मंगलवार, मंसिर २ २०७७
यी शब्दहरूमा मेरा रगत लत्पतिएका छन् र मेरो शरीरका घाउ, पीडा बोलेका छन् ।
प्रियजनहरू, यो मेरो कुनै प्राज्ञिक लेख होइन । मलाई गरिएको दानवीय र बर्बर हमलापछिका मेरा जीवनका सुस्केरा हुन् ।
तपाईंहरूले यसबाट एउटा निरीह शिक्षकको जीवन बिनाकारण कसैको इगो, घमण्ड, रिस र आर्थिक अभिष्टको शिकार कसरी बन्छ भन्न थाहा पाउन सक्नुहुनेछ ।
ममाथि भएको सांघातिक हमलाका कारणले गर्दा गएको एक महिनादेखि म जीवन र मृत्युसँग कठोर संघर्ष गरिरहेको छु । ओछ्यानमा कोल्टो फेरेर राम्ररी सुत्न सकेको छैन । मेरो मुटुकाे धडकन र दिमाग सामान्य हुन सकेको छैन । एक हप्तासम्म दिशापिसाब गर्न सकिनँ । पाइपको सहारा लिनुपर्यो । टाउको एकनासले दुखिरहेको छ । भाँच्चिएको खुट्टा यताउता सार्न हुँदैन । वासरुम जानसक्नु मेरा निम्ति कठिन कुरा भएको छ । शरीरमा चोट नभएको कुनै ठाउँ छैन ।
आजभोलि हरेक रात म यस्तो डरलाग्दो सपना देख्छु – बाहिर ढोका बन्द हुन्छ, तर तीन जना मान्छे म सुतिरहेको कोठामा झ्यालबाट छिर्छन् र पछाडिबाट मलाई च्याप्प समात्छन्, अनि मेरो श्वासप्रश्वास बन्द हुन्छ र म चिच्याउँछु ।
मेरी दिदीहरूका आँखा अझै ओभाएका छैनन् । आमाले अहिलेसम्म खाना खानु भएको छैन । मेरी अबोध छोरी र छोरालाइ म आफूलाई के भएको हो भनेर भनौँ ? मसँग उत्तर छैन ।
उनीहरू मलाई मार्न चाहन्थे । तर म बाँचेँ । म बाँच्नु मेरा प्रियजनका लागि खुसीको कुरा हो । उनीहरू मलाई एक्लै छ भन्ठान्थे । मलाई पनि कहिलेकाहीँ आफू एक्लै छु भन्ने नलागेको कहाँ हो र ? तर म एक्लै रहेनछु ।
प्यारा विद्यार्थी, प्राध्यापक साथी, पत्रकार मित्र, र आदरणीय गुरुजनहरू ,
मैले जीवन र मृत्युसँग संघर्ष गरिरहेका बेला तपाईंहरूले दर्शाएको माया, प्रेम, करुणा र सद्भावका लागि म ऋणी छु । तपाईंहरूले मप्रति प्रकट गर्नुभएको माया, करुणा, सद्भावका अगाडि घृणाका सञ्चालकहरू हार्नैपर्छ । तर पनि न्याय किनबेच हुने र दलको आडमा जस्तोसुकै अपराध गर्न पनि छुट हुने यो देशमा भन्न के सकिन्छ र ?
