शुक्रवार, चैत्र २७ २०७७
काठमाडौ - बिश्वब्यापी कोभिड १९ तेस्रो लहर फैलिन थालेपछि विभिन्न विशेषज्ञहरुले अनलाइन कक्षा संचालन मा जोड दिएकाछन ! कोभिड १९ को तेस्रो लहर अत्यन्तै फैलिएको र बालबालिका हरुमा बढी प्रभाव पारेको भन्दै यस्तो बहस चल्न थालेको हो।
हालै नेपालमा समेत गत चैत्र यता २५० भन्दा बढी बालबालिका हरु संक्रमित भएको जनाइएको छ। स्वास्थ मन्त्रालयको यो आकडा हेर्नेहो भने हालै फैलिएको कोरोना लहरले बालबालिका हरुलाइ बढी प्रभावित पारेको देखिन्छ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)लाई सिफारिस गरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले शैक्षिक संस्था बन्द गर्न अनुरोध गरेको बताए ।
‘पछिल्लो समय १८ वर्ष (विद्यालय उमेर समूह)का बालबालिकामा संक्रमण बढ्दै गएको पाइएको छ,’ निर्देशक पौडेलले भने, ‘यसले शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गर्नुपर्छ ।
कोभिडको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका छन् ।
काठमाडौं विश्वविद्यालले अनलाइन कक्षा सञ्चालन गर्न आह्वान गरिसकेको छ। बिश्वबिद्धालयका डिन प्रा.डा. कन्हैया झा र स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले विश्वव्यापी रूपमा पुनः फैलिएको कोरोना महामारीका कारण विश्वविद्यालयमा उपस्थित भई भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिनाइ भएकाले बिहीबारदेखि अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेका छन् । 
त्यसैगरी त्रिभुवन विश्वविद्यालयले समेत अवस्था विश्लेषण गरेर अनलाइन वा फेस टु फेस कक्षा सञ्चालनको निर्णय गर्न आग्रह गरेको छ ।
विश्वविद्यालयले कोभिडको जोखिम नभएको ठाउँमा भौतिक रूपमा उपस्थित भएर र असहज अवस्था भएका ठाउँका क्याम्पसमा अनलाइनबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।
त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले भने, ‘कोभिडको जोखिम बढेपछि कलेजहरूले सोधेका छन्, हामीले आफैँले निर्णय गर्न भनेका छौँ । सम्भव हुने ठाउँमा फेस टु फेस र असहज भएका ठाउँमा अनलाइनबाट कक्षा सञ्चालन गर्न भनेका छौँ ।’ कोभिडको संक्रमण देखिएका त्रिविका केही कलेजमा अनलाइन कक्षा सञ्चालन भएका छन् ।
केही समय अघि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीमा ८० जनाको हाराहारीमा कोभिड संक्रमण भेटिएको थियो । पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा फैलिएको संक्रमणले सरोकारवाला सबैलाई झस्काएको छ । पश्चिमाञ्चल क्याम्पसमा कसरी कोभिड– १९ संक्रमण फैलियो भन्ने यकिन नभएको सहायक क्याम्पस प्रमुख गोपालप्रसाद घिमिरेले बताएका थिए ।
हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजका चारजना शिक्षक, दुई कर्मचारी र दुई विद्यार्थीमा कोभिड– १९ को संक्रमण देखिएपछि केही दिनअघि एक हप्ताका लागि शैक्षिक संस्था बन्द गरेको थियो । अहिले कलेज प्रशासनले अनलाइन र भौतिक दुवै पद्धतिमा विद्यालय सञ्चालन गरेको छ ।
गत वर्ष ६ चैतदेखि कोभिडका कारण बन्द रहेका विद्यालय कतिपय मंसिरदेखि खुले पनि काठमाडौं उपत्यकालगायतका सहरका विद्यालयले माघ–फागुनबाट मात्रै भौतिक रूपमा पठनपाठन सुरु गरेका थिए । केही विद्यालयले तल्लो कक्षाका विद्यार्थीलाई अहिले पनि अनलाइनमै अध्यापन गराइरहेका छन् ।