Jul 27 2026 | २०८३, श्रावण ११ गते

बेरोजगारीः शिक्षा प्रणालीको असफलता कि सोचको कमजोरी?

बेरोजगारीः शिक्षा प्रणालीको असफलता कि सोचको कमजोरी?

  • 3.1K
    SHARES

  • बेरोजगारीः शिक्षा प्रणालीको असफलता कि सोचको कमजोरी?

    मनस्वी ऐतवाल - साउन, १४ गते। बेरोजगारी कुनै पनि राष्ट्रको सामाजिक र आर्थिक समस्याको जरो हो। वयस्क नागरिकहरू आयआर्जन बिना खाली बस्नु बेरोजगारी हो भन्ने बुझाइले स्पष्ट पार्छ कि यो समस्या केवल व्यक्तिगत मात्रै होइन, राष्ट्रकै विकासमा बाधक हुन्छ। राष्ट्रले आफ्ना नागरिकहरूका लागि पर्याप्त रोजगारीका अवसरहरू सिर्जना गर्नु र नागरिकले पनि आत्मनिर्भर भएर आयआर्जनका काममा लाग्नु आजको आवश्यकता हो। तर, नेपालको सन्दर्भमा हेर्दा बेरोजगारीको दर घट्नुको साटो दिनप्रतिदिन बढ्दो छ। हरेक सरकारी योजनामा रोजगारी सिर्जनाको कुरा भए तापनि त्यो योजनाको कार्यान्वयनभन्दा पहिले नै बेरोजगारको संख्या योजनाले प्रदान गर्ने रोजगारीको संख्याभन्दा धेरै हुन्छ।

    बेरोजगारीको यो भयावह स्थिति केवल आर्थिक समस्यासम्म सीमित छैन, यसले सामाजिक विकृति र अपराधिक क्रियाकलापलाई समेत प्रश्रय दिएको छ। जब मानिसहरू कामविहीन हुन्छन्, तब उनीहरू कुसँगत, कुलत, र कुकर्मतिर आकर्षित हुने सम्भावना बढ्छ। “खाली दिमाग भूतको घर हो” भन्ने उखान अनुसार बेरोजगारीले मानिसलाई असामाजिक गतिविधिमा संलग्न गराउने जोखिम अत्यन्तै उच्च हुन्छ। चोरी, डकैती, बलात्कार, हत्या जस्ता अपराधहरू बढ्नुमा बेरोजगारी एक मूल कारणका रूपमा देखिन्छ। यस्तो विकृति न्यूनीकरण गर्नका लागि राज्यको शिक्षा नीति सुधार हुनु आवश्यक छ, जसले व्यवहारिक, उद्यमशील र सीपमूलक शिक्षा दिन सकोस्।

    बेरोजगारीको समस्या समाधान गर्न केवल सरकारले मात्र होइन, नागरिक स्वयम् पनि अग्रसर हुनुपर्छ। सरकारको नीति र कार्यक्रमप्रति पूर्ण निर्भर भएर बस्नु समाधान होइन। हरेक नागरिकमा आत्मनिर्भरता र उद्यमशीलता विकास गराउनु आजको आवश्यकता हो। शिक्षा प्रणालीलाई व्यवहारिक र सीपमुखी बनाउन सकेमा युवा वर्ग स्वरोजगारतर्फ लाग्न सक्छन्। साथै, कृषि, पर्यटन, लघुउद्योग, डिजिटल सेवा र स्वोरोजगार जस्ता क्षेत्रहरूमा युवाहरूको आकर्षण बढाउन विशेष तालिम र सहयोग कार्यक्रमहरू आवश्यक छन्। नागरिकलाई उत्पादनशील बनाउने योजना नै बेरोजगारीको मूल उपचार हो।

    बेरोजगारी केवल काम नपाएको अवस्था होइन; यो अवस्था मानसिक तनाव, सामाजिक अस्थिरता, र राष्ट्रिय विकासमा अवरोधको कारक पनि हो। यस समस्याको समाधानका लागि दीर्घकालीन रणनीति, समावेशी नीति, पारदर्शी कार्यान्वयन, र नागरिकको सक्रियरूपमा सहभागिता अनिवार्य छ। खाली सरकारप्रति आक्रोश वा दोषारोपण गरेर होइन, स्वयम् केही गर्न खोज्ने भावना, सीप र आत्मबल निर्माण गर्नु बेरोजगारी विरुद्धको प्रभावकारी कदम हो। यसर्थ, अब बेरोजगारीलाई केवल समस्याको रूपमा होइन, अवसरको रूपमा हेरेर स्वदेशमै सम्भावनाहरू खोज्ने र प्रयोग गर्ने बेला आएको छ।

