संस्थाहरूले TUCL मार्फत उपलब्ध शैक्षिक ई–स्रोतहरू साझा रूपमा प्रयोग गर्न सक्नेछन्। यस सहकार्यबाट सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूको गुणस्तरीय शैक्षिक तथा अनुसन्धान सामग्रीमा पहुँच विस्तार हुनुका साथै अनुसन्धान, शिक्षण, शैक्षिक सहकार्य तथा ज्ञान आदानप्रदानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।