Jul 27 2026 | २०८३, श्रावण ११ गते

मेरो जनप्रतिनिधि : आफै बाेक्सी, आफै झाँक्री

मेरो जनप्रतिनिधि : आफै बाेक्सी, आफै झाँक्री

  • 477
    SHARES

  • मेरो जनप्रतिनिधि : आफै बाेक्सी, आफै झाँक्री
    मैले उस्लाई न्यायको पक्षमा बोल्न,
    र, अन्यायको विपक्षमा बोल्न भोट दिएँ,
    र भोटसँगै,
    खादा, माला, आशन, भाषण, रासन, सिंहासन र बेतन पनि दिएँ,
    र, सँगसँगै उस्लाई घुम्ने कुर्सी पनि दिएँ,
    एसी कोठा, भिजिट भिसा र महङ्गो गाडी पनि दिएँ,
    बद्लामा,
    आफूले खाडी पनि लिएँ,
    तर, आज उ उल्टै न्यायको विपक्षमा बोल्छ,
    र, अन्यायको पक्षमा बोल्छ,
    उ निर्धाको विपक्षमा बोल्छ,
    र, बलियाको पक्षमा बोल्छ!
    उ जहाँ बोल्नु पर्ने, त्याहाँ मौन छ,
    र, जहाँ सुन्नु पर्ने त्याहाँ बोल्छ :
    छिमेकी मुलुकसँगको सीमा विवादमा भिजेको बिरालो बन्छ,
    निर्धा जनता र आशलाग्दा युवा विरुद्ध बाघ बनेर गर्जन्छ!
    उ अझै पनि जनतालाई मूर्ख र दाश ठान्छ,
    र, सरल जनता र युवा बीच प्रलोभन र भ्रमका जाल हान्छ!
    उ आफु भन्दा ठूलो कसैलाई देख्दै देख्दैन,
    र, आफु भन्दा ठूलो कोही हुनु नै हुन्न ठान्छ,
    तसर्थ, समाजका असल ऊर्जा सम्भावनालाई गलाउन चाहन्छ!
    उ आफैले समाजमा अराजकता सृजना गर्न उक्साउँछ,
    र, आफै मुद्धा मिलाउन अघि आउँछ,
    यसरी नै त उ नेता बनेको हो र सधैँ नेता, मालिक र मसीहा बनि रहन चाहन्छ:
    युवाहरु माझ मुद्धा मिलाउन सक्ने मसीहा जस्तो देखिएर,
    युवाहरुलाई त्रासमा र आशै आशमा राखेर दाश बनाउन चाहन्छ,
    उस्ले आफ्नो वर पर आफ्नो भजन मण्डली राखेको छ,
    मण्डली नाइकेहरु अल्ली बढी बक्सीस पाउँछन,
    बाँकीहरु आशै आशमा खैँजडी बजाउँछन,
    "Yes man/Bootlicking Dog", चाप्लुस र गुलामहरुलाई उ औधी माया गरे जस्तो गर्छ,
    तर, तीनै मध्य पनि कसैले थोरै पनि फरक मत राखे तुरून्तै आँखा तर्छ,
    न उस्लाई यहाँ रोजगारी सृजना गर्नु छ,
    न उस्लाई यहाँ जनतालाई खुशी दिनु छ,
    न उस्ले उमार्न सकिने पालुवाहरु उगाउनु छ,
    न उस्ले बन्जर बनाउने बालुवाहरु हटाउनु छ,
    न उस्लाई नव पिँढीलाई सक्षम, स्वस्थ र संस्कारी बनाउनु छ,
    न उ नव पिँढी दुर्व्यसनको शिकार भएको देख्छ,
    न उस्ले आफ्नो बतनको बदनाम भएको देख्छ,
    न उस्ले शिक्षा, स्वास्थ्य, उद्योग व्यापार व्यवसाय, कृषी, भौतिक पूर्वाधार भित्रका समस्या र चित्कार देख्छ,
    न उस्ले खोसिएका गासहरु देख्छ,
    न उस्ले ढलेका आशहरु देख्छ,
    न उस्ले पलायन भएका सम्भावनाहरु देख्छ,
    न उस्ले आफ्नो धर्म संस्कृतीमा आक्रमण देख्छ,
    न उस्ले जोगाउनु पर्ने पर्यावरणमा संक्रमण देख्छ,
    न उस्ले जातीय, बर्गीय दलन देख्छ,
    न उस्ले असहायहरुको जलन देख्छ,
    न उ फाटेका मनहरु देख्छ,
    न उस्ले फाटेका सामुदायिक सम्बन्धहरु देख्छ,
    न उ सामाजिक एकताको सूत्र लेख्छ,
    बरु उ उल्टै "Divide and rule." को मन्त्र पढ्छ,
    र, जाती, धर्म, समुदाय, बर्ग र राजनितीको अराजनिती गर्छ,
    उ रोम जल्दै गर्दा बाँसुरी बजाउने निरो जस्तो,
    विवेकहीन पशु पंक्षी र किरो जस्तो :
    बिहान सन्टासमा मस्त,
    दिउँसो भोज भतेर, मासु भातमा मस्त,
    र, राती सहबासमा मस्त :
    "आग लगे बस्ती में, हम तो चले मस्ती में",
    अस्तव्यस्त ध्वस्त, छरपष्ट,
    तर पनि, उ मेरो जनप्रतिनिधि,
    तर पनि, उ हुन चाहने जनप्रतिनिधि!

    ✍️ लक्ष्मण दियाल, शिक्षक
           बेलौरी, कञ्चनपुर

    images
    सोमवार, पौष ७ २०८२०७:३८:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार