बिहिवार, आश्विन २१ २०७८
काठमाडौ - मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आफ्नै श्रीमतीलाई प्रतिष्ठानको कार्यालय सहायक पदमा नियुक्त गरेका छन् ।
रजिष्ट्रार प्रसाई आफै उम्मेदवारहरूको परीक्षा र अन्तर्वार्तामा सहभागी भई आफ्नै पत्नी कमला प्रसाई निरौलालाई कार्यालय सहायक पदमा नियुक्त गरेका हुन् । यस अघि सो पदमा एक जना कर्मचारी माग भएकोमा रजिष्ट्रार प्रसाईंको श्रीमतीसहित अन्य पाँच जनाले आवेदन दिएका थिए ।
प्रसाईको संयोजकत्वमा रहेको पदपूर्ति समितिले कार्यालय सहायकसहित विभिन्न पदमा कर्मचारी नियुक्त गरेको छ । समितिको सदस्य सचिवमा प्रतिष्ठानका प्रशासकीय अधिकृत अमर अधिकारी, सदस्यमा प्रतिष्ठानका संयोजक चिरञ्जिवी चुडाल र अन्य विज्ञ समेत रहेका रहेका छन् ।
श्रोतका अनुसार प्रसाईले प्रदेशको लोकसेवा आयोगमार्फत कर्मचारी नियुक्ति गर्नुपर्ने प्रावधान विपरीत पदपूर्ति गरेका हुन् । लोक सेवा आयोगको प्रावधान मिचेर रजिष्ट्रार प्रसाईले कार्यविधि बनाएर प्रतिष्ठानका लागि विभिन्न १० पदमा विज्ञापन प्रकाशन गरेका थिए । प्रतिष्ठानले प्रकाशित विज्ञापनको असोज १२ र १३ गते क्रमशः लिखित र मौखिक परीक्षा संचालन गरेको र उक्त परीक्षाको नतिजा बुधबार सार्वजनिक गरिएको थियो ।
रजिष्ट्रार प्रसाईले आफ्नो श्रीमतीले प्रतिष्ठानमा काम गर्न नपाउने प्रावधान नरहेको भन्दै नियमसंगत रुपमै नियुक्ति गरिएको बताए । उनले वर्षौंदेखि नर्सिङ सेवामा काम गरेको अनुभव र योग्यताका कारण श्रीमतीले नियुक्ति पाएको उनले बताए । आफ्नो श्रीमतीले जागिर खान नपाउने कुरा कुनै कानुनमा नलेखिएको भन्दै उनले लेखिएको भए त्यस्तो प्रावधान देखाउन चुनौतीसमेत दिए ।
उनले सो पदपूर्ति समितिमा रहे पनि आफू परीक्षाको कुनै प्रक्रियामा सहभागी नभएको दाबी गरे । विगतमा रजिष्ट्रार पदमा नियुक्तिका विषयमा पनि विभिन्न टीका टिप्पणी भएकाले यस्ता टिप्पणी कुनै नौलो कुरा नभएको उनले बताए ।
रजिष्ट्रार प्रसाई बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईका छोरा हुन् ।
