बुधवार, आश्विन ७ २०८३
काठमाडौं । श्रीलङ्काको बेन्टोटा सहरस्थित धर्मपाला विद्यालय र स्कुल्स एसोसिएसन नेपाल (सान) बीच शैक्षिक सहकार्यका लागि सम्झौता भएको छ। आगामी वर्षदेखि नेपाल र श्रीलङ्काका विद्यालयबीच विद्यार्थी तथा शैक्षिक अनुभव आदानप्रदान गर्ने उद्देश्यले सेप्टेम्बर २२ मा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

धर्मपाला विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयकी प्राचार्य कामिनीको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, श्रीलङ्का सरकारका प्रतिनिधि तथा सानका प्रतिनिधिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।
सम्झौताअनुसार नेपाल र श्रीलङ्काका विद्यालयबीच विद्यार्थी आदानप्रदान, शैक्षिक परामर्श, अनुभव तथा सिकाइको आदानप्रदानलगायतका कार्यक्रम सञ्चालन गरिनेछ। सम्भव भएसम्म विद्यार्थीलाई एक महिनासम्म अर्को देशका विद्यालयमा अध्ययन, रहनसहन, संस्कृति तथा शैक्षिक पद्धतिको प्रत्यक्ष अनुभव गराउने कार्यक्रमसमेत अघि बढाइने बताइएको छ।

कार्यक्रममा नेपालका विद्यार्थीलाई श्रीलङ्काका विद्यालयमा लगेर त्यहाँको शिक्षण–सिकाइ पद्धति तथा संस्कृतिबारे अवलोकन गराउने र श्रीलङ्काका विद्यार्थीलाई नेपाल ल्याई नेपाली शिक्षा प्रणाली तथा सामाजिक–सांस्कृतिक पक्षको अनुभव गराउने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रमलाई धर्मपाला विद्यालयकी शिक्षिका मेदिनीले सहजीकरण गरेकी थिइन् भने सानका सचिव बाबुराम गौतमले सानका तर्फबाट सहजीकरण गरेका थिए। कार्यक्रममा सानका प्रतिनिधिले धर्मपाला विद्यालयलाई मायाको चिनो प्रदान गर्नुका साथै विद्यालयमा अध्ययनरत करिब पाँच सय विद्यार्थीलाई दिवा खाजा तथा शैक्षिक सामग्री वितरण गरेका थिए।
त्यस अवसरमा धर्मपाला विद्यालयका तर्फबाट नेपालबाट सहभागी प्राचार्यहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। विद्यालयकी प्राचार्य कामिनीले नेपाल र सानसँग शैक्षिक सहकार्य गर्न पाउनु श्रीलङ्काका लागि महत्वपूर्ण अवसर भएको बताइन्।

उनले आगामी दिनमा श्रीलङ्काबाट विद्यालयका प्रतिनिधि तथा विद्यार्थीलाई नेपाल ल्याई नेपालको शैक्षिक प्रणाली, शिक्षण पद्धति र अन्य शैक्षिक गतिविधिको अध्ययन तथा अवलोकन गराउने वातावरण निर्माणका लागि आवश्यक कागजी प्रक्रिया र सम्झौतामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रमपछि धर्मपाला विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, पदाधिकारी तथा नेपालबाट सहभागी सानका प्रतिनिधिबीच संयुक्त दिवा भोजको आयोजना गरिएको थियो। श्रीलङ्काका विद्यार्थीहरूले नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुतिमार्फत नेपाली प्रतिनिधिको स्वागत गरेका थिए।
कार्यक्रमको अन्त्यमा सानका तर्फबाट अध्यक्ष दिलिप रेग्मी लगाएत पदाधिकारीहरुले धर्मपाला विद्यालय, श्रीलङ्का सरकारका प्रतिनिधि तथा सहभागी पदाधिकारीलाई मायाको चिनो प्रदान गरिएको थियो। दुवै पक्षले आगामी दिनमा शैक्षिक सहकार्यलाई थप विस्तार गर्दै विद्यार्थीको सिकाइ, अनुभव र सांस्कृतिक आदानप्रदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।