शुक्रवार, भाद्र ११ २०७८
काठमाडौं– चिकित्सा शिक्षा आयोगले निजी क्षेत्रले दबाब दिँदैमा चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षा पुनः लिन नसकिने स्पष्ट पारेको छ। आयोगले यसअघि लिएको परीक्षामा विद्यार्थी अनुत्तीर्ण भई रिक्त सिटमा पुनः परीक्षा सञ्चालन गर्न नसकिने हो।
आयोगका उपाध्यक्ष श्रीकृष्ण गरीले निजी शिक्षण संस्थाले पुनः परीक्षा सञ्चालन गर्न दबाब दिइरहे पनि अनुत्तीर्ण विद्यार्थीका लागि कुनै पनि हालतमा पुनः परीक्षा सञ्चालन नहुने बताए।
उनले भने, ‘क्याम्पसमा रहेको कोटाभन्दा विद्यार्थीसंख्या कम उत्तीर्ण भए पनि कलेजको सिट भर्नकै लागि भनेर अयोग्य विद्यार्थीलाई योग्य बनाउन सकिँदैन। उत्तीर्ण भएकाले विद्यार्थीले भर्ना भएर पढ्ने हो।
आयोगका उपाध्यक्ष गिरिले भने अब कक्षा १२ को परीक्षापछि एकीकृत प्रवेश परीक्षा सञ्चालन हुन्छ। त्यसकै लागि विद्यार्थीले तयारी गर्दा हुन्छ।’
नर्सिङ तथा पारामेडिक्स अध्ययन गराउने निजी शिक्षण संस्था सञ्चालकले भने चिकित्सा शिक्षा आयोगले स्नातकतर्फ लिएको एकीकृत प्रवेश परीक्षा अव्यावहारिक भएको भन्दै विरोध जनाएका छन्। उनीहरूले अध्यापनका लागि तोकिएको विद्यार्थी कोटाभन्दा पनि कम उत्तीर्ण हुने मापदण्ड बनाई परीक्षा सञ्चालन गरी निजी कलेजलाई बन्द गराउने रणनीति लिइएको आरोप समेत लगाएका छन्। नतिजा पुनर्विचार गरी प्रवेश परीक्षामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थी उत्तीर्ण भएकोमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थीलाई उत्तीर्ण गराउनुपर्ने माग उनीहरूको छ।
यस अघि पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत निजी कलेज सञ्चालकहरूले नर्सिङ तथा पारामेडिक्स कलेजहरूको एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुनर्विचार नगरेको भन्दै कलेजको चाबी आयोगलाई बुझाएका छन्।
उनिहरुले कलेज नै बन्द गर्नुपर्ने स्थितिमा पुर्याउने गरी आयोगले नतिजा प्रकाशन गरेकाले यसलाई पुनर्विचार गर्नुपर्ने बताए।
त्यसैगरी पोखरा विश्वविद्यालय अन्तर्गतका नर्सिङ तथा पारामेडिक्स कलेजहरूले प्रवेश परीक्षामा कम नम्बर ल्याएकै आधारमा मात्र माथिल्लो कक्षा पढ्न नपाउने कुरा व्यावहारिक नहुने बताए।
निजि शिक्षण संचालकहरुले आयोगले नतिजामा पुनर्विचार नगरेसम्म कलेज सञ्चालन गर्न नसक्ने समेत बताएका छन।
आयोगले लिएको परीक्षामा कोटाभन्दा दुई हजार १८५ जना कम परीक्षार्थी उत्तीर्ण भएका थिए।
ती विषयमा चार हजार ६८ कोटा भए पनि एक हजार ८८३ परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। बीपीएचमा एक हजार ४२० कोटामा ५६५, बीएससी नर्सिङमा एक हजार एक सय कोटामा ५०४, बी फार्मेसीमा ९०२ कोटामा ५४७ जना मात्रै उत्तीर्ण भएका थिए।
यस्तै फिजियोथेरापी बीपीटीमा १५० जनाको कोटामा ११४, बीएस्सी एमआइटी रेडियोग्राफीमा ७१ जना कोटामा ३५ र बिएस्सी एमएलटी ४२५ कोटामा ११८ जना मात्रै उत्तीर्ण भएका थिए।