शनिवार, पौष १३ २०८१
पुस, १३ गते, काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह सम्पन्न भएको छ। शनिबार दशरथ रंगशाला त्रिपुरेश्वरमा विश्वविद्यालयले आफ्नो स्वर्ण दीक्षान्त समारोहमा १४ हजार तीन सय आठ विद्यार्थीलाई दीक्षित गरेको छ।

दीक्षान्त समारोहमा स्नातक तर्फ ९ हजार ६८, स्नातकोत्तरमा पाँच हजार ५५, एमफिलमा ६३ र विद्यावारिधि (पिएचडी) गर्नेहरु एक सय २२ जना दीक्षित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।
एकैपटक धेरै विद्यार्थी दीक्षित गर्नेमा त्रिभुवन विश्वविद्यालय विश्वभरी नै अग्रस्थानमा छ । गत बर्ष ४९ औँ दीक्षान्त समारोहमा एकै पटक धेरै विद्यार्थी दीक्षित गराएको भन्दै अफिसियल वर्ल्ड रेकर्डले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको थियो । यस बर्ष गत वर्ष भन्दा करिब दुई हजार बढी विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । गत बर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका थिए ।

समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित भएका छन् भने समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिएको छ।
दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. रामप्रसाद यादव र समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी भएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ।
यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन शङ्कायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेलाई प्रदान गरिएको छ। त्यस्तै अमृत पदक रसायनशास्त्र केन्द्रीय विभागका सुशील पोखरेललाई, मदन विद्या वातावरण विज्ञान पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागका रिकिता भण्डारीलाई, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार काठमाडौँ मोडल कलेजका रेविका भण्डारीलाई प्रदान गरिएको छ ।

त्यसैगरी नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्णपदक रत्नराज्यलक्ष्मी क्याम्पसका सुदीक्षा घिमिरेले प्राप्त गरेकी छन्। यस्तै पुष्प नारायण मिश्र पदकबाट पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका सञ्जीवकुमार सिंह, डा दुबसु क्षेत्री स्वर्ण पदकबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रतीकराज जोशी, इमिरेट्स प्रा डा रामप्रसाद चौधरी स्वर्ण पदकबाट वनस्पति शास्त्र केन्द्रीय विभागका श्रीणा क्षेत्री र नारायण शान्ति मिश्र पदकबाट पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका चेतना कुँवर पुरस्कृत भएकी छन्।
तारपद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार श्रीज्या काफ्लेले पाएकी हुन्। काफ्ले अर्थशास्त्र केन्द्रीय विभागको छात्रा हुन्। शील्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शिक्षाशास्त्र केन्द्रीय विभागका सीताकुमारी श्रेष्ठले प्राप्त गरिन्।
विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलिले प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह गरे ।

उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा लागू गर्नुपर्ने भन्दै आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्याको काम नलाग्ने बताए। ज्ञानलाई व्यवहारिकरुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ।, ओलीले भने, “हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।”
त्यस्तै प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पूर्खाको ज्ञानप्रति कृतज्ञ भएर उहाँहरुबाट सिक्नुपर्नेमा जोड दिए ।
त्यसैगरी दीक्षान्त समारोहमा शिक्षामन्त्री तथा सहकुलपती बिद्या भट्टराईले भौतिक पूर्वाधारको सीमितता, जनशक्तिको व्यवस्थापनमा सहजता नहुनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको मागअनुसार पाठ्यक्रम र विषयलाई प्राथमिकीकरण गर्न नसक्नु जस्ता विषय विश्वविद्यालयको विकासका बाधक बनेको बताएकी छन्।

विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान र रोजगारीका अवसरहरूको अभाव रहेको बताउँदै विश्वविद्यालयका स्नातक उपाधि प्राप्त गरेका विद्यार्थीसँग व्यावहारिक ज्ञान र रोजगारीका अवसरको अभाव रहेको मन्त्री भट्टराईको भनाई थियो । उपाधि हासिल गरे पनि विद्यार्थीले देशभित्र अवसर प्राप्त गर्न सकिरहेका छैनन्, विदेशलाई पहिलो रोजाइ बनाउँदै पढाइ र रोजगारीका लागि विदेशीने प्रवृत्ति राष्ट्रिय चासोको विषय बनेको छ। यस्तो अवस्था हुनुमा हाम्रा शैक्षिक कार्यक्रम बृहत् रूपमा भए पनि उद्यम क्षेत्र र बजारका आवश्यकताहरूसँग मेल खाने बन्न सकेका छैनन् भट्टराईले भनिन्,।

विश्वविद्यालयले ज्ञान, आविष्कार र विकासलाई योगदान दिनका लागि अनुसन्धान केन्द्रमार्फत अनुसन्धानका कामहरू गरिरहेको पनि मन्त्री भट्टराईको भनाइ थियो । उनले विश्वविद्यालयसँग थुप्रै उपलब्धि हुँदाहुँदै पनि केही चुनौती रहेको र त्यसको सामना गरी समाधानका व्यावहारिक प्रयत्न गर्न सक्नुपर्नेमा जोड् दिइन ।