    यो एक व्यक्ति स्वयं र राष्ट्रका लागि पनि विकराल समस्या र चुनौती हो, यसलाई समाधान गर्न व्यक्ति स्वयं र राष्ट्रले पनि आवश्यक मात्रामा पहल गर्नु अनिवार्य छ। एउटा व्यक्ति तब मात्र बेरोजगार हुन्छ जब उसलाई काम गर्ने इच्छा त हुन्छ तर काममा संलग्न हुँदैन। यसै दृष्टिले हेर्ने हो भने बेरोजगारीको संख्या गन्न सकिँदैन। किनभने आज लाखौं करोडौं हातहरू जीविकोपार्जनका लागि व्याकुल छन्।

    नेपालमा बेरोजगारीको समस्या गहिरिंदो महामारीझैं फैलिएको यथार्थ हो, जसले राष्ट्रको समग्र विकासलाई नै चुनौती दिएको छ। विशेषतः युवाशक्तिको विदेश पलायनले राष्ट्रको उर्जाशील उत्पादनशक्ति गुमाउँदै लगेको छ। राजनीतिक अस्थिरता, सरकारी नीति तथा योजनामा दूरदर्शिताको अभाव, सीपमूलक शिक्षाको कमजोरी, स्वदेशमै रोजगारीका अवसरको न्यूनता, र निजी क्षेत्रको लगानीमै अभाव हुँदा हाम्रो युवा वर्ग वैदेशिक रोजगारीतर्फ आकर्षित भएको छ। वैदेशिक रोजगारीले केही हदसम्म परिवारको आर्थिक अवस्था सुधार गरे पनि यसले सामाजिक, सांस्कृतिक, र पारिवारिक विखण्डन निम्त्याइरहेको छ। लाखौं युवाहरू आज खाडी मुलुकदेखि मलेसिया र कोरियासम्म आफ्नो श्रम बेच्न बाध्य छन्, जहाँ उनीहरूले अपमान, जोखिम र कहाली लाग्दो शोषण सहनुपरेको तथ्यहरू आम छन्।

    हाम्रो मुलुकमा प्रशस्त प्राकृतिक स्रोतसाधन र मानवशक्ति हुँदा पनि तिनको योजनाबद्ध सदुपयोग नहुनु दुःखद पक्ष हो। जल, जमिन, जंगल, खनिज र पर्यटनको अथाह सम्भावना भएर पनि बेरोजगारीको ग्राफ बढ्नु योजनाको असफलता र कार्यान्वयनको कमजोरी हो। अर्कोतर्फ, शिक्षाले व्यवहारिक सीपभन्दा पनि केवल प्रमाणपत्रतर्फ केन्द्रित गराइरहेकाले विद्यार्थीहरू अध्ययनपश्चात कार्यशीलता र स्वावलम्बी बन्न असमर्थ छन्। जब कलेज र विश्वविद्यालयको जीवन सकिन्छ, तब धेरै युवाहरू 'अब के गर्ने?' भन्ने प्रश्नले मानसिक तनावमा पर्छन्। पढाइ सकिएपछि बेरोजगारी सुरु हुने स्थितिले हाम्रो शिक्षालाई उत्पादनमूलक बनाउन नसकेको प्रमाण दिन्छ।

    शिक्षा केवल रोजगारी प्राप्तिको साधन होइन, व्यक्तिको समग्र व्यक्तित्व विकासको माध्यम हो भन्ने बुझ्न सक्नुपर्छ। शिक्षाको मूल उद्देश्य सिर्जनशीलता, आत्मनिर्भरता, समस्या समाधान क्षमताको विकास हो। "मैले पढेँ तर काम पाइनँ" भन्ने भावनाले व्यक्तिमा हीन भावना, आत्मग्लानि र सामाजिक आक्रोश उत्पन्न गर्छ, जसले समाजमा असन्तोष फैलाउँछ। वास्तवमा, समस्या डिग्रीमा होइन, सोचमा हो। आजको विश्वमा सिर्जनशील सोच, उद्यमशीलता र आत्मविश्वासले नै रोजगारी सिर्जना गर्न सकिन्छ। प्रविधिको युगमा डिजिटल प्लेटफर्म, फ्रीलान्सिङ, इनोभेटिभ कृषि, लघु उद्यम, सेवा क्षेत्र लगायतका सम्भावनाहरूले युवालाई स्वरोजगारतर्फ डोर्याउन सक्छ।

    प्रत्येक शिक्षित नागरिकले आफ्नो क्षमता, सीप र ज्ञानको प्रयोग गर्दै समाधानतर्फ सोच्नुपर्छ। युवाहरूमा ‘आफै केही गर्न सकिन्छ’ भन्ने सोच विकास गरी साना लगानी, सामूहिक उद्यम, व्यावसायिक तालिम, र डिजिटल प्रविधिको प्रयोगद्वारा स्वदेशमै अवसर सिर्जना गर्न सकिन्छ। राज्यले यसका लागि नीतिगत समर्थन, लगानीको सहज पहुँच, तालिम र परामर्श उपलब्ध गराउनुपर्छ। यसरी मात्र बेरोजगारीको महामारी विरुद्ध हामीले दीर्घकालीन, स्थायी र प्रभावकारी समाधान पाउन सक्नेछौं।

    शिक्षा कुनै विलासिता होइन, जीवन निर्वाहका लागि हावा र पानीसरह आवश्यक आधार हो। व्यक्तिले पाएको शिक्षालाई व्यवहारमा उतार्न सकेमा मात्रै त्यो शिक्षा सार्थक हुन्छ। शिक्षाको मुख्य उद्देश्य व्यक्तिलाई आत्मनिर्भर र जिम्मेवार बनाउनु हो, जसबाट ऊ केवल जागिर खोज्ने होइन, आफैं रोजगारी सिर्जना गर्न सक्ने स्थिति बनोस्। हाम्रो मुलुकमा भने शिक्षा अझैपनि सैद्धान्तिक र घोकन्ते शैलीमा केन्द्रित छ, जसले व्यवहारिक ज्ञान, सीप र उद्यमशीलता विकासमा कमजोरी ल्याएको छ। फलस्वरूप शिक्षित नागरिक बेरोजगार छन्, किनभने उनीहरू केवल डिग्रीमा भर पर्ने, सरकारी वा निश्चित किसिमको जागिर पाउने आशामा छन्, तर सृजनशील सोच र सीपको उपयोग गर्न असफल छन्।

    यदि राष्ट्रले आफ्नो युवाशक्ति र क्षमतावान् जनशक्तिको सही पहिचान गरी तिनीहरूको सीप र ज्ञानलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके भने बेरोजगारी समस्याको उल्लेखनीय समाधान सम्भव छ। जस्तो कि नदीको बगेको पानी थुनेर विद्युत उत्पादन गर्न सकिन्छ, त्यस्तै लुकेका मानवीय सीपको सदुपयोग गरेर देशको समृद्धिमा उपयोग गर्न सकिन्छ। घरेलु उद्योग, लघु उद्यम, कृषि, पशुपालन, प्रविधि, पर्यटन, हस्तकलाजस्ता क्षेत्रमा स्वरोजगारका अपार सम्भावना छन्, जसका लागि युवाहरूलाई सीपमूलक तालिम, सहुलियत ऋण, र नीतिगत समर्थन प्रदान गर्नु आवश्यक छ। शिक्षालाई व्यावहारिक बनाउँदै सैद्धान्तिक ज्ञानसँगै काम गर्न सक्ने क्षमता विकास गर्नु अबको आवश्यकता हो।

    युवा पुस्ताले पनि मानसिकताको रूपान्तरण गर्न आवश्यक छ। “देशले मलाई के दिन्छ?” भन्नुभन्दा पहिला “म देशका लागि के गर्न सक्छु?” भन्ने सोच विकास गर्नु नै सच्चो नागरिकको संकेत हो। काम सानो वा ठूलो होइन, कामको मूल्य र प्रभाव ठूलो हुन्छ भन्ने बुझ्न आवश्यक छ। सफा गर्ने कामदेखि सफ्टवेयर बनाउनेसम्म, खेती गर्ने कामदेखि कलकारखाना चलाउनेसम्म, सबै काम समान रूपमा महत्वपूर्ण छन्।

    कामको सम्मान गर्ने संस्कार विकसित गर्न सके मात्र युवाहरू स्वरोजगारप्रति आकर्षित हुन्छन्, जसले बेरोजगारी घटाउँछ र स्वदेशमै समृद्धिको बाटो खोल्छ। निष्कर्षमा भन्नुपर्दा बेरोजगारीको समस्यालाई सरकारको मात्र जिम्मेवारीको रुपमा नलिई नागरिकको साझा दायित्वको रूपमा पनि लिनुपर्छ। शिक्षा प्रणालीलाई व्यवहारिक र सिर्जनशील बनाउँदै, नागरिकमा उद्यमशील सोच र आत्मबल विकास गर्दै, राष्ट्रले आफ्ना क्षमतावान जनशक्तिको पहिचान गरी अवसर सिर्जना गर्ने रणनीति लिइनु आजको आवश्यकता हो। यथार्थमा, राष्ट्रका लागि सबैभन्दा ठूलो सम्पत्ति स्रोतसाधन होइन, योग्य र क्रियाशील नागरिक हुन्, जसले राष्ट्रलाई समृद्धि र शान्तिको मार्गमा अग्रसर गराउँछन्।

    लेखक: मनस्वी ऐतवाल बिद्यार्थी, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस

    images
    बुधवार, श्रावण १५ २०८२०८:३७:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार