आइतवार, भाद्र २७ २०७८
काठमाडौं - धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक भएको भन्ने प्रमाणपत्र नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी प्रतिष्ठानका उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएको र कानुनी प्रक्रिया शुरु भैसकेको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिको ६ नम्बर बुँदामा लेखिएको छ, ‘उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकोले प्रचलित कानून बमोजिमको प्रक्रिया शुरु भइसकेको छ ।’ तर गिरीले भने आफ्नो नामको अगाडि प्रा. डा. लेख्दै आएका थिए ।
यस अघि प्रतिष्ठान शुद्धीकरण अभियान चलाउँदै आएकाहरु विद्यार्थी तथा क्रमचारीले उपकुलपति गिरीले कीर्ते प्रमाण बनाएर काम गर्दै आएको भनी दाबी गर्दै पदमुक्त गर्न माग गर्दै आएका थिए ।
स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र आन्दोलनरत पक्षबीच १९ साउनमा ६ बुँदे सहमति भएको थियो । सहमतिपछि आंशिक रुपमा आन्दोलन फिर्ता भएको थियो ।
प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवेदन सार्वजनिक भइसक्दा पनि दोषी देखिएका पदाधिकारीहरुमाथि कारबाही नभएको भन्दै संघर्ष समितिले परीक्षा बाहेकका सेवा बन्द गरेको छ ।
मन्त्रालयका प्रवक्ता पौडेलले विज्ञप्ति जारी गर्दै अधिकांश मागहरु सम्बोधन भइसकेको र केही विषयहरुमा अध्ययन भइरहेको भन्दै आन्दोलन नगर्न आग्रह गरेका छन् ।