सोमवार, आश्विन ५ २०८३
काठमाडौं। बल्खुस्थित बर्नहार्ट सेकेण्डरी स्कुल एण्ड कलेजमा आयोजना गरिएको तीनदिने मोडल युनाइटेड नेसन्स् (एमयूएन)–२०२६ असोज ४ गते सम्पन्न भएको छ। विभिन्न देशको प्रतिनिधित्व गरेका विद्यार्थीहरूबीच बहस, कूटनीतिक संवाद, वार्ता र सहकार्य गर्दै कार्यक्रम सम्पन्न भएको हो।

संयुक्त राष्ट्रसंघको नमुना अभ्यासमार्फत विद्यार्थीहरूले अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, मानव अधिकार, विश्वव्यापी समस्या तथा समस्या समाधानका विषयमा व्यवहारिक ज्ञान हासिल गरेका थिए। एमयूएनमा विद्यार्थीलाई विभिन्न ६ समूहमा विभाजन गरी संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्लगायत विभिन्न निकायको नमुना अभ्यास गराइएको थियो। सहभागी विद्यार्थीहरूले आफूले प्रतिनिधित्व गरेको देशको नीति, दृष्टिकोण र अन्तर्राष्ट्रिय अडानबारे अध्ययन तथा अनुसन्धान गरी सम्बन्धित समितिमा प्रस्तुत गरेका थिए। उनीहरूले विभिन्न विषयमा तर्कसहित धारणा राख्ने, प्रश्न गर्ने, फरक मत सुन्ने, वार्ता गर्ने र सहमतिका आधारमा साझा समाधान खोज्ने अभ्यास गरेका थिए।

एमयूएनअन्तर्गतको संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्मा धर्म, जाति, वर्ण तथा लिङ्गका आधारमा हुने विभेदविरुद्धको विषयलाई प्रमुख एजेन्डाका रूपमा अघि सारिएको थियो। विद्यार्थीहरूले सम्बन्धित विषयमा अध्ययन गरी अन्तर्राष्ट्रिय मञ्चको नमुना अभ्यासमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। सोही परिषद्का अध्यक्षको भूमिकामा रहेका कक्षा ११ का विद्यार्थी लक्स चौधरीका अनुसार पहिलो दिन प्रतिनिधिहरूलाई अनुसन्धान गर्ने तरिका, कार्यविधिका नियम तथा एजेन्डाबारे जानकारी गराइएको थियो।

पहिलो दिनलाई मुख्यतः तयारी र अभ्यासका रूपमा प्रयोग गरिएको जानकारी दिँदै उनले एमयूएनले किताबी ज्ञानभन्दा बाहिर गएर मानव अधिकार, युद्ध, द्वन्द्व, शरणार्थी संकट तथा विश्वका समसामयिक विषय बुझ्ने अवसर दिएको बताए। यसबाट विद्यार्थीको आलोचनात्मक तथा सिर्जनात्मक सोच विकास हुनुका साथै सार्वजनिक रूपमा आफ्ना धारणा राख्ने आत्मविश्वास बढेको उनको भनाइ छ।

कार्यक्रमका सन्दर्भमा बर्नहार्ट सेकेण्डरी स्कुल तथा कलेजका प्रबन्ध निर्देशक नवराज अधिकारीले एमयूएन विद्यार्थीलाई अन्तर्राष्ट्रिय मामिला बुझाउने मात्र नभई सोच्ने, संवाद गर्ने, वार्ता गर्ने र असहमतिका बीच पनि सहकार्य गर्ने क्षमता विकास गर्ने महत्वपूर्ण माध्यम भएको बताए। उनले एमयूएन विद्यालयको अर्को कार्यक्रम मात्र नभई ‘भित्ता बिनाको कक्षाकोठा’ भएको उल्लेख गर्दै विद्यार्थीले पुरस्कारभन्दा सिकाइ, सहभागिता र आत्मविश्वासलाई उपलब्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिए। फरक विचारलाई सम्मान गर्दै संवाद र सहकार्यको संस्कार विकास गर्न उनले विद्यार्थीलाई आग्रहसमेत गरे।

त्यसैगरी विद्यालयका भाइस प्रिन्सिपल शिवराम रिजालले एमयूएनले संयुक्त राष्ट्रसंघको कार्यप्रणाली र अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासलाई विद्यार्थीमाझ प्रयोगात्मक रूपमा पुर्याएको बताए। “विद्यालय शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित हुनुहुँदैन,” रिजालले भने, “विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता र व्यावहारिक सीप अभिवृद्धि सम्बन्धी अभ्यासलाई पनि शिक्षाको महत्वपूर्ण पक्षका रूपमा अघि बढाउनुपर्छ।” कार्यक्रमको अन्तिम दिन आयोजित समापन समारोहमा सहभागी सबै प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, विभिन्न समितिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई विशेष उल्लेख, उत्कृष्ट प्रतिनिधि तथा सर्वोत्कृष्ट प्रतिनिधिका रूपमा सम्मान गरियो। समापन समारोहमा विद्यार्थीको मेहनत, आत्मविश्वास र उपलब्धिको प्रशंसा गर्दै एमयूएन आयोजक समिति, विद्यालय व्यवस्थापन तथा प्रशासनिक टोलीलाई कार्यक्रम सफल बनाउन गरेको योगदानका लागि धन्यवाद दिइएको थियो।

एमयूएनको समापन समारोहमा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष भूपेश छत्कुलीले एमयूएनले विद्यार्थीमा नेतृत्व, आत्मविश्वास, संवाद तथा कूटनीतिक क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले पाठ्यपुस्तकको ज्ञानलाई व्यवहारमा उतार्दै विश्वका समसामयिक विषय बुझ्ने र आफ्ना विचार तर्कसहित प्रस्तुत गर्ने अवसर यस्ता कार्यक्रमले दिने उल्लेख गरे।

त्यसैगरी बर्नहार्टका प्रिन्सिपल पुरुषोत्तम बिष्टले एमयूएन विद्यार्थीको ज्ञान, नेतृत्व र व्यक्तित्व विकाससँग प्रत्यक्ष जोडिने प्रभावकारी शैक्षिक अभ्यास भएको बताए। तीन दिनको बहस, अनुसन्धान, वार्ता र कूटनीतिक संवादबाट प्राप्त ज्ञानलाई आगामी अध्ययन तथा व्यवहारिक जीवनमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

बर्नहार्ट सेकेण्डरि स्कुल तथा क्लेजले नियमित पठनपाठनसँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई लक्षित गरी क्विज, वादविवाद, वक्तृत्वकला, साहित्यिक कार्यक्रम, संगीत, नृत्य, कला, कोडिङ, स्टिम तथा विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। एमयूएन–२०२६ पनि विद्यार्थीलाई अन्तर्राष्ट्रिय कूटनीति र समसामयिक विश्व मुद्दासँग जोड्ने प्रयोगात्मक सिकाइको प्रभावकारी माध्यम बनेको विद्यालयको निष्कर्ष छ।







