शुक्रवार, आश्विन ९ २०८३
काठमाडौं । नेपाल शिक्षक महासंघका नवनियुक्त अध्यक्ष सुन्दर पन्तले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
महासंघको नेतृत्व सम्हाल्दै अध्यक्ष पन्तले शिक्षकका पेशागत तथा शैक्षिक मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पदभार ग्रहण कार्यक्रममा महासंघका पदाधिकारी, शिक्षक तथा शुभेच्छुकहरूले पन्तलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

पन्तले शिक्षकका हकहितसँगै विद्यालय शिक्षा सुधारका विषयलाई प्रभावकारी रूपमा अघि बढाउन महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्। शिक्षकका समस्या समाधानका लागि सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र संवादलाई निरन्तरता दिने उनको भनाइ छ।
उनले शिक्षकको पेशागत सुरक्षा, सेवा–सुविधा, सरुवा–बढुवा, विद्यालय शिक्षासम्बन्धी कानुन तथा शिक्षकका विभिन्न मागलाई आगामी दिनमा प्राथमिकताका साथ उठाउने बताएका छन्।
पदभार ग्रहणका क्रममा पन्तलाई खादा तथा माला लगाएर स्वागत गरिएको थियो। पदभार ग्रहणपछि उनी महासंघको कार्यकक्षमा बसेका थिए।