Jul 27 2026 | २०८३, श्रावण ११ गते

सजिलोसँग पढ्‍न र बुझ्‍न सक्‍ने शिक्षण

सजिलोसँग पढ्‍न र बुझ्‍न सक्‍ने शिक्षण

  • 573
    SHARES

  • सजिलोसँग पढ्‍न र बुझ्‍न सक्‍ने शिक्षण

    शिक्षण सरल र बुझ्न सक्ने हुनसक्छ । त्यसका लागि तपाईंमा केवल कला‚ सरल भाषा‚ विद्यार्थीको बुझाइको स्तर बुझ्नसक्ने क्षमता हुनुपर्छ र त्यसै अनुसार शिक्षण गर्नुपर्छ । त्यस्तो शिक्षणका लागि यहाँ केही जानकारी छन्, जसलाई शिक्षक/शिक्षिकाले कक्षाकोठामा र विद्यालय परिसर तथा बौद्धिक अपाङ्गता भएका बालबालिकासँग सञ्‍चार गर्न प्रयोग गर्नुपर्दछ ।

    सरल शिक्षण के हो ?

    विद्यार्थीले बुझ्न र सिक्न सक्नेगरी शिक्षण गराउनु शिक्षकको कर्तव्य हो । विद्यार्थी जब किशोर अवस्थामा जान्छन्, यो अझ जटिल हुन्छ । उनीहरूका धेरै किसिमका जिज्ञासा आउँछन्, जसलाई बुझेर शिक्षण गराउन शिक्षकलाई निकै चुनौतीपूर्ण हुन्छ ।

    यस्तो अवस्थामा विद्यार्थीमा बौद्धिक अपाङ्गता छ भने शिक्षकलाई चुनौती अरू थपिन्छ किनकि यस्ता बालबालिका आफ्ना भावना राम्ररी व्यक्त गर्न र शिक्षकसँग सामान्य शिक्षणबाट सजिलै सिक्न सक्दैनन् । हो‚ यस्तो परिस्थितिमा बौद्धिक अपाङ्गता भएका बालबालिकाले बुझ्नसक्ने र आफ्ना भावना व्यक्त गर्न सक्नेगरी गरिने शिक्षणलाई सरल शिक्षण भनिन्छ ।

    कसरी ?

    सरल शिक्षणका लागि धेरै विधि प्रयोग गर्नुपर्ने हुनसक्छ । वर्तमानमा हाम्रो देशमा यस्तो शिक्षणका लागि शिक्षण सामग्री बनेकासमेत छैनन् । तथापि, पहुँच हुनेखालका अन्तर्राष्ट्रिय सामग्रीहरू प्रयोग गर्न सकिन्छ । यहाँ सरल शिक्षणका लागि केही उपयोगी सीप तथा जानकारी छन्, जसलाई शिक्षकले उपयोग गर्नुपर्छ ।

    १. भाषा वा बोलाइ साधारण‚ सरल तथा सजिलैसँग बुझ्नसक्ने हुनुपर्छ ।

    २. बोलाइ बिस्तारै र सफा हुनुपर्छ ।

    ३. विद्यार्थीले तपाईंले बोलेको कुरा बुझिरहेका छन् कि छैनन् भन्‍ने ख्याल गर्दै शिक्षण गर्नुपर्छ । विद्यार्थीले प्रश्‍न गरून् भन्‍नेमा ध्यान दिनुपर्छ । उनीहरूका जिज्ञासालाई उच्‍च प्राथमिकतामा राख्‍नुपर्छ । साना-साना प्रश्‍नलाई समेत झर्को नमानी सम्बोधन गरिदिनुपर्छ ।

    ४. कतिपय बालबालिका बोल्न नसक्ने‚ लजाउने‚ बोल्न नचाहने हुनसक्छन् । त्यस्ता बालबालिकाले आफ्नो शारीरिक हाउभाउबाट बुझे-नबुझेको सङ्केत गरिरहेका हुन्छन्‚ जसबाट विद्यार्थीले बुझेको वा नबुझेको थाहा पाउन सकिन्छ ।

    ५ सहयोगी सामग्री प्रयोग गर्नेः क. बुझाउनका लागि सरल भाषासँगै फोटो अथवा वास्तविक चिज नै देखाउने । जस्तैः अङ्गुर चिनाउनुपर्‍यो भने अङ्गुर नै देखाउने वा अङ्गुरको फोटो देखाउने । ख. प्रविधिको प्रयोग गर्ने (सम्भव भएसम्म) । जस्तैः पावर प्वाइन्ट‚ प्रोजेक्टर‚ प्रिजेन्टेसन, मोबाइल, क्यामेरा, क्याल्कुलेटर, रेडियो, टेलिभिजन, कम्प्युटर इत्यादि‚ जसका माध्यमबाट उनीहरूले मनोरञ्जन गर्दै सिक्न सकून् । ग. कार्डको प्रयोग गर्ने । जस्तैः रातो र हरियो कार्ड बनाएर विद्यार्थीलाई दिने र पढाएको बुझेमा हरियो कार्ड देखाउने र नबुझेमा वा केही भन्नुपरेमा रातो कार्ड देखाउने भनेर सिकाउने । घ. बोल्दा सरल भाषामा, सिधा प्रत्येक विद्यार्थीसँग व्यक्तिगतरूपमा आँखा जुधाएर बोल्ने ।

