आइतवार, भाद्र ६ २०७८
काठमाडौँ–कोभिड १० संक्रमणका कारण बिद्यालयहरु भौतिक रुपामा संचालन नहुदा शिक्षण शिकाइ प्रभावकारी र प्राविधिमैत्री बनाउन काठमाडौ महानगरले 'एक शिक्षक, एक ल्यापटप' अभियान संचालन गरेको छ।
यस अभियान अन्तर्गत महानगरको कन्या मन्दिर माद्यमिक विद्यालयका २७ जना शिक्षकहरूलाई ल्यापटप बितरण गरिएको हो।
ल्यापटप वितरण कार्यक्रममा वडाध्यक्षहरू नीलकाजी शाक्य र नविन मानन्धर तथा महानगरका शिक्षा अधिकृत मोतीराज खनाल सहभागी भएका थिए ।
कार्यक्रममा महानगर शिक्षा अधिकृत खनालले, चालु आर्थिक बर्षको कार्यक्रममा महानगरले शिक्षकका लागि ल्यापटप खरिद गर्न बजेट विनियोजन गरेको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि वडा २५ का अध्यक्ष निलकाजी शाक्यले शिक्षकहरूसँग भने, ‘विद्यालयमार्फत रचनात्मक कार्यक्रम महानगरमा ल्याउनोस् । तपाईँहरूका कार्यक्रममा बारेमा हामी महानगरमा छलफल चलाउँछौँ । महानगरका शैक्षिक कार्यक्रम अन्य पालिकाका लागि अनुकरण योग्य हुनुपर्छ ।’
प्रविधिमैत्री सिकाइका लागि शिक्षकहरूले ल्यापटप प्राप्त गर्नु कार्यक्रमको पहिलो चरण हो । कार्यक्रममा वडा १७ का अध्यक्ष नविन मानन्धरले, शिक्षण सिकाइका लागि शिक्षकलाई निशर्त सामाग्री तथा उपकरण दिइनु पर्ने र मोवाइल वा ल्यापटप किन्न नसक्ने विद्यार्थीका बारेमा पनि सोच राख्नुपर्ने बताए ।
यसरी वितरण गरिएका ल्यापटप सम्बन्धी प्राविधिक ज्ञानका लागि हामीले तालिम आयोजना गर्नेछौँ । आज वितरण गरिएका ल्यापटप राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, महानगरको केन्द्रीय बजेटबाट प्राप्त रकम र विद्यालयको आन्तरिक आयबाट प्राप्त रकमबाट खरिद गरिएका हुन् ।
ल्यापटप वितरण कार्यक्रममा शिक्षक संघकातर्फबाट नारायण गौत्तम, अखिल नेपाल शिक्षक संगठनकातर्फबाट डिल्लीराज शर्मा, एकीकृत शिक्षक संगठनकातर्फबाट बाबुराम घिमिरेले धारणा राख्दै, लक्षित समूहका अभिभावकलाई मोवाइल वा ल्यापटपको पहुँच बढाउने कार्यक्रम ल्याउनु पर्ने बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पमान मानन्धरले शैक्षिक सुधारमा परिणाम देखिन थालेको बताए ।
‘शिक्षकहरूमा आफैँ सिक्ने र विद्यार्थीलाई सिकाउने व्यवहार बढेको छ । यसलाई संस्थागत बनाउने प्रयासमा छौँ’ कन्या मन्दिरका निमित्त प्रधानाध्यापक बद्रीनाथ भट्टराईले शिक्षकहरूसँग भने ।
यसैगरी बिद्यालय व्यवस्थापन समितिमा समेत शिक्षकको प्रतिनिधित्व गर्ने घनश्याम न्यौपानेले प्रविधिको उपयोगमा विगत अभ्यासकाबारे जानकारी गराए ।
यसअघि वडा ६ को जनकल्याण माद्यमिक विद्यालय बौद्ध महाङ्कालका ३१ जना शिक्षकलाई ल्यापटप दिइसकेको छ ।
महानगरको केन्द्रीय बजेट, बौद्धनाथ क्षेत्र विकास समिति र आन्तरिक आय मिलाएर खरिद गरेर ल्यापटप बितरण गरिएको बताइएको छ।
यसरी सामुदायिक विद्यालयका शिक्षक प्रविधिमैत्री हुनु शैक्षिक गुणस्तरको एउटा सूचक हो ।