मलाई त्यसरी भाडाका गुण्डा लगाई पछाडिबाट आएर हान्नुपर्ने कारण के थियो ? यो गर्न कायरहरूले कोबाट कति पैसा पाएका थिए ? एक त यहाँ मान्छेको जीवन यसै असुरक्षित छ । अहिले कोरोना संक्रमणको दर ५ हजार पुग्न थालिसक्यो । मेरो आफ्नै घरले पनि कोभिड झेल्यो । घरमा बस्नुपर्ने, परीवारको देखभाल गर्नुपर्ने यो बेला म आफै अशक्त बनर आफन्तको शरणमा बस्नुपर्यो ।
यो कुनै लेख लेख्ने समय नभए पनि अस्पतालको बेडमा परेदेखि हालसम्म घटना किन र कसरी भयो भन्ने प्रश्नबाट भाग्न नसकेकाले सकिनसकी लिपिवद्ध गरेको हुँ ।
विश्वविद्यालय, न्याय र देश
एक महिना दुःख गरेर महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञावालीको कमान्डले ५ जना हमलाकारी पक्रेर काठमाडौं जिल्ला अदालतलाई बुझायो । दुई जना मूल अपराधी फरार छन । उनीहरू कांग्रेस नेता कृष्ण सिटौला, शेखर कोइराला र नेविसंघका महामन्त्री बलदेव तिमिल्सेनाको संरक्षणमा छन भन्ने मैले सुनेकाे छु । प्रहरीको अनुसन्धान, सरकारी वकिलको कार्यालयसमक्ष अपराधीले दिएको बयान, दायर भएको अभियोगपत्र, अदालतको इजलासमा समेत अपराधीहरूले गरेको बयानबाट मार्ने उद्देश्यले मलाई हमला गरेको स्वीकारिसकेका थिए । अनुसन्धानका प्रमाणलाई बेवास्ता गर्दै सेटिङमा थुनछेक बहसमार्फत न्यायाधीश अम्बिकाप्रसाद निरौलाको आदेशबाट अपराधी सामान्य धरौटीमा छाडिए ।
यो त अपराधीले हामीले मार्ने उद्देश्यले नै हानेको हो भन्दाभन्दै, न्यायमूर्तिले ‘होइन तिमीहरूले त्यस्तो केही गरेका छैनौ, यस्ता साधारण कुटपिट त भइरहन्छन्, तिमीहरूलाई जहाँ जानु छ जाऊ, जे गर्न मन लाग्छ गर भनेर छाडिदिएजस्तै भयो । यो निर्णयले मजस्ता पीडितको घाउमा नुनचुक मात्रै छर्केको छैन र अपराधीलाई उन्मुक्ति हुने सुविधा मात्रै दिएको छैन, भविष्यका निम्ति गलत नजिर स्थापित गरेको छ । यस्ता पूर्वाग्रही, विवेकशुन्य निर्णय गर्ने न्याय सम्पादनको परिपाटीले बसाउन खोजेको नजिर कस्तो हो ?
प्रियजनहरू, मैले वर्षौंदेखि पसिना र रगत बगाइरहेको मेरै विश्वविद्यालयको प्राङ्गणमा दिनदहाडै सांघातिक हमला बेहोर्नुपर्यो । यो विश्वविद्यालय मैले जतिसुकै आफ्नो ठाने पनि मेरो होइन रहेछ । यदि यो मेरो हुन्थ्यो भने मजस्तो एक निहत्था शिक्षकलाई पिछा गरीगरी मलाई मार्न आउने हिम्मत कसैले गर्न सक्दैनथ्यो । गर्नेहरू तुरुन्तै कारबाहीका हकदार भइसक्थे । त्यसो गर्नुको साटो, आँखामा पट्टी बाँधेर, त्यस्ता अपराधीलाई उन्मुक्ति दिने न्यायालय पनि मजस्ताको रहेनछ ।
यो विश्वविद्यालय, यो न्यायालय, र यो देश गुण्डाहरूको रहेछ । मलाई उनीहरूले बिनाकारण विश्वविद्यालय परिसरमै आक्रमण गर्ने आँट त्यसै गरेका होइन रहेछन् । दलको आडमा यो देशको कानुन, न्यायालय, विश्वविद्यालय र प्रहरीको खिल्ली उडाउन सकिन्छ र उनीहरूले छुन पनि सक्दैनन् भन्ने आँकलन गरेर उनीहरूले यस्तो हर्कत गरेका हुन् । त्यति मात्रै कहाँ हो र, यो देशको आफूलाई लोकतन्त्रको सबैभन्दा ठूलो ठेकेदार ठान्ने नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले खुलेआम अपराधी जोगाउने आन्दोलन गर्यो । सामान्य कुटपिट गरेका हुन् यस्तो त भइरहन्छ, भन्यो । अपराधीलाई आफ्ना नेता भन्यो र उनीहरू विरुद्धका जाहेरीलाई झुटा भन्यो ।
कांग्रेसभित्र कोही इमानवान् राम्रा मान्छे हुनुहुन्छ भने अपराधीको संरक्षणमा पार्टी लागेको छैन भनेर प्रमाणित गरिदिनोस् । मलाई मार्न तम्सिनेहरू को हुन् भनिदिनुपर्यो ।
यही २०७७ साल अश्विन २० गते । बिहान पौने दश बजे डेढ दशकदेखि आफू प्राध्यापनरत विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरभित्रैको नेपाल बैंक लिमिटेडको एटीएमबाट पैसा झिकेर आवासगृहतिर फर्कंदै थिएँ । मलाई पछाडिबाट एक्कासि हिर्काइयो । मैले जीवनमा कहिल्यै नदेखेका, नचिनेकाहरू धुरिएर मलाई हानिरहे । फलामका रड, भाटा आदिआदिले । उनीहरू मेराे पिछा गर्दै आएका थिए । क्रिकेट मैदान नजिकको अलि एकान्त जंगलको बाटोमा पछाडिबाट एकजनाले मेरो टाउकोमा हान्न ठिक्क परेको मैले कसोकसो देखेँ । अनि बिन्ती बिसाएँ, 'भाइ मलाई किन हान्न खोज्नु भएको ? जानअन्जानमा केही गल्ती भए माफी पाऊँ ।’ एक शब्द पनि नबोली उसले बोकेका चिर्पट मेरो टाउकोमा वज्रियो । चिर्पट र रड बोकेका अरु तीन जना तलबाट घेर्दै आउन थाले ।
पहिलो मान्छेले मेरो टाउकोलाई निशाना बनाएर हानेका पाँचवटाजति प्रहार मेरो हातले छेक्दा पनि टाउकोमा बजारिए । तर जब चारै जनाले मलाई लखेट्दै, भाटाले जीउमा घोच्दै हान्न थाले, मेरो जोड चलेन । भाग्न पनि सकिनँ । म चोटबाट रन्थनिइसकेको थिएँ । माथि साधारण रातो टिसर्ट, खुट्टामा फित्तावाला चप्पल र लुज ट्राउजर घुँडामाथिसम्म दोबारेको थिएँ । टाउको, पेट, छातीमा हानिएका अनगिन्ती चोट धान्न सकिनँ । अघिसम्म सद्दे मेरो दाहिने खुट्टा हेर्दाहेर्दै भाँचिएपछि म वारी सडकबाट लतारिँदै उछिट्टिएर पारि क्रिकेट मैदानपट्टिको सडकतर्फ ढलेँ ।
त्योबीचमा आएका केही मोटरसाइकल र पैदलयात्रीसँग मैले गुहार मागेँ । अहँ, कसैले वास्ता गरेनन् । हमलाकारीसँग जीवनको भीख मागेँ । उनीहरू रोकिएनन् । म ढलिसकेपछि पनि जथाभावी हानिरहे । मेरो जीउमा बज्रेका बाँसका भाटाले त्रिवि परिसरको जंगल गुञ्जायमान भयो । त्यहीबीच तीन/चारवटा मोटरसाइकल त्यहीँनेर आएर अडिए । म ढलेको अवस्थामा बचाऊ बचाऊ भनिरहेँ ।
आक्रमणकारी ममाथि धुरिइरहे । यो दुरावस्था पैदलै अफिस हिँडिरहेकी महिलाले देखिछिन् । अनि जोडले बचाऊ बचाऊ भन्दै चिच्याइदिइन् । ती महिला मेरा निम्ति देवी बनेर अवतरित भएझैँ लाग्यो । महिला चिच्याएपछि मोटरसाइकलवाहक पनि आए । उनीहरू मेरा निम्ति भगवान् बनेर प्रकट भए । त्यो चिच्याहट सुनेर त्रिवि रंगशालामा काम गर्ने दिदीबहिनीहरू थपिए । त्यसपछि ममाथि आक्रमण गर्ने कायरहरू बुलेट र स्कुटर चढेर भागे । उनीहरूले प्रहरीको जस्तो घुर्मैलो गाढा नीलो लुगा, मुखमा मास्क र टाउकोमा एप्रोन लगाएका थिए । ठ्याक्कै प्रहरीजस्तै । घटना सुनियोजित थियो । मलाई हान्नुभन्दा पहिला मेरो बस्ने ठाउँ, मेरो मर्निङ वाक जाने समय, मेरो इभिनिङ वाक जाने समयको रेकी गरिएको थियो भन्नेमा म विश्वस्त छु ।
मैले त्रिविको समाजशास्त्र केन्द्रीय विभागमा विद्यार्थीको एक जमातले लगाएको ताला फोडेका कारण मलाई यसो गरिएको हो भनेर भनिएको छ, जुन सर्वथा गलत छ । मलाई कसैको ताला फुटाएर पाउनु के थियो ? हो निश्चय नै नयाँ विभागीय प्रमुखले सहयोग मागेपछि महिनौंदेखि लगाएको ताला खुलाउन उनीहरूसँग वार्ता गर्न हामी सबै लागेका हौँ । मेरो त सबैसँग मिलेर जानुपर्छ भन्ने लाइन थियो ।
उनीहरूले नमान्ने भएपछि ताला लगाएको ५२ दिनपछि विभागले सर्वोच्च अदालतको आदेश परिपालना गर्दै ताला फुटाएको हो । ताला फुटाउँदा उभिएका २० जनाजति शिक्षकमा म पनि एक थिएँ । अनि यो मैले फुटाएको ताला हो ? ताला फोडिएको दिन उनीहरूसँग केही भनाभन भएको थियो । उनीहरूले हाम्रा गुरुलाई अपमान गर्न आउँदा बचाउमा एक/दुई शब्द मैले बोलेकै हो । त्यसको तार्किक खण्डनको म स्वागत गर्छु नै । केही गल्ती भएमा मलाई माफी माग्न कुनै हिचकिचाहट हुँदैन । मलाई यसरी मार्ने तहको योजना बनाउने योजनाकार थिए, आफूलाई कांग्रेस सम्बद्ध कृष्ण सिटौला गुटको अध्यक्ष र सचिव बताउने हरि आचार्य र योगेन्द्र रावल ।
त्रिविमा नेविसंघका चारवटा समूह छन् । मलाई यो सम्पूर्ण नेविसंघले गरेको लागेको थिएन । तथापि सम्पूर्ण नेविसंघले हामी अपराधीको पक्षमा छैनौँ भन्नुको साटो बचाउमा आउनु निन्दनीय छ । हरि आचार्य करिब १० वर्षअघि डिग्री सकाएको समाजशास्त्र विभागकै एक टुरिस्ट विद्यार्थी हो । योगेन्द्र रावल झन् नितान्त चुनाव लड्ने अभिप्रायले मात्रै भर्ना भएको हाे । रावल पहिलो, दोस्रो र तेस्रो सेमेस्टरमा एक दिन पनि कक्षामा नआउने टुरिस्ट विद्यार्थी नै हो भन्नुपर्दा मलाई खेद छ । यिनीहरू गैरविद्यार्थी हुन् । यिनलाई विद्यार्थीका हकहित र विश्वविद्यालय सुधारसँग केही लिनुदिनु छैन । मलाई हान्न आउनेहरू त एक/जना पनि विश्वविद्यालयका विद्यार्थी होइनन् ।
हरि र योगेन्द्र गुरु–शिष्य परम्परा र मानवताका हत्यारा हुन् । उनीहरूका भाडाका गुण्डाले सुरुमै आत्मसर्मपण गरिसकेको मान्छेलाई पनि छाडेनन् । कक्षामा नियमित पढ्न आउनेहरू मात्रै मेरा असली विद्यार्थी हुन । यस्ता गुण्डाको सहारा लिएर राजनीति गर्नेले न त असल विद्यार्थीलाई प्रतिनिधित्व गर्छन् न त उनीहरूसँग विद्यार्थी हकहित र विश्वविद्यालय सुधारको कुनै एजेण्डा हुन्छ । त्यसैले विश्वविद्यालयमा टुरिस्टहरू विद्यार्थी नेता बन्ने र बनाइने परम्परा विश्वविद्यालय र देशको निम्ति दुर्भाग्य हो । यस्ता नक्कली विद्यार्थीले विद्यार्थी राजनीति ओगटेका कारण विश्वविद्यालयबाट वैकल्पिक राजनीतिक नेतृत्वको साटो डनहरू जन्मिँदै छन् ।
अन्तर्विरोधको जरो
नढाँटी भन्नुपर्दा यसको जरो समाजशाष्त्र विभागको विभागीय प्रमुखसँग ठोक्किन्छ । हालका पदाधिकारी आएको धेरै समय भएको छैन । विश्वविद्यालय थिलथिलो बनाइनुमा तीन दशकदेखिको दलीय भागवण्डा र विश्वविद्यालयको यसअघिको प्रशासनको भूमिका बढी जिम्मेवार छ । यदि विश्वविद्यालय पहिल्यैदेखि विधि, पद्दति, योग्यता, क्षमता, र मेरिटमा चलेको हुन्थ्यो भने समाजशास्त्र विभागमा विभागीय प्रमुखको विषयलाई लिएर लड्नुपर्ने अवस्था आउँदैनथ्यो ।
विश्वविद्यालयका धेरैजसो विभाग तथा क्याम्पसहरूमा सबैभन्दा जुनियरलाई विभागीय प्रमुख बनाएर मेरिटको खिल्ली उडाउने काम पूर्वउपकुलपति तीर्थ खनियाँबाट भयो । आफू जाने बेलामा शक्तिको दुरुपयोग गर्दै उनले पार्टीगत जोडघटाउका आधारमा आफ्नो खल्तीबाट काम चलाउ तीनमहिने विभागीय प्रमुखको नियुक्ति बाँडे । समाजशास्त्रको हकमा चौथो वरीयताको शिक्षकलाई विभागीय प्रमुख बनाइयो । एउटा इतिहास र विरासत बोकेको विभागमा २०औँ वर्ष सिनियर, योग्य, र क्षमतावान् शिक्षक हुँदाहुँदै यसरी स्वेच्छाचारी ढंगले नियुक्ति बाँड्नु न्यायोचित थिएन । अहिले विधि र पद्धतिका ठूला कुरा गरेर आन्दोलनको नाटक गर्नेहरू राजनैतिक भागवण्डा र यो बेथितिका सारथि थिए ।
केन्द्रीय विभागमा नयाँ स्थिति
प्राध्यापक धर्मकान्त बाँस्कोटा नयाँ उपकुलपति नियुक्त भएर आइसकेपछि पहिले भएका स्वेच्छाचारी निर्णयको पुनरावलोकन गर्दै विश्वविद्यालयका केन्द्रीय विभागहरूमा मेरिटका आधारमा विभागीय प्रमुखको नियुक्ति भयो । जस्तो उनले समाजशास्त्र, अर्थशास्त्र, भाषा विज्ञान, र जनसंख्या विभागमा योग्यता, क्षमता, र वरिष्ठतालाई मापदण्ड बनाएर विभागीय प्रमुखको नियुक्ति गराए । समाजशास्त्र विभागको हकमा पहिले खनियाँको पालामा गरिएको स्वेच्छाचारी निर्णयको पुनरावलोकन भयो । शिक्षण संस्थाहरूमा मेरिट कायम गर्ने कामलाई साथ दिनु सबैको कर्तव्य हुन्थ्यो । म पनि त्यो कर्तव्यपथमा लागेको थिएँ ।
मेरिट मिचिएको थियो भने शान्तिपूर्ण रुपले त्यसको प्रतिरोध गर्न सकिन्थ्यो । त्यसो नगरी जायज निर्णय भएका ठाउँबाटै गुण्डागर्दीको शैलीमा विरोध सुरु भयो र विभागमा ताल्चा लगाइयो । उपकुलपतिको कार्यकक्षमा तोडफोड गरियो र उनको कुर्सी जलाइयो । ३०औँ वर्ष पढाएका प्राध्यापकलाई विश्वविद्यालयमा आउन नदिन निषेधाज्ञा जारी गरियो । यो सब भागवण्डाका लागि थियो । खल्तीका मान्छेलाई पद दिलाउन गरिएको थियो ।
हामीले त मेरिटमा भएको निर्णयलाई साथ समर्थन मात्रै दिएको हो । उनीहरूले विभागलाई बार्गेनिङ चिप्स बनाइरहेका थिए । प्रक्रिया नमिलेको हवाला दिएर अन्तर्यमा पदको बार्गेनिङ थियो । मेरिटका आधारमा विभागीय प्रमुखलाई साथ सर्मथन दिनेमा म एक्लो थिइनँ । विभागको ताल्चा पनि सर्वोच्चको आदेश र प्रशासनको सहयोगमा खोलिएको हो ।
त्यसैले मेराे प्रश्न छ:
प्रियजनहरू, विश्वविद्यालयको मूल परिसरभित्रै, त्यत्रो चहलपहल हुने समयमा कसैले मलाई यतिसम्मको हर्कत गर्ने आँट त्यसै गरेको होइन । उनीहरूलाई यो देशको प्रहरी, न्यायालयले छुन सक्दैन भन्ने कुरा घटनाका मुख्य सञ्चालक अहिलेसम्म पनि पक्राउ पर्न नसक्नु र अपराध स्वीकारिसकेका अपराधीहरू पनि अदालतबट धमाधम छुट्नुले पुष्टि भइसकेको छ । मलाई हमला गरेर उनीहरूलाई विश्वविद्यालयमा केवल भय र अविश्वासको बातावरण फैलाएर आफ्नो वर्चस्व कायम गर्नु थियो । लाग्छ, उनीहरू सफल भए । प्राध्यापक मित्र, तपाईंहरू भने यता मेरो पार्टीगत पहिचान खोज्दै बस्नुभएको छ भन्ने सुन्दा मेरो मन भतभती पोलेको छ ।
तपाईंहरू मैनबत्तीजस्तै जल्ने, अरुलाई उज्यालो दिने र विस्तारै आफै सकिने पेसामा हुनुहुन्छ । मैले आदर गर्ने मेरा प्रिय गुरु, मेरा आदर्श यही पेसामा थिए र छन् । म एउटा सुदूरको फुच्चे, भुइँमान्छे लड्दै, भिड्दै संघर्ष गरेर तपाईंहरूको त्यही लाइनमा उभिन आएको थिएँ । तपाईंहरूसँग मिल्ने योभन्दा ठूलो मेरो पहिचान अरु के हुन सक्छ ? यो फरक विचारलाई नसहने बौद्धिकताविरोधी आक्रमण थियो । यस्तै भय, त्रास, र अविश्वासमा विश्वविद्यालयमा आलोचनात्मक र सृजनशील सिकाइ कसरी सम्भव होला ?
बहस, छलफल, संवादको ठाउँमा यो देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दलको भातृ संगठनले बाँसका भाटाहरू ल्याएको छ । यस्तै माहोलमा तपाईंले गान्धी, मार्क्स, बुद्ध, कन्फ्युसियस, ह्यावरमास, पाउलो फ्रेरे, नोम चोम्स्की, एडबार्ड सइद, इम्यानुअल वालेस्टाइन, रोमिला थापर वा अरुन्धती रोय कोही पनि कसरी पढाउन सक्नुहुन्छ ?
- चलाउने त्रिवि समाजशास्त्र विभागका उप-प्राध्यापक हुन् । शिलापत्र बाट !