    ६. विद्यार्थीलाई वाद–विवाद, छलफल, खेलकुद, मनोरञ्‍जन, नाटक, गीत गाउने, नाच्ने जस्ता कुरा गर्न प्रोत्साहन गर्ने । त्यसका निम्ति वातावरण सिर्जना गरिदिने ।

    ७. हरेक सफल कामका लागि प्रोत्साहन वा स्यावासी दिने ।

    ८. छोटो-छोटो समय तालिका बनाएर उनीहरूलाई विभिन्न क्रियाकलापमा सहभागी गराउने, जसले गर्दा शिक्षण उनीहरूलाई झर्को लाग्ने खालका नहोस् ।IMG_20201228_095750.png

    किन ?

    माथि भनिएका सीप प्रयोग गरेर सरल भाषामा शिक्षण गराउनु शिक्षकको दायित्व र कर्तव्य हो भने यसरी सिक्नपाउनु बौद्धिक अपाङ्गता भएका बालबालिकाको अधिकार हो । यस्तो सिकाइ विधिले अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त गरेको छ, जसलाई बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूका लागि पहुँचयुक्त विधि मानिन्छ ।

    शिक्षकको धारणा, ज्ञान र कला (ATTITUDES, KNOWLEDGE AND SKILL OF THE TEACHERS)

    धारणा (ATTITUDE)

    शिक्षकमा निम्‍न अनुसारका धारणा हुनुपर्छः

    क. पहुँचयुक्तविधि (सरल शिक्षण) बाट सिक्न र पढ्न पाउनु तथा व्यक्तिगत आवश्यकताका आधारमा सिकाइ योजना विकास गरेर सिक्न पाउनु यस्ता बालबालिकाको अधिकार हो ।

    ख. प्रविधिले शिक्षण सहज बनाउँछ तर यसलाई विद्यार्थीको चाहना र आवश्यकताका आधारमा प्रयोग गर्नुपर्छ ।

    ग. पहुँचयुक्त शिक्षणविधि, पाठ्यक्रम, चाहना अनुसारको प्रविधि, सामग्रीको उपलब्धतालाई बालबालिकाको अधिकारका रूपमा ग्रहण गरिएको छ ।

    घ. सिकाइ क्षमता विकास र शिक्षक समावेशी शिक्षा प्रणालीतर्फ लक्षित हुनेछ ।

    ज्ञान (KNOWLEDGE)

    शिक्षकमा निम्न किसिमका ज्ञान हुनुपर्छः

    क. पहुँचयुक्त शिक्षण विधि, प्रविधिको प्रयोग, व्यक्तिगत शिक्षण योजना (I.E.P.), पहुँचयुक्त पाठ्यक्रम तथा पाठ्य–सामग्रीका बारेमा राम्रो ज्ञान,

    ख. सहयोगी व्यक्तिसम्बन्धी अवधारणा र कक्षा–कोठामा सहयोगी वा सहायक शिक्षकको संलग्‍नताको राम्रो ज्ञान,

    ग. यस्ता बालबालिकाका लागि कहाँ कहाँ अझ राम्रा शिक्षक वा विशेष शिक्षणका विद्यालय छन्, तिनको जानकारी र तथ्याङ्क तथा आवश्यकता र उपयुक्तताका आधारमा सिफारिस (referral) गर्नसक्ने व्यवस्थासम्बन्धी ज्ञान

    , कला र सीप (SKILL)

    शिक्षकमा निम्न अनुसारका कला वा सीप पनि हुनुपर्छः

    क. शिक्षकमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीको पहिचान र सिकाइको तरिका बुझी व्यक्तिगत शिक्षण योजना बनाउने कला,

    ख. विद्यार्थीमा लुकेको वा नदेखिने अपाङ्गता वा कमजोरीपना लगायत त्यस्ता कमजोरीलाई परिपूर्ति गर्ने शिक्षणविधि विकास गर्ने सीप,

    ग. शिक्षकमा विद्यार्थीको सिकाइ मूल्याङ्कन, उपलब्ध पाठ्य–सामग्री तथा प्रविधिले सहयोग गरे/नगरेको मूल्याङ्कन गर्नसक्ने र नयाँ आवश्यकता पहिचान गर्नसक्ने सीप वा कला,

    घ. स्थानीयस्तरमै उपलब्ध भएसम्म कम खर्चिलो हुनेगरी उपयुक्त अनुकूलतालाई समेत ध्यान दिई प्रविधिका सामग्रीहरू विकास गर्न सक्ने सीप वा कलासमेत शिक्षकमा जरुरी हुन्छ । मुकुुुन्दहरि दाहाल 

    images
    सोमवार, पौष १३ २०७७१०:०५:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार