शनिवार, आश्विन ३ २०८३
काठमाडौं । डाइनामिक एजुकेसनल एसोसिएसन नेपाल (डिन) को आयोजनामा जारी फुटसल प्रतियोगिताको दोस्रो दिन छात्रतर्फ समूह चरणका खेलहरू सम्पन्न भएका छन्। समूह चरणका खेलपछि आठ टोली क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताअन्तर्गत चार समूहमा विभाजन गरी सञ्चालन गरिएको छात्रतर्फको समूह चरणबाट प्रत्येक समूहका दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाएका हुन्।
समूह ‘ए’ बाट क्रिएसन एकेडेमी र हिमालय इङ्लिस बोर्डिङ स्कुल क्वार्टरफाइनलमा पुगेका छन्। त्यसैगरी समूह ‘बी’ बाट नवज्योति माध्यमिक विद्यालय र नवजीवन शिशु निकेतनले अन्तिम आठमा स्थान सुरक्षित गरेका छन्।
समूह ‘सी’ बाट माउन्ट एसईबी स्कुल र हिमशिला बोर्डिङ स्कुल तथा समूह ‘डी’ बाट जागृति एकेडेमी र लालीगुराँस बाटिका माध्यमिक विद्यालय क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। टेक्सास इन्टरनेसनल कलेजको फुट्सल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा विद्यार्थी टोलीबीच उत्साहजनक प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ।

यसअघि प्रतियोगिताको पहिलो दिन छात्रातर्फको समूह चरणका खेल सम्पन्न भएका थिए। छात्रातर्फ हिमशिला स्कुल, लालीगुराँस बाटिका सेकेन्डरी स्कुल, ज्ञानमाला इङ्लिस हाइस्कुल र स्काइलाइट स्कुल सेमिफाइनलमा प्रवेश गरेका थिए।
प्रतियोगिताका बाँकी निर्णायक तथा फाइनल खेलहरू भोलि सञ्चालन हुने आयोजकले जनाएको छ। भोलिको खेलसँगै विभिन्न विधाका विजेता टोलीको टुङ्गो लाग्नेछ।

डिनले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै खेलकुद प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